+
+

‘कांग्रेस र माओवादीका मतदाताले समेत मलाई साथ दिँदै हुनुहुन्छ’

विगतमा हामीले यहाँ १५ हजार भोटको अन्तरले जितेका थियौं । यसपल्ट कांग्रेस र माओवादीका उम्मेदवार उठ्नुभएकै छैन । ती दलहरुमा आस्था राख्दै आएका दाजुभाइ दिदीबहिनीले समेत मलाई आफ्नो प्रतिनिधि मानेर मत दिनुहुने छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते २१:०८

१ मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्ट गुल्मी–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । यसै क्षेत्रबाट निरन्तर चुनाव जित्दै आएका उनले यसपटक आफ्नै पूर्वसहकर्मी नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीसँग प्रतिस्पर्धा गर्दैछन् ।

मौन अवधि सुरु हुनु केही घण्टा अगाडिसम्म मतदाताकै माझमा रहेका विष्टसँग अनलाइनखबरसले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंको चुनावी अभियान कस्तो चल्यो ?

एकदमै सौहार्द्ध र सक्रिय रुपमा अघि बढ्यो । गुल्मी २ का विभिन्न ठाउँहरुमा हामीले औपचारिक तथा अनौपचारिक भेटघाट सम्पन्न गर्‍यौं । जनताले हामीलाई मनबाटै सद्भाव प्रकट गर्नुभएको छ । यो सद्भावलाई विजयमा परिणत गर्न उहाँहरुको महत्वपूर्ण साथ सहयोग रहनेछ ।

यसभन्दा पहिले पनि यही ठाउँबाट जितिरहेको जनप्रतिनिधिका रुपमा फेरि भोट माग्न जाँदा तपाईंलाई कस्तो अनुभूति भइरहेको छ ?

जनताको सबैखाले दुःखसुखमा साथ रहेर हामीले विगतमा धेरै काम गरेका छौं । केही काम सम्पन्न हुने क्रममा छन् । पहिले पनि उहाँहरुले मलाई अत्यन्त हार्दिकताका साथ सघाउनुभएको थियो । सुझाव, शुभेच्छा सबै पाएको भाग्यमानी जनप्रतिनिधि हुँ म ।

त्यसैले यसपल्ट पनि विगतभन्दा धेरै हार्दिकता र अझै धेरै उत्साहसाथ मैले निर्वाचित हुने अवसर पाउने छु । मतदताले विगतका अधुरा कामसमेत पूरा गर्नुहोला भन्नुभएको छ ।

यसपल्ट चुनावमा जाँदा जनतासामू तपाईंले के प्रतिवद्धता गर्नुभएको छ ?

सबैखाले विकास र समुन्नतिका लागि काम गर्नु एउटा सांसदको काम हो । यहाँको जीवनस्तर उठाउन शिक्षा, स्वास्थ्य, सडक, पक्की पुल, बिजुली, पिउने पानी, सिँचाई, खेलकुद, युवा रोजगारी, बालबालिकाको हुर्काइ, किसान र महिलाहरुको जीवनस्तर बदल्ने काम, खासगरि महिलाहरुको आयआर्जनजस्ता सरोकार सबैमा मेरो बराबर ध्यान जाने गर्छ ।

गरिबी अभाव बेरोजगारीको चंगुलबाट जनतालाई माथि उठाउने गरी हामीले यहाँ विगतदेखि प्रयास गरेका छौं । पहिले मेरो क्षेत्रमा एउटा पनि पक्की पुल थिएन, सडक थिएन । आज धेरैवटा पक्की पुल छन्, पक्की सडकहरु छन् । त्यस अर्थमा हामीले विकास निर्माणमा केही सन्देश दिएका छौं ।

पहिले धेरै अभाव थियो, अहिले परिवर्तन आँखाले देखिने गरी अघि बढेको छ । यति हुँदाहुँदै पनि कामहरु बाँकी छन् ।

प्रत्येक वडामा कालोपत्रे सडक जोड्ने, प्रत्येक पालिकामा १५ शय्या र डाक्टर भएको अस्पताल, वडाबाट सहज स्वास्थ्य सेवा प्रदान गराउने, शैक्षिक सुधारमा जोड दिने, युवा रोजगारीको अवसरका लागि प्रयास गर्ने, ७० प्रतिशत घरमा पानीका धारा छन्, त्यसलाई शतप्रतिशत बनाउने काम गर्नु छ ।

चुनाव त आउँछन् जान्छन्, तर जनताको आधारभूत जीवन जबसम्म परिवर्तन हुँदैन, तबसम्म लोकतन्त्रको अर्थ रहँदैन । केवल प्रतिनिधि छान्नु लोकतन्त्र होइन । जनताले आफ्नो जीवनमा रुपान्तरण पाउनुपर्‍यो । जनताको जीवनप्रति राज्य जवाफदेही बने पो लोकतन्त्रको अर्थ हुन्छ । त्यसैले परिणाम देखिने गरी भूमिका खेल्नुपर्छ ।

तपाईंसँग विगतकै पार्टी सहकर्मी रामकुमारी झाँक्री प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँको उपस्थितिलाई कसरी लिनुभएको छ ?

म पहिलोपल्ट जित्दा पक्की सडक थिएन । पक्की पुलहरु बनेका थिएनन् । स्वास्थ्य चौकी, स्कुल जीर्ण स्थितिमा थिए । साँच्चै भन्ने हो भने एक प्रकारले कहालीलाग्दो अवस्था थियो । यस बीचमा २८–३० अर्बभन्दा बढी रुपियाँ बराबरका विकासका काम अघि बढाएका छौं ।

हामीले आफ्नो बलबुताले लगातार जे सक्यौं, जनताको बीचमा जाने, तिनका सुखदुःख कठिनाइ महामारी, अशिक्षा, अभावमा साथ दिने कोशिस गरेका छौं । मैले जित्ने आधार त्यही हो । जनताले दिएको भरोसा नै मेरो जितको आधार हो ।

तर प्रतिस्पर्धा त हुने नै भयो नि ?

निर्वाचनमा धेरै पार्टी र उम्मेदवार आएका छन् । अलिक तथ्यहीन आलोचना पनि सुन्ने गरेका छौं । त्यसतर्फ सरोकार छैन । हाम्रो प्रतिस्पर्धा भनेको हाम्रै विगतका कामसँग हो । जनताको मन जित्ने, विश्वास जित्ने, पदीय जिम्मेवारीलाई जवाफदेहितासँगै जोड्ने काम गर्ने हो ।

रामकुमारी झाँक्रीकै बारेमा केही टिप्पणी छैन ?

संविधान बममोजिम योग्यता पुगेका साथीहरु चुनावमा प्रतिस्पर्धारत हुनुहुन्छ । उहाँहरुले संविधानको अधिकारलाई प्रयोग गर्नुभएको छ । यसमा खासै प्रतिक्रिया दिनुपर्ने केही छैन । लोकतन्त्रको सुन्दर पक्ष भनेकै आफूलाई मन लागेको ठाउँमा चुन्ने, चुनिने अधिकार हो ।

कहिलेकाहीँ बिना कारण, बिना सिद्धान्त पनि कतिपय पात्रहरु पार्टीबाट बाहिरिने, अलग ढंगले बहस गर्ने चलन नेपालको राजनीतिमा छ । यी सबै कुरा भनेका व्यक्तिका स्वविवेकका कुरा हुन् । त्यसैले समग्रमा मेरो प्रतिक्रिया छैन । म यति भन्छु, म जनताको सेवा गर्ने इमानदार सेवक हुँ । पार्टी र आन्दोलनप्रति इमानदार भएर एमालेलाई बहुमत दिलाउन भूमिका खेल्ने कर्तव्य मेरो पनि हो ।

तर सत्ता गठबन्धनमा धेरैवटा पार्टीहरु तपाईंविरुद्ध प्रतिस्पर्धामा छन् नि ?

गठबन्धनमा को को छन् भन्ने कुरा भन्दा ठूलो त जनताले के फैसला गर्छन् भन्ने हो । कुनै गठबन्धन या पार्टीका लागि जनताको जीवन होइन, जनताको जीवनका लागि पार्टी हो, लोकतन्त्र हो । त्यसैले जनताको लागि एमालेले विगतमा जुन किसिमले अहं भूमिका खेलेको छ, अझै बढी क्रियाशील हुनेछ ।

आफ्नो भविष्यका लागि उहाँहरुले एमालेलाई नै छान्नु जरुरी छ । गठबन्धन आफ्नो ठाउँमा होला, तर मुख्य फैसला जनताले गर्ने हो । जनताको इच्छाभन्दा बाहिर लोकतन्त्रमा अर्को कुरा छैन ।

भनेपछि तपाईं आफ्नो विजयप्रति ढुक्क हुनुहुन्छ ?

विगतमा हामीले यहाँ १५ हजार भोटको अन्तरले जितेका थियौं । यसपल्ट कांग्रेस र माओवादीका उम्मेदवार उठ्नुभएकै छैन । ती दलहरुमा आस्था राख्दै आएका दाजुभाइ दिदीबहिनीले समेत मलाई आफ्नो प्रतिनिधि मानेर सूर्यमा मत दिनुहुने छ । जिल्लाका बाँकी काम गर्ने जिम्मेवारी मलाई प्रदान गर्नुहुन्छ । किनभने म जनताको सेवक हुँ । मैले जनतालाई आशा जगाएको छु ।

चुनावपछिको परिदृश्य कस्तो होला ?

जबसम्म देशमा राजनीतिक स्थायित्व, सुशासन बहाली, भ्रष्टाचार नियन्त्रण हुँदैन, तबसम्म जनताको जीवनलाई समृद्ध बनाउने प्रष्ट सोच र दृष्टिकोण अनुसार देश चल्न पाउँदैन । यस्तो अवस्था दोहोरिँदासम्म जनताले पीडा भोगिराख्नुपर्छ । यो मर्मलाई सबैभन्दा बढी नेकपा एमालेले बुझेको छ ।

त्यसैले देशमा परिवर्तन र सुशासनका लागि एमालेको बहुमत आउन जरुरी छ । म आफू उम्मेदवार रहेको क्षेत्रमात्रै होइन, सिंगै देशका जनताले एमालेलाई अनुमोदन गर्नुहुनेछ । हाम्रा पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी ओलीको नेतृत्वमा एमालेले बहुमतको सरकार निर्माण गर्ने छ । त्यो सरकारले मात्रै दुनियाँको मानचित्रमा हेर्दा प्रष्टै देखिने गरी नेपाललाई सभ्य र विकसित देशको पहिचान बनाउन काम गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?