+
+

प्रमुख नेताको सस्तो चुनावी वाचा : जिताएर पठाए मन्त्री बनाउने

आफ्ना पार्टीका उम्मेदवार जिताउन जिल्ला–जिल्ला पुगेर उनीहरु भाषण गरे । यस क्रममा आफ्ना उम्मेदवारका पक्षमा मतदाता तान्न उनीहरुले अनेकन कुरा बोले । यसमध्ये ‘जिताएर पठाएमा मन्त्री बनाउने’ आश्वासन धेरै देखियो ।

रामकुमार डिसी रामकुमार डिसी
२०७९ मंसिर १ गते २०:०८

१ मंसिर, काठमाडौं । चुनाव प्रचारका लागि निर्वाचन आयोगले अनुमति दिएयता प्रमुख दलका शीर्ष नेताले देशदौडाह गरे । यस्तोमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अगाडि रहे ।

आफ्ना पार्टीका उम्मेदवार जिताउन जिल्ला–जिल्ला पुगेर उनीहरु भाषण गरे । यस क्रममा आफ्ना उम्मेदवारका पक्षमा मतदाता तान्न उनीहरुले अनेकन कुरा बोले । यसमध्ये ‘आफनो उम्मेदवारलाई जिताएर पठाएमा मन्त्री बनाउने’ आश्वासन धेरै देखियो ।

मन्त्री बनाइदिने आश्वासन बाँड्नेमा प्रचण्ड सबैभन्दा अघि देखिए । कर्णालीदेखि पूर्वसम्म पुग्दा उनले धेरै उम्मेदवारलाई जिताइदिए मन्त्री बनाउने घोषणा गरे । यसको सुरुवात उनले काठमाडौंबाट गरेका थिए । ३० असोजको चुनावी कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘ओनसरीलाई जिताए एउटा राम्रो बिकासे मन्त्रालयको मन्त्री बनाएर पठाउने जिम्मा मेरो ।’

यसपछि उनी कर्णाली पुगे । त्यहाँ उनले कालीकोटबाट उम्मेदवार रहेका महेन्द्रबहादुर शाही र जुम्लाबाट उम्मेदवार रहेकी गोमा कुँवरलाई मन्त्री बनाउने वचन दिए । पूर्वतिर जाँदा उनले सुनसरी– १ का आफ्नो पार्टीका उम्मेदवार मुक्सामहाङ सुब्बा र भोजपुर पुगेर सुदन किरातीलाई पनि मन्त्री बनाउने आश्वासन दिए ।

गोरखामा आफू र तनहुँमा रामचन्द्र पौडेललाई प्रधानमन्त्री समेत बनाउने बाचा मतदातासामु गरेका प्रचण्डले अहिले सम्म ५ जनालाई त मन्त्री बनाउने वाचा गरिसकेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि के कम, उनले २५ कात्तिकमा कीर्तिपुर पुगेर राजन केसीका पक्षमा मत माग्दै जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिए । ‘राजनजीलाई चुनाव जिताएर पठाउनुस्, मन्त्री बनाउने काम मेरो भयो’, देउवाको वाचा थियो । उनले आफ्नो पार्टीका मात्रै होइन अरुका पार्टीका उम्मेदवारलाई पनि मन्त्री बनाउने वाचा गरे ।

१ कात्तिकमा ललितपुरमा आयोजित चुनावी कार्यक्रममा एकीकृत समाजवादीका उम्मेदवार कृष्णलाल महर्जनलाई अघिल्लो पटक मन्त्री बनाउन नसकिएको भन्दै यसपाली अवश्य बनाउने आश्वासन दिए । ‘कृष्णलालजीले मलाई मन्त्री बनाउनु भन्या भन्यै हुनुहुन्थ्यो, पहिला भाग पुर्‍याउन सकिएन’, देउवाको भनाइ थियो, ‘अबचाहिँ अवश्य मन्त्री बनाउँछु ।’

एमाले अध्यक्ष ओलीले यस पटक देउवा र प्रचण्डजस्तो प्रष्ट शब्दमा मन्त्री बनाउँछु भनेका छैनन् । यद्यपि उनले अघिल्लो चुनावमा यस्तो आश्वासन दिएको सार्वजनिक अभिलेख नै उपलब्ध छ ।

ताप्लेजुङ पुगेर योगेश भट्टराईलाई जिताए मन्त्रीको बिल्ला भिराएर फर्काउने बताएका थिए । तर, ओलीले आफ्नो नेतृत्वमा सरकार बन्दा सुरुमै उनलाई मन्त्री भने बनाएनन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछिको मन्त्रिपरिषद विस्तारमा भट्टराईलाइ स्थान दिएका थिए ।

ओलीले तत्कालीन देउवा नेतृत्वको सरकारले वरियता मिचेर आफूलाई आइजिपी हुनबाट रोकेको भन्दै डीआईजीबाटै राजीनामा दिएका नवराज सिलवाललाई पार्टीको टिकट दिएरु गृहमन्त्री नै बनाउने घोषणा गरेका थिए । ‘सरकारले नवराज सिलवाललाई अन्यायपूर्ण ढंगबाट हटाउन चलखेल गर्‍यो, यस्तो सिस्टम सुधार्न अब तपाईं गृहमन्त्री बन्नुपर्छ,’ उनले भनेका थिए, ‘त्यसका लागि समय कुरौं ।’ यद्यपि ओलीले सिलवाललाई मन्त्रीसम्म पनि बनाएनन् ।

भोट तान्न सस्तो चुनावी वाचा

नेताहरुले एक एक गरी मन्त्री घोषणा गर्दै गएपनि चुनावपछि उनीहरुकै हैसियत के हुन्छ थाहा छैन । चुनावपछि आउने नतिजाले नै कसको नेतृत्वका सकार बन्छ र कसले कति मन्त्री पाउँछ भन्ने यकिन हुने देखिन्छ । त्यसमा पनि मन्त्री ओहोदा नेताहरुले आफ्नो गोजीको पद बनाएका छन् मानौं उनीहरुले जसलाई दिएपनि हुने । चुनावी चर्चामै किन नहोस् नेपालमा मन्त्री पदको देख्न सकिने अवमूल्यनको उदाहरण हो यो ।

सत्ता गठबन्धनका नेताहरु चुनावमा आफूहरुले नै बहुमत पाउने र आफूहरु नै सरकारमा हुने दाबीसहित मन्त्री बाँडिरहेका छन् । मन्त्रीको आश्वासन बाँडेर भए पनि आफ्ना उम्मेदवार जिताउन मतदाताको विवेकमाथि मजाक गरिरहेका छन् उनीहरु ।

राजनीतिशास्त्री लोकराज बराल नेताहरुले मतदाता जे भन्दा खुसी हुन्छन्, त्यही बोल्दै हिँडेको बताउँछन् । ‘जनतालाई के भन्दा खुसी हुन्छन् अथवा भोट आउँछ भन्ने हिसाबले भनेका हुन्’, बराल भन्छन्, ‘यसलाई हामीले ठूलो महत्व दिनु हुदैन ।’

विश्लेषक हरि रोका एजेन्डा नभएपछि र घोषणापत्र मतदाताले पत्याउन छाडेपछि मन्त्री बनाउने आश्वासन नेताहरुले दिएको बताउँछन् । ‘पार्टीको आफ्नो एजेन्डा नभएपछि नेताहरुले गर्ने भाषण त्यही नै हो’, उनी भन्छन्, ‘पार्टीले विकास निर्माण वा योजनाका कुरा गर्ने हो । घोषणापत्र लेख्नुपर्ने कारण पनि त्यही नै हुन्छ । तर, त्यो मान्छेले पढ्न छोडे, पत्याउन छोडे ।’

घोषणापत्रमा जनताको विश्वास नभए जस्तै मतदाताले मन्त्रीको आश्वासनलाई पनि नपत्याउने विश्लेषक रोका बताउँछन् । ‘अहिले पनि नेताहरुले मन्त्री बनाइदिन्छु भनेको भरमा मतदाताले मत दिन्छन् भन्ने लाग्दैन’, उनी भन्छन, ‘मान्छे त्यति बेबकुफ छैनन् ।’

रोका यस्तो वाचाले सामुन्नेका संकट समाधान नहुने बताउँछन् । ‘अहिलेको चुनाव टालटुले मात्रै हो’, उनी भन्छन्, ‘यसले आर्थिक, वित्तीय, कृषि, बेरोजगारी, शिक्षाको समस्या समाधान गर्न सक्दैन । त्यसैले एउटा ठूलो संकटको सामना गर्न मान्छे तयार भएर बस्नुपर्छ जस्तो मलाई लाग्छ ।’

बराल चाहिँ नेताहरुको मन्त्री बनाउँछु भन्दै बाँडेको आश्वासन जनताको जिम्मामा छाड्नु पर्ने बताउँछन् । ‘जनताले मन पराउँछन् भनेरै नेताहरुले त्यस्तो भनेका होलान,’ उनी भन्छन्, ‘जनताले कत्तिको पत्याउँछन् त्यो भोलिको परिणामबाट थाहा होला ।’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?