+
+

चितवनको प्रदेश सभामा एमाले र सत्ता गठबन्धनकै प्रतिस्पर्धा

सुवास पण्डित सुवास पण्डित
२०७९ मंसिर १ गते २१:१४

१ मंसिर, चितवन । चितवनमा ६ प्रदेशसभाका सदस्यका लागि बागमती प्रदेशका दुईमन्त्रीसहित ५४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

चितवन क्षेत्र १ को प्रदेश क्षेत्र (१) मा १० जना र (२) बाट ९ जना उम्मेदवार छन् । क्षेत्र नं. २ को प्रदेश क्षेत्र (१) मा ८ जना र (२) मा १० जना तथा क्षेत्र नं. ३ को (१) मा ८ जना र (२) मा ९ जनाको उम्मेदवारी परेको छ । अघिल्लो चुनावमा उठेर जितेका घनश्याम दाहाल, कृष्ण खनाल पुनः उम्मेदवार बनेका छन् । माओवादीका घनश्याम दाहाल र एकीकृत समाजवादीका कृष्ण खनाल बागमती प्रदेश सरकारका मन्त्री समेत हुन् ।

एमालेका कृष्ण भूर्तेल पनि दोस्रो कार्यकालका लागि उम्मेदवार छन् । अघिल्लो चुनावमा पराजित भएका कांग्रेसका धनबहादुर गुरुङ भने यो पटक बागी उम्मेदवार बनेका छन् ।

अघिल्लोपटकको निर्वाचनमा वाम गठवन्धनबाट उम्मेदवार बनेका एमालेले ४ र माओवादी केन्द्रले दुई जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यसपटक एक्लै प्रतिस्पर्धामा उत्रिएको उसलाई आफ्नो जित जोगाउन सहज छैन । अघिल्लो पटक शुन्य भएको कांग्रेसले तीन क्षेत्रमा उम्मेदवारी दिएको छ, तर माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ भएकाले चितवनबाट प्रदेशसभामा उपस्थिति हुनेमा आशावादी छ ।

जगन्नाथ भर्सेस किरण भूषण

चितवन १ को प्रदेश क्षेत्र (१) जनजाति वाहुल्य भएको क्षेत्र हो, तर एमाले र सत्ता गठबन्धन दुबैले फरक पृष्ठभूमिका व्यक्तिलाई उम्मेदवार बनाएको छ । पूर्व जिल्ला अध्यक्ष समेत रहेका थपलिया एमाले केन्द्रीय सदस्य हुन् भने ओली कांग्रेसका क्षेत्रिय सभापति हुन् ।

कांग्रेसकै धनबहादुर गुरूङले ओलीविरुद्ध बागी उम्मेदवारी दिएका छन् । उनी अघिल्लो निर्वाचनमा एमालेका दावा दोर्जेसँग गुरूङ पराजित भएका थिए । दावाले २३ हजार २३ मत ल्याएर जित्दा कांग्रेसका गुरूङले १५ हजार ९४४ मत ल्याएका थिए । यो पटक क्षेत्रीय सभापति ओलीले टिकट पाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारीले सत्ता गठवन्धनका साझा उम्मेदवार ओली केही दबावमा छन् ।

अधिकांश तामाङ र विकट भेगमा सिमान्तकृत चेपाङ जातिको मूल वसोवासको थलो यहि प्रदेश क्षेत्रमा पर्दछ । राप्ती नगरपालिकाको अधिकांश भूभाग र खैरहनी नगरपालिकाको ३, ६, ७, ८, ९, १० र ११ नम्वर वडा यो प्रदेश क्षेत्रमा पर्दछन् ।

गएको स्थानीय तहको निर्वाचनमा राप्ती नगरपालिकाकाका १३ मध्ये ८ वडा एमाले एक्लैले जितेको थियो । वडा नः १०, १२ र १३ गरी ३ वडा कांग्रेसले जित्न एउटामा स्वतन्त्र र अर्कोमा एकीकृत समाजवादी जितेको छ । यसैगरी खैरहनी नगरपालिकाको ७ वटा वडा मध्ये ४ वडा एमालेले जितेको थियो । बाँकी ३ वडा कांग्रेसले जितेको थियो । यो क्षेत्रमा गठवन्धनका उम्मेदवाररुले पाएको मत भन्दा एमाले वडाध्यक्षहरुले पाएको धेरै छ ।

प्रदेश क्षेत्र (क) मा ६६ हजार १५ मतदाता छन्, जसका लागि २६ मतदान स्थल र ७४ मतदान केन्द्र छन् ।

कृष्ण भर्सेस प्रकाश

प्रदेश क्षेत्र (२) मा अघिल्लोपटक एमालेबाट निर्वाचित कृष्ण खनाल यसपटक एकीकृत समाजवादीबाट उम्मेदवार छन् । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका उनलाई सत्ता गठबन्धनको समर्थन छ । उनको प्रतिस्पर्धा एमालोका प्रकाश खनाल शैलेससँग हुनेछ । उनी नेकपाको एकता प्रक्रियाबाट एमालेमा आएका हुन् ।

कांग्रेसबाट राममणी खनाल बागी उम्मेदवार बनेका छन् । सत्ता गठबन्धनको भागवण्डामा यो क्षेत्रमा एकीकृत समाजवादीलाई छाडेकामा असन्तुष्ट उनले बागी उम्मेदवारी दिएका हुन् । उनले कांग्रेसको मत कति काटछन् भन्ने आधारमा कृष्ण खनालको जित निर्भर हुने देखिएको छ ।

खैरहनी नगरपालिकाको वडा नः १,२,४,५,१२ र १३ र रत्ननगर नगरपालिकाका १६ वटा वडा यो प्रदेश क्षेत्रमा पर्दछ ।

गएको स्थानीय तहको निर्वाचनमा खैरहनी र रत्ननगर नगरपालिको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएका थिए । यहाँ कुल ७३ हजार ८३० मतदाता छन् र ३० मतदान स्थल र ८५ केन्द्र छन् ।

घनश्याम भर्सेस कृष्ण

चितवन– १ को प्रदेश क्षेत्र १ मा माओवादी केन्द्रका घनश्याम दाहाल पुनः उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा वाम गठबन्धनको साझा उम्मेदवार रहेका उनलाई यसपटक कांग्रेसको सर्मथन छ । दाहाल यसपटक बागमती प्रदेशको श्रम, रोजगार यातायात मन्त्री छन् ।

एमालेबाट कृष्ण सिलवाल उम्मेदवार छन् । यहाँ दाहाल र सिलवालबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

यो प्रदेश क्षेत्रमा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको १, ३ र २९ पर्दछ । गएको स्थानीय तहको निर्वाचनमा कालिका नगरपलिका र इच्छाकामना गाउँपालिका अध्यक्ष एमालेले जितेको थियो । महानगरको वडा नः १ र २९ कांग्रेसले र वडा नः ३ एमालेले जितेको थियो ।

यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको ७ वडा मध्ये एमालेले ५ र कांग्रेस माओवादीले १/१ वडा मात्रै जितेका थिए । अघिल्लो चुनावमा यो क्षेत्रमा ५२ हजार २९८ मतदाता रहेकोमा यसपटक बढेर ६१ हजार ९७३ पुगेको छ । मतदान स्थल ३१ मतदान केन्द्र ७३ छन् ।

देवी भर्सेस उत्तम

प्रदेश क्षेत्र २ मा एमालेबाट देवी ज्ञवाली र गठवन्धनबाट कांग्रेस चितवनका पूर्व जिल्ला सचिव उत्तम अधिकारीबीच प्रतिस्पर्धा हुने देखिन्छ । ज्ञवाली चितवन– २ बाट प्रतिनिधिसभाको चुनाव लड्न चाहन्थे । तर कृष्णभक्त पोखरेलले टिकट पाएपछि प्रदेशमा झरेका हुन् ।

एमाले पोलिट्ब्यूरो सदस्य रएवं चितवन जिल्ला इन्चार्ज ज्ञवाली २०७४ को स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार थिए, तर रेनु दाहालसँग पराजित भए ।

जिल्लाको तुलनात्मक रुपमा सुगम र सहज भूगोल यो प्रदेश क्षेत्रमा छ । भरतपुर महानगरको वडा नं. २, ४,५,७, १०,११ र १२ गरी ७ वडा पर्दछन् । गएको स्थानीय तहको निर्वाचनमा एमालेले वडा नं. ११ र १२ गरी २ वडा मात्रै जितेको थियो भने कांग्रेसले वडा नं. २, ४, ५ र १० जितेको थियो । यस्तै एकीकृत समाजवादीले वडा नं. ७ गठवन्धनबाट जितेको थियो । ६२ हजार २४२ मतदाता रहेको यो क्षेत्रमा १२ स्थल र ६५ मतदान केन्द्र छन् ।

सूर्यकान्त भर्सेस कृष्ण

चितवन– ३ प्रदेश क्षेत्र १ मा एमालेबाट कृष्णप्रसाद भूर्तेल र सत्ता गठवन्धनबाट कांग्रेसका सूर्यकान्त घिमिरे उम्मेदवार छन् । अघिल्लो निर्वाचनमा बाम गठवन्धनबाट उठेर जितेका भूर्तेललाई यसपटक एमालेले दोस्रो कार्यकालका लागि उम्मेदवार बनाएको छ ।

कांग्रेसका उम्मेदवार घिमिरे कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार हुन् । यहाँको स्थानीय चुनावको गणित उनका लागि अनुकल छ, तर कांग्रेसबाट विद्रोह गरेर प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका दिनेश कोइरालाका कारण केही समस्या छ ।

पश्चिम चितवनको भूगागमा अन्य दलभन्दा कांग्रेस बलियो देखिन्छ तर कांग्रेसको मत छरिने सम्भावना छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको नेतृत्व गरिसकेका एमाले उम्मेदवार भूर्तेलका लागि गठवन्धनको मत मुख्य चुनौती हो ।

यो प्रदेश क्षेत्रमा भरतपुर महानगरपालिकाका वडा नः ६, ८, ९, १५,१६,१७,१८,१९, २०,२६, २७ र २८ नम्वर गरी १२ वटा वडा पर्दछन् । गएको स्थानीय तहको निर्वाचनमा वडा नं. ६,८,१५,१६,१७,२० र २७ नम्बर वडा कांग्रेसले जितेको थियो भने, एमालेले वडा नं. १८, १९ र २८ तथा माओवादीले २६ नम्बर वडा जितेको थियो ।

यो क्षेत्रमा यसपटक ७८ हजार २८६ मतदाता पुगेका छन् । २९ मतदान स्थल र ८६ मतदान केन्द्र छन् ।

सरस्वती भर्सेस ठाकुर

प्रदेश क्षेत्र (२) मा अघिल्लो निर्वाचनमा दुई थारु उम्मेदवारको बीचमा प्रतिस्पर्धा भएको थियो । तर यो पटक सत्ता गठबन्धन र एमाले दुबैले थारु समुदायबाट उम्मेदवार नै बनाएनन् ।

एमालेले सरस्वती विष्टलाई उम्मेदवारको रुपमा उभ्याउँदा सत्ता गठवन्धनले माडी नगरपालिकाका पूर्व प्रमुख ठाकुर ढकाललाई अघि सारेको छ । विष्ट एमाले निकट अखिल नेपाल महिला संघ चितवनका पूर्वअध्यक्ष हुन् । दुबै उम्मेदवारको घर माडी हो ।

राप्रपाले अघिल्लोपटक समानुपातिक सांसद बनेकी रिना गुरुङ्गलाई उम्मेदवार बनाएको छ । मूल प्रतिस्पर्धा ढकाल र विष्टका बीचमा भएपनि रिनाको पनि राम्रो मत आउने देखिन्छ । यो क्षेत्रमा कांग्रेसको आफ्नो उम्मेदवार छैन र बागी उम्मेदवार दिनेशले एमालेसँग समझदारी गरेकाकारण ठाकुरले सत्ता गठबन्धनको सबै मत नपाउन सक्छन् ।

यो क्षेत्रमा माडी नगरपालिकाका ९ वडा र भरतपुर महानगरका वडा नः १३, १४, २१, २२, २३, २४ र २५ नम्वर वडा यो क्षेत्रमा पर्दछ । गएको स्थानीय तहको निर्वाचनमा माडी नगरपालिकाको मेयर एमालेले जितेको थियो भने उपमेयर कांग्रेसले । महानगरको ७ वडामा माओवादीले २ वटा, कांग्रेसले ३ वटा र एकीकृत समाजवादीले १ र स्वतन्त्र उम्मेदवारले १ वडा जितेका छन् । एमालेले कुनै पनि वडा जितेको छैन ।

२०७४ मा यो क्षेत्रमा ५७ हजार ४ सय ६१ मतदाता थिए । यसपटक बढेर ६५ हजार ९९६ पुगेका छन्, जसका लागि ३४ मतदान स्थल र ७० वटा मतदान केन्द्र तोकिएको छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?