+
+

खड्कालाई बर्खास्त गर्दा पनि छैन विन्दुकुमारलाई सजिलो

विकास रोकामगर विकास रोकामगर
२०७९ मंसिर १ गते २०:०२

१ मंसिर, पोखरा । कास्की–२ प्रदेश क्षेत्र २ मा नेपाली कांग्रेसका उम्मेदवार बिन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा गण्डकी प्रदेश सरकारका भौतिकमन्त्री कुमार खड्का बर्खास्त भए । कांग्रेस नेता खड्कामाथि आरोप छ, एमाले उम्मेदवार मीना गुरुङलाई सघाएको ।

२०७४ को प्रदेश सभा निर्वाचनमा कास्कीमा प्रत्यक्षतर्फ चुनाव जित्ने एक्ला कांग्रेस उम्मेदवार थिए थापा ।

तर यो पटक टिकटका लागि खड्कासँग राम्रै प्रतिस्पर्धा गर्नुप¥यो । प्रदेश सरकारमा मन्त्री रहेका दुबै प्रत्यक्ष चुनाव लड्न चाहन्थे । अन्तिम समयमा थापाले टिकट त पाए, खड्काले असहयोग गरेको भन्दै बर्खास्त पनि गराए । तर खड्को बर्खास्तीले पनि उनको चुनावी यात्रा सहज भएको छैन ।

०७४ बाम गठबन्धनबाट उम्मेदवार नेकपा माओवादीका राजकाजी गुरुङ ‘करण’लाई पराजित गरेर संसदीय यात्रा तय गरेका थापा अहिले माओवादीकै समर्थनमा चुनावी मैदानमा छन् । अघिल्लो निर्वाचनमा उनले १० हजार ७२६ मत पाउँदा नेकपा माओवादीका करणले ९ हजार ९२४ मत ल्याएका थिए ।

अर्थात मतान्तर ७७५ मात्र छ । थापा र खड्काको टकराब गठबन्धनका लागि टाउको दुखाइ बनेको छ । ‘सांसद हुँदाबाटै सुरु भएको दुवैको प्रतिस्पर्धा मन्त्री भएपछि झनै चुलियो । अहिलेको स्थिति त सबैलाई थाहा भइसक्यो,’ कांग्रेसका एक नेता भन्छन्, ‘यसको असर चुनावमा देखिनसक्छ । यद्यपि हामी मिलाउने प्रयासमा छौं ।’

खड्काले भने बिहीबार पत्रकार सम्मेलन गरेर आफू विन्दुकुमारको विपक्षमा नगएको दाबी गरेका छन् । ‘निर्वाचन आचारसंहिताले गर्दा म माननीय विन्दुजीको मात्रै होइन, कसैको चुनावी कार्यक्रममा गएको छैन’ उनले भने, ‘अरु ठाउँमा प्रतिनिधिसभामा कलम र प्रदेशमा रुखलाई मागेकै हुँ । विन्दुजीको नाम नलिएर रुखलाई माग्दा अरुलाई भोट जान्छ भने मेरो भन्नु केही छैन ।’

थापाका मुख्य प्रतिस्पर्धी एमालेकी मीना गुरुङ छिन् । अघिल्लो पटक समानुपातिकबाट संसदीय राजनीतिमा प्रवेश गरेकी गुरुङ पहिलोपटक मतदातामाझ प्रत्यक्ष जान लागेकी हुन् ।

साना दल र स्वतन्त्र उम्मेदवारको पनि राम्रै उपस्थिति छ ।

गएको स्थानीय निर्वाचनपछि काठमाडौं, धरान र धनगढीमा स्वतन्त्रले मेयर नै जिते भने अरुले पनि राम्रै मत पाएका छन् । स्वतन्त्रमा आएको उभारले प्रतिनिधि तथा प्रदेश सभालाई पनि छोएको छ ।

नेकपा एमालेका कार्यकर्तासमेत स्वतन्त्र र साना दलले पाउने मतका आधारमा आगामी निर्वाचनमा फरक पार्ने बताउँछन् । ‘अहिले स्वतन्त्रहरुले पनि राम्रै चर्चा पाइराखेका छन् । उम्मेदवार नचिने पनि चुनाव चिह्नकै आधारमा भोट हाल्ने भन्दैछन्’, नेकपा एमालेका एक कार्यकर्ता भन्छन्, ‘स्वतन्त्र र साना पार्टीले जितै निकाल्न नसके पनि मत परिणाममा फरक पार्न सक्छन् ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आक्रामक रुपमा प्रचार गरिरहेको छ । लामो समय पत्रकारिता गरेर राजनीतिमा होमिएका अरुण गिरी कास्की २ ‘ख’ मा उम्मेदवार बनेका छन् । मतदातालाई चिया पकाएर खुवाउनेदेखि सामाजिक सञ्जालमा डिजिटल प्रचारप्रसार शैली अपनाइरहेका छन् ।

उनले चुनाव नजिते पनि आगामी प्रदेश सभा सदस्यामा कसले जित्ने भन्नेमा निर्णायक हुनसक्छ । यस क्षेत्रमा पर्ने वडाहरुमध्ये गएको स्थानीय चुनावमा राप्रपाले ४ वटा वडामा वडाध्यक्ष उम्मेदवार उठाएको थियो, जसले ८७९ मत पाएका थिए । गिरीले योभन्दा बढी मत पाउने देखिन्छ ।

गिरीबाहेक यो क्षेत्रमा मोनिका तामाङ, श्रमिक घर्ती क्षेत्री, तिलमाया पुनले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

स्थानीय निर्वाचनको अंक गणित

कास्की २ ‘ख’मा पोखराका ४, ८, ९, ११, १६ र २० नम्बर वडा पर्छन् । जसमध्ये वडाध्यक्षमा कांग्रेसले ४ र एमालेले २ वटा वडामा जित निकालेको थियो ।

मतभारका आधारमा पनि कांग्रेस एक्लैको मतभार बढी छ । स्थानीय निर्वाचनमा कांग्रेसका वडाध्यक्ष उम्मेदवारले यस क्षेत्रमा कुल १० हजार १९९ मत पाएका थिए । दोस्रोमा रहेका एमालेका उम्मेदवारले ९ हजार ४२४ मत पाएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ सय ७९ मत मत पाएका थिए ।

कास्की २ मा प्रतिनिधि सभातर्फ नेकपा एमालेबाट विद्या भट्टराई र सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल उम्मेदवार छन् । त्यस्तै, कास्की २ ‘क’ मा एमालेबाट भीम कार्की र सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादीका विश्वप्रकाश लामिछाने चुनावी मैदानमा छन् ।

कास्की २ मा अघिल्लो पटक माओवादी र एमालेका गठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा रवीन्द्र अधिकारीले जित निकालेका थिए । मन्त्री रहेकैबेला हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचनमा विद्या भट्टराई विजयी भएकी थिइन् । यही क्षेत्रमा पूर्वमन्त्रीसमेत रहेका महादेव गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?