+
+

प्रदेशबाट संघ उक्लने मणिरामको प्रयास

रामकुमार डिसी रामकुमार डिसी
२०७९ मंसिर १ गते २०:३९

नेकपा एमालेबाट काठमाडौं–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका मणिराम फुयालले सक्रिय राजनीति थालेको धेरै भएको छैन ।

लामो समय शिक्षण पेशमा बिताएका उनले २०७३ चैतमा प्रधानाध्यापकबाट राजीनामा गरेर सक्रिय राजनीतिको सुरुवात गरेका हुन् । २०४९ सालबाट शिक्षण सुरु गरेका फुयाल २०६५ मा नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालयको प्रधानाध्यापक बने ।

सक्रिय राजनीति ढिला सुरु गरेका भए पनि उनी विद्यार्थी संगठनमा भने २०४० सालदेखि नै सक्रिय थिए । त्यसपछि उनी एमालेनिकट शिक्षक संगठनमा रहेर काम गरे ।

शिक्षण पेशबाट अवकाश पाउन थोरै समय बाँकी छँदै राजीनामा दिएर सक्रिय राजनीति सुरु गरेको छोटै समयमा फुयालले प्रदेश सांसद हुने मौका पाए ।

उनी २०७४ को निर्वाचनमा यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भए । वाम गठबन्धनको बलमा प्रतिस्पर्धी भन्दा दोब्बर मतले विजय भएका फुयालले यसपटक एमालेबाट प्रतिनिधिसभा सदस्यको टिकट पाए ।

प्रतिकुल अंकगणित

यो क्षेत्रमा सत्ता गठबन्धनबाट पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रकी ओनसरी घर्ती उम्मेदवार छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम र राप्रपाकी कुन्ती पोखरेल पनि उत्तिकै चर्चामा छन् । गत ३० वैशाखमा भएको स्थानीय तहको चुनावमा वडागत तहमा प्राप्त मत हेर्दा यहाँ सत्ता गठबन्धन अगाडि देखिन्छ ।

यहाँ सत्ता गठबन्धनको २५ हजार १७० मत छ भने नेकपा एमालेको १७ हजार ३२८ मत छ । तेस्रो स्थानमा रहेको राप्रपाले ७ हजार २०० मत प्राप्त गरेको छ ।

लामो समय नेकपा एमालेले जितेको क्षेत्र भए पनि एमाले विभाजनको असर फुयालमाथि पर्ने देखिन्छ ।

यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लामो समय जनप्रतिनिधि रहे । उनको समर्थन ओनसरीलाई हुनु फुयालको प्रतिकुलता हो । स्थानीय चुनावमा यहाँ एकीकृत समाजवादीले मत ७ हजार ९११ प्राप्त गरेको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गौतम र राप्रपाकी कुन्ती पोखरेलको लोकप्रियता पनि उनको लागि प्रतिकुलता बन्न सक्छ ।

सत्ता गठबन्धनभन्दा झण्डै १० हजार मतले पछाडि रहँदा पनि एमाले उम्मेदवार आफूले नै जित्छु भन्ने मनोविज्ञानमा छन् ।

विशेष गरी एमालेको स्थानीय उम्मेदवार हुनुको फाइदा आफूले पाउने फुयालले ठानेका छन् । पटक–पटक बाहिरका उम्मेदवार आएको तर काम नभएको भन्ने भाष्य बनाएर एमालेले स्थानीय उम्मेदवार हुनुको लाभ लिने प्रयास गरिरहेको छ ।

‘आफ्नो गाउँ, ठाउँलाई बुझेको छु । चार दशकदेखि बुझ्दै आएको र भर्खरै सांसद हुने चाहना राख्न यहाँ आउनेबीचको अनुभवको तह निकै फरक हुन्छ,’ उनले भने ।

यसको जवाफमा सत्ता गठबन्धनले घर्तीलाई विकास निर्माणको लागि केन्द्रसम्म पहुँच भएको उम्मेदवारको रुपमा प्रस्तुत गरिरहेको छ, जुन फुयालको प्रतिकुलता हो । यद्यपि, गठबन्धनभित्रको असन्तुष्टिलाई सदुपयोग गर्दै स्थानीय उम्मेदवार हुनुको लाभ उठाएर बलियो संगठनको बलमा जित निकाल्ने फुयालको दाउ छ ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?