+
+
वार्ता : डा. राजन भट्टराई :

‘१५ वर्ष केही गर्न नसकेपछि मतदाता झुक्याउन प्रधानमन्त्रीको कार्ड फालिंदैछ’

मलाई के लाग्छ भने १५ वर्षसम्म केही गर्न नसकेपछि अब चुनाव जित्न नयाँ कार्ड फालिंदैछ । प्रधानमन्त्रीको चर्चा जनता झुक्याउने त्यही कार्ड मात्रै हो ।

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १७:२५

१ मंसिर, काठमाडौं । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराई काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार छन् । गठबन्धनका उम्मेदवार कांग्रेस महामन्त्री गगन थापासँगको प्रतिस्पर्धा, क्षेत्रका मतदाताको मनोविज्ञानसहित समसामयिक विषयमा डा. भट्टराईसँग गरिएको कुराकानी :

चुनाव प्रचारप्रसार अन्तिम अवस्थामा पुगेको छ, मतदाताको कस्तो ‘रेस्पोन्स’ पाउनुभएको छ ?

मतदाताको रेस्पोन्स असाध्यै राम्रो पाएको छु । उहाँहरूको सद्भाव, मायाबाट उत्साहित भएको छु । युवा भाइबाहिनीहरूदेखि बुवा–आमासम्म सबैले हार्दिक स्वागत गर्नुभएको छ । उहाँहरूको आशीर्वाद पाएको छु । तपाईंले पनि त्यो देख्नुभएकै छ ।

मेरो क्षेत्रमा पर्ने बुढानीलकण्ठ नगरपालिकाका वडाहरूदेखि काठमाडौं महानगरपालिकाका वडाहरूमा पुग्दा, घरदैलोमा जाँदा मप्रति अगाध विश्वास व्यक्त भएको छ । त्यसबाहेक सबै टोल, युवा क्लब, महिला समूह, व्यापार व्यवसायमा संलग्न सबै क्षेत्र, वर्ग र तहका जनतासँग भेटेको छु । धेरैले त मलाई बोलाएर शुभकामना दिनुभएको छ । म असाध्यै उत्साहित छु ।

‘धेरै बोल्ने भन्दा पनि काम गर्ने’ तपाईंको प्रचार अभियान छ, यसको अर्थ तपाइँ आफ्ना प्रतिस्पर्धीलाई ‘धेरै बोल्ने’ भन्दै हुनुहुन्छ ?

म बोलीमा भन्दा काममा विश्वास गर्छु । मेरा प्रतिस्पर्धी मित्र यसअघि दुई कार्यकाल यही क्षेत्रबाट निर्वाचित भएर सांसद बन्नुभएको हो । त्यसअघि पनि उहाँ समानुपातिक सांसद हुनुहुन्थ्यो । १५ वर्षसम्म यही क्षेत्रबाट सांसद भएको व्यक्तिले यस क्षेत्रका लागि के गर्नुभयो भनेर हेर्दा कुनै उल्लेखनीय काम गरेको देखिंदैन । उहाँले आफूले गरेको काम जनतामा लिएर गएर मत मागेको भए हुन्थ्यो, त्यो मौका मैले पाइनँ ।

उहाँले यस क्षेत्रमा धेरै आश्वासन जनतालाई बाँड्नुभयो तर ती काममा परिणत भएनन् । अहिले तिनै एजेण्डा लिएर जनतामा जाँदा मत पाउने अवस्था नरहेपछि उहाँ ठूल्ठूला कुरा गरेर मतदाता झुक्याउन खोज्दै हुनुहुन्छ । निर्वाचन क्षेत्रभित्र उहाँको हैसियत प्रष्ट भइसकेको हुनाले उहाँ निर्वाचन क्षेत्र बाहिर महत्व राख्ने ठूल्ठूला कुरा गर्न थाल्नुभएको छ ।

तर यसअघि उहाँले जति मतदाता झुक्याउन सफल हुनुभयो यस पटक क्षेत्रवासी जनता झुक्किनेवाला छैनन् । प्रधानमन्त्री बन्ने, देशको नेता बन्ने उहाँको चुनावी बेलुन चाँडै नै फुट्नेवाला छ । जनता अब झुक्किंदैनन् ।

त्यसैले मैले ठूल्ठूला गफको प्रचार गर्नुभन्दा काम गर्नु उचित हुन्छ भन्ने ठानेको छु । म सांसद नरहँदा पनि यस क्षेत्रका विभिन्न योजनाका लागि गरेको काम, छुट्याएको बजेट र आगामी मार्गचित्रसहित मत मागेको छु । यो कुरा यहाँका घर–घरका जनतालाई थाहा छ ।

तर, तपाईं शक्तिशाली प्रधानमन्त्रीको टिममा हुनुहुन्थ्यो, तपाईंले गरेको कामबाट जनता कत्तिको खुशी भएको पाउनुभयो त ?

मैले निर्वाचनमा पराजित भएपछि पनि यो क्षेत्रको विकास निर्माणको लागि सकेसम्म प्रयास गरेको छु । मेरो पहलमा कपनवासीलाई खानेपानीका लागि सवा २ अर्बको परियोजना अघि बढेको हो । मेलम्चीको पानी रिङरोडभित्र लक्षित भए पनि कपन क्षेत्रमा विस्तारका लागि पहल लिएँ र त्यो अघि बढेको छ । त्यस्तै कपन क्षेत्रभित्रका सडकको निर्माणका लागि मैले सम्बन्धित कार्यालयमा ताकेता गरी कतिपय सडक बनेका छन्, कति बन्नेक्रममा छन् ।

मैले क्षेत्रवासीका हरेक दुःखसुखमा साथै रहने वाचा गरे बमोजिम उहाँहरूका समस्या समाधानका लागि सांसद नरहँदा, पार्टी सत्तामा रहँदा नरहँदा नेतृत्व लिएको छु ।

मैले गरेका काम र मेरा प्रयास क्षेत्रवासीले देख्नुभएको छ । मैले अहिले जनताका घरदैलोमा जाँदा यस क्षेत्रका समस्या समाधानका लागि समयसीमासहितका प्राथमिकता तोकेको छु । हरेक क्षेत्रमा मेरो १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छु । त्यसैले मेरो कामबाट जनता खुशी भएको पाएको छु । त्यसकै परिणाम हुनुपर्छ आज मैले उहाँहरूको माया पाएको छु ।

तपाईंका प्रतिस्पर्धी गगन थापा प्रधानमन्त्री बन्ने दावीसहित चुनाव प्रचारमा हुनुहुन्छ तर तपाइँहरूले त प्रधानमन्त्रीमा केपी ओलीलाई अगाडि बढाउनुभएको छ ? थापा र तपाईंमा मतदाताले तपाईंलाई किन छनोट गर्ने नि ?

कसैले पनि प्रधानमन्त्रीको दावी गर्न त पाउनुहुन्छ, त्यसमा मेरो टिप्पणी छैन । दाबी गर्नैका लागि त म पनि जितेर गएर प्रधानमन्त्री हुन सक्छु भनेको भए हुन्थ्यो मैले त्यसो भनिरहेको छैन । दिगो राजनीति गर्नेले यस्ता गलत कुरा गर्नुहुन्न र यस्ता कुरा गरेर आजका मतदाता झुक्किनन् पनि ।

उहाँले मत माग्नका लागि भ्रामक प्रचारको सहारा लिइरहनुभएको छ भन्ने सार्वजनिक तथ्यले पुष्टि गर्छ । देउवा, रामचन्द्र, शशांक, प्रकाशमान सिंह सबै प्रधानमन्त्री आफू हुने दावी गरेर हिंडेका छन् । प्रधानमन्त्रीको दावी त सागर ढकालदेखि रवि लामिछानेले समेत गरेका छन् । तर प्रधानमन्त्री कसैले आफैंलाई घोषणा गरेर हुँदैन ।

अर्कोतर्फ एमाले अध्यक्ष ओलीसँग नसकेर पाँचदलीय गठबन्धन बनाएर आउँदा पनि प्रधानमन्त्रीको उम्मेदवार तय गर्न सकेको अवस्था छैन । कांग्रेसभित्र झण्डै दर्जनको दाबी होला, उता प्रचण्डको दाबी छँदैछ । फेरि उहाँका नेता शेखर कोइराला हुन्, उनले समेत प्रधानमन्त्रीबारे केही बोलेका छैनन् । कांग्रेस प्रवक्ताले अबको प्रधानमन्त्री फेरि देउवा नै हो, कसैले घोषणा गर्दै हिंड्नुको अर्थ छैन भनिसकेका छन् । मलाई के लाग्छ भने १५ वर्षसम्म केही गर्न नसकेपछि अब चुनाव जित्न नयाँ कार्ड फालिंदैछ । प्रधानमन्त्रीको चर्चा जनता झुक्याउने त्यही कार्ड मात्रै हो ।

प्रधानमन्त्री आफूले आफैंलाई मत माग्न जाँदा घोषणा गरेर हुँदैन । हाम्रो पार्टी एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जनतासँग मत मागिरहेको छ । ‘मंसीर चार, ओली सरकार’ भनेर हामीले प्रष्टसँग जनतालाई सूर्यमा मतदान गर्न आह्वान गरेका छौं । यो देशमा यदि विकास र समृद्धिको कसैले नेतृत्व लिन सक्छ भने ओलीले मात्र गर्न सक्नुहुन्छ भन्ने त उहाँको नेतृत्वका दुई सरकारले गरेका कामबाट समेत प्रमाणित भएकै छ । त्यसैले मतका लागि यस्तो गलत प्रचार नगर्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ । म चाहिं त्यस्तो हल्का प्रचारमा लाग्दिनँ ।

खाली के स्मरण गराउँछु भने हाम्रा अध्यक्ष ओलीले २०७४ कै निर्वाचनको सिलसिलामा मतदातालाई आग्रह गर्दै राजनलाई जिताएर पठाएमा मन्त्री बनाउँछु भन्नुभएको थियो । म अहिले निर्वाचित भएमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा पुग्छु, मन्त्री हुन्छु । त्यसो हुँदा क्षेत्रको विकासको लागि थप सहज हुनेछ । क्षेत्रवासीका समस्या समाधान गर्नेछु । १५ वर्ष केही गर्न नसक्नेले फेरि गर्न सक्ने भन्ने हुन्न । त्यसैले अब मतदाताले गफ होइन, कुरा होइन, काम गर्ने उम्मेदवारलाई मत दिनुपर्छ ।

यसअघि गगन थापासँग तपाईं पराजित हुनुभयो । अहिले तपाईंले जित्ने मुख्य आधार के हो ?

पहिलो, म पराजित भएपछि पनि मैले गरेका कामहरू हुन्, जो क्षेत्रवासी सबैलाई थाहा छ । मेलम्चीको पानीदेखि वागमती करिडोर, कपनभित्रका सडक निर्माणलगायत थुप्रै काम मैले गरेको छु ।

दोस्रो, मेरा प्रष्ट प्रतिबद्धता र मार्गचित्र हुन् । मैले यस क्षेत्रका समस्याको पहिचान गरेको छु, समाधानको नेतृत्व लिएको छु । ती समस्या समाधानका मार्गचित्र ल्याएको छु र ती समयसारिणीसहित समाधान गर्ने प्रतिबद्धता मतदातासमक्ष राखेको छु ।

तेस्रो, यस क्षेत्रबाट निर्वाचित भएका सांसदले संसदमा चर्का भाषणबाहेक केही गर्न सक्नुभएन । तपाईंहरूले क्षेत्रवासीसँग यसबारे बुझ्न सक्नुहुन्छ । त्यति मात्र होइन, जनताका सरोकारका मुद्दादेखि राष्ट्रियता र राष्ट्रिय सुरक्षाका मुद्दामा उहाँको मौनता रहस्यमयी छ । सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को विचार प्रवाह गर्ने र जब बोल्नुपर्ने समय आउँछ तब नबोल्ने व्यक्ति कसरी नेता हुनसक्छ ?

चौथो, उहाँ परीक्षित व्यक्ति हो । मतदाताले अब पुग्यो भनेर विकल्प खोज्नुपर्छ भन्ने अवस्था आएको छ । एउटा व्यक्ति दुई कार्यकाल लगातार विजयी हुँदा पनि क्षेत्रमा केही हुँदैन भने किन दोहो¥याउने भन्ने मतदाताको भावना छ ।

स्वतन्त्र उम्मेदवारहरू तपाईंका निम्ति कत्तिको चुनौती हुन् ? किनकि ‘नयाँ’ भनेर उनीहरूले माहोल बनाइरहेका छन् ?

निर्वाचनमा प्रतिस्पर्धा गर्न आउनुलाई म अन्यथा ठान्दिनँ । कसैलाई म स्वतन्त्र हैसियतमा निर्वाचनमा प्रतिस्पर्धा गर्छु भन्ने अधिकार छ । तर मेरानिम्ति, खासगरी एमालेका हामी उम्मेदवारका लागि स्वतन्त्र उम्मेदवारलाई हामीले चुनौतीका रूपमा बुझेको छैन ।

यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा एमाले र गठबन्धनका उम्मेदवारबीच नै हो । यो एमालेको प्रभावकारी संगठन भएको क्षेत्र हो । स्थानीय निकायको परिणामले एमालेलाई सबैभन्दा ठूलो पार्टीको रूपमा स्थापित गरेको छ । बलियो पार्टीको संगठन र प्रतिबद्ध कार्यकर्ता भएकाले पार्टीको मत दायाँ–बायाँ हुँदैन ।

त्यसमाथि स्वतन्त्र उम्मेदवारहरूले एमालेको मतलाई खासै प्रभाव पार्दैनन्, तिनले गठबन्धनकै मत प्रभावित गर्छन् । यहाँ गठबन्धनभित्र पनि समस्या छ । त्यसैले जित्ने उम्मेदवार म नै हुँ ।

नयाँ भनेर मात्र निर्वाचन जितिंदैन, क्षेत्र र क्षेत्रवासीका लागि केही काम गरेको, क्षेत्र बुझेको पनि हुनुपर्छ । अहिलेको अवस्थामा यो क्षेत्रलाई राम्ररी बुझेको व्यक्ति म नै हुँ ।

काठमाडौंमा एमालेले कति सिट जित्छ ? देशभरमा एमाले कति सिटको पार्टी बन्छ भन्ने तपाईंलाई लाग्छ ?

काठमाडौंको १० सिटमा हामी आधा बढी सिट जित्छौं । देशभरमा एमाले सबैभन्दा ठूलो पार्टी बन्छ । हाम्रो पार्टीले ‘मिसन–१५०’ भनेको छ । मलाई लाग्छ यसकै हाराहारीमा सिट ल्याउँछ । एउटा कुरा निश्चिन्त भएर भन्न सक्छु, अबको सरकार एमाले नेतृत्वको सरकार बन्छ । ओली प्रधानमन्त्री बन्नुहुन्छ । हामीले त्यसै ‘हामीले मंसीर चार, ओली सरकार’ भनेको होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?