News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीमा उद्योग तथा व्यवसाय दर्ता गर्नेभन्दा बन्द गर्नेको संख्या पछिल्ला पाँच आर्थिक वर्षयता निरन्तर बढ्दो क्रममा रहेको छ ।
- गत आर्थिक वर्ष २०८२/०८३ मा जिल्लामा कुल २८४ वटा उद्योग–व्यवसाय बन्द हुँदा ५७ वटा मात्र नयाँ दर्ता भएका छन् ।
- घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजीव अर्यालका अनुसार स्थानीय तहबाटै दर्ताको व्यवस्था र ऋण चुक्ता भएपछि फर्म बन्द गर्ने प्रवृत्तिले यस्तो अवस्था आएको हो ।
२२ साउन, गुल्मी । गुल्मीमा उद्योग तथा व्यवसाय दर्ता गर्नेभन्दा बन्द गर्नेको संख्या बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको पछिल्लो पाँच आर्थिक वर्षको तथ्यांकले जिल्लामा साना उद्योग तथा वाणिज्य फर्म सञ्चालनभन्दा बन्द गर्ने प्रवृत्ति बढ्दो रहेको देखाएको हो ।
गत आर्थिक वर्ष २०८२/०८३ मा उद्योगतर्फ १३९ र वाणिज्यतर्फ १४५ गरी २८४ वटा उद्योग–व्यवसाय बन्द भएका छन् । सोही अवधिमा ५७ वटा मात्र नयाँ उद्योग–व्यवसाय दर्ता भएका छन् ।
यस अवधिमा ८९९ वटा उद्योग–व्यवसाय नवीकरण भएका छन् । कार्यालयले १३ लाख ९ हजार १७५ रुपैयाँ राजस्व संकलन गरेको उद्यम विकास सहजकर्ता त्रिविक्रम ज्ञवालीले जानकारी दिए ।
त्यसअघि आर्थिक वर्ष २०८१/०८२ मा उद्योगतर्फ २६३ र वाणिज्यतर्फ ३२० गरी ५८३ वटा उद्योग–व्यवसाय बन्द भएका थिए । सोही वर्ष उद्योगतर्फ ५८ र वाणिज्यतर्फ ५२ गरी ११० वटा नयाँ उद्योग–व्यवसाय दर्ता भएका थिए ।
उक्त वर्ष १ हजार १४० वटा उद्योग–व्यवसाय नवीकरण भएका थिए भने ४७ लाख ७४ हजार २३५ रुपैयाँ राजस्व संकलन भएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ मा उत्पादनमूलक ९, कृषि तथा वनजन्य ५०, पर्यटन ६५ र सेवामूलक ३८ गरी १५९ वटा उद्योग बन्द भएका थिए। वाणिज्यतर्फ १८७ वटा निजी फर्म लगत कट्टा भएका थिए ।
सोही वर्ष उद्योगतर्फ ७३ र वाणिज्यतर्फ ६३ गरी १३६ वटा नयाँ उद्योग–व्यवसाय दर्ता भएका थिए । उद्योगतर्फ २९५ र वाणिज्यतर्फ ४२९ वटा नवीकरण भएका थिए । उक्त अवधिमा २४ लाख ७६ हजार ५ रुपैयाँ राजस्व संकलन भएको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालका अनुसार पाँच लाख रुपैयाँसम्मको पुँजी भएका व्यवसाय स्थानीय तहबाटै दर्ता गर्न सकिने व्यवस्था लागू भएपछि कार्यालयमा नयाँ दर्ता घटेको हो ।
उनका अनुसार कतिपयले ऋण लिनका लागि मात्रै व्यवसाय दर्ता गर्ने र ऋण चुक्ता भएपछि फर्म बन्द गर्ने गरेका छन् । व्यवसायबाट अपेक्षित प्रतिफल नआउनु, युवापुस्ता उद्यमप्रति आकर्षित नहुनु तथा वृद्ध अभिभावकले व्यवसाय निरन्तर सञ्चालन गर्न नसक्दा पनि लगत कट्टा गर्ने प्रवृत्ति बढेको छ ।
उनले सञ्चालनमा रहेका उद्योग–व्यवसायसमेत बन्द हुने क्रम पछिल्ला वर्षहरूमा बढ्दो देखिएको बताए ।
प्रतिक्रिया 4