+
+
उम्मेदवार प्रोफाइल :

राजेन्द्र राई : पहिले जिताउने गठबन्धनले अहिले हराउने डर

धनकुटामा राजेन्द्र राईको चिरपरिचित प्रतिद्वन्द्वी सुनिल थापा यसपालि राप्रपामा नभएर नेपाली कांग्रेसमा छन् । र, उनी सत्ता गठबन्धनको साझा उम्मेदवार बनेर आएका छन् । राईको लागि मुख्य खतरा गठबन्धनबाटै छ ।

ईश्वर थापा ईश्वर थापा
२०७९ कात्तिक ३० गते १९:५८

२०२२ भदौमा धनकुटाको मुगामा जन्मिएका राजेन्द्र राई २०३६ सालमा काठमाडौंमा भएको अनेरास्ववियुको एकताको पाँचौं राष्ट्रिय सम्मेलनमा आएका देशभरका प्रतिनिधिमध्ये सबैभन्दा कान्छा थिए । त्यतिबेला उनी धनकुटा सदरमुकामको माथिल्लो गोकुण्डेश्वर माविमा कक्षा ८ का विद्यार्थी थिए ।

त्यसको ११ वर्षपछि २०४७ सालमा राजेन्द्र राई अनेरास्ववियुको धनकुटा जिल्ला अध्यक्ष भए । २०४९ मा नेकपा (एमाले)को तर्फबाट जिल्ला विकास समिति सदस्य र २०५१ मा उपसभापति भए । त्यसपछि पार्टीको जिल्ला सचिवालय सदस्य र किसान महासंघको केन्द्रीय सदस्य बनेका राईले राष्ट्रिय कफी तथा चिया विकास बोर्डको उपाध्यक्षमा नियुक्ति पाए ।

२०७५ जेठमा एमाले र माओवादी केन्द्रको एकताबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पनि धनकुटा अध्यक्ष भए । एकता भंग भएपछि पनि एमाले धनकुटाको अध्यक्ष भए ।

त्यसअघि पनि दुई कार्यकाल एमालेको धनकुटा जिल्ला अध्यक्ष रहिसकेका उनी २०७८ मंसिरमा भएको एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । उनी एमालेको धनकुटा इन्चार्ज पनि हुन् ।

राईले राष्ट्रिय निर्वाचनमा पहिलो पटक पार्टीबाट टिकट पाएको चाहिं २०७० मा हो । दोस्रो संविधानसभाका लागि धनकुटा–२ को टिकट पाएका उनी तत्कालीन राप्रपाका महामन्त्री सुनिल थापासँग ४५४ मतले हारे ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले राईलाई नै धनकुटा–२ मा उठायो । प्रतिस्पर्धी थिए उनै सुनिल थापा । यसपटक वाम गठबन्धनको बल पाएका राईले १० हजार ४५९ भोटको अन्तरले थापालाई पराजित गरेर अघिल्लो हारको बदला लिए ।

अहिलेको चुनावी अंकगणित

२०७४ सालको स्थानीय निर्वाचनमा धनकुटाका ७ वटै तहमा एमाले विजयी भएपछि पार्टी अध्यक्ष केपी ओलीले ‘म्यान अफ दि इलेक्सन’ भन्दै जिल्ला अध्यक्ष राईको प्रशंसा गरेका थिए ।

तर, गत ३० वैशाखमा भएको दोस्रो स्थानीय निर्वाचनको नतिजामा एमाले खस्किएको छ । अहिले प्रतिनिधिसभामा एक सिट मात्र भएको धनकुटामा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको पार्टीगत मत जोड्दा एमाले विरुद्धको सत्ता गठबन्धनसँग ३७ हजार ६८२ मत रहेको देखिन्छ भने एमालेसँग ३६ हजार ३५ ।

यद्यपि, गठबन्धनको यो कुल जोडमा जनता समाजवादी पार्टी (जसपा)को मत पनि छ, जुन अहिले गठबन्धन बाहिर छ । त्यस्तै, धनकुटामा लोकप्रिय रहेका नेता हेमराज भण्डारीले चुनावको मुखैमा माओवादी केन्द्र छाडेर स्वतन्त्र उम्मेदवारी दिएका छन् । यो दुई अवस्थाले एमालेका उम्मेदवार राईका लागि अनुकूलता बढाएको देखिन्छ ।

त्यसो त भण्डारीको स्वतन्त्र उम्मेदवारीले माओवादी केन्द्रका मात्र भोट काट्छ भन्ने छैन । त्यसमाथि, धनकुटामा राजेन्द्र राईको चिरपरिचित प्रतिद्वन्द्वी सुनिल थापा यसपालि राप्रपामा नभएर नेपाली कांग्रेसमा छन् । र, उनी सत्ता गठबन्धनको साझा उम्मेदवार बनेर आएका छन् । राईको लागि मुख्य खतरा गठबन्धनबाटै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?