+
+
Shares

गुल्मीमा ग्याँस अभाव भएपछि अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते ८:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको तम्घास बजारमा खाना पकाउने एलपी ग्याँसको चरम अभाव देखिएपछि घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा संयुक्त बजार अनुगमन गरिएको छ ।
  • अनुगमनका क्रममा तम्घासका ३९ विक्रेतासँग कुल क्षमताको तुलनामा निकै न्यून अर्थात् जम्मा २५८ वटा मात्रै भरिएका सिलिन्डर मौज्दात रहेको पाइएको छ ।
  • बजारमा कृत्रिम अभाव नभई माग अनुसार आपूर्ति सहज हुन नसक्दा समस्या देखिएको प्रमुख राजीव अर्यालले बताएका छन् ।

१९ साउन, गुल्मी । तम्घास बजारमा पछिल्लो समय खाना पकाउने एलपी ग्याँसको अभाव देखिन थालेपछि बजार अनुगमनलाई तीव्र बनाएका छन् ।

उपभोक्ताले ग्याँस सहज रूपमा नपाएको गुनासो बढ्न थालेपछि घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको नेतृत्वमा संयुक्त बजार अनुगमन गरिएको हो ।

घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स तथा ग्याँस बिक्रेता संघ लगायतका सरोकारवाला निकायको सहभागितामा तम्घास बजारका विभिन्न ग्याँस डिलर तथा थोक-खुद्रा विक्रेताकहाँ अनुगमन गरिएको हो ।

खाना पकाउने एलपी ग्याँसको आपूर्ति व्यवस्थापनको अवस्था बुझ्ने, मौज्दातको विवरण संकलन गर्ने तथा कृत्रिम अभाव सिर्जना भएको वा नभएको विषयमा जानकारी लिन अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले बताए ।

संयुक्त अनुगमनका क्रममा तम्घास बजारका ३९ वटा थोक तथा खुद्रा ग्याँस विक्रेताको निरीक्षण गरिएको थियो । अनुगमनबाट बजारमा एलपी ग्याँसको माग अत्यधिक रहे पनि आपूर्ति सहज हुन नसकेको पाइएको छ ।

जसका कारण बजारमा ग्याँसको अभाव देखिएको अनुगमन टोलीले जनाएको छ । अनुगमनका क्रममा संकलन गरिएको विवरणअनुसार तम्घास बजारमा कुल २ हजार ८४६ वटा एलपी ग्याँस सिलिन्डर राख्ने क्षमता रहेको छ ।

तर हाल विक्रेतासँग जम्मा २५८ वटा मात्रै भरिएका ग्यास सिलिन्डर मौज्दात रहेको पाइएको छ । त्यसैगरी २ हजार ५८८ वटा सिलिन्डर खाली अवस्थामा रहेको तथ्यांकले देखाएको छ ।

यो अवस्थाले बजारमा ग्याँसको आपूर्ति मागको तुलनामा निकै न्यून रहेको स्पष्ट भएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख अर्यालले बजारमा ग्याँसको माग अत्यधिक बढेका कारण हाल आपूर्ति सहज हुन नसकेको बताए ।

उनले बजारमा देखिएको अभावलाई मध्यनजर गर्दै नियमित अनुगमनलाई निरन्तरता दिइने र आपूर्ति व्यवस्थापनलाई सहज बनाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए । बजारमा हाल कृत्रिम अभाव सिर्जना भएको भन्दा पनि पर्याप्त आपूर्ति हुन नसक्दा समस्या देखिएको हो ।

उपभोक्तालाई अनावश्यक रूपमा ग्याँस सञ्चिति नगर्न तथा आवश्यकताअनुसार मात्रै खरिद गर्न आग्रह गर्दै उनले ग्याँसको वितरणलाई व्यवस्थित बनाउन सरोकारवाला सबै पक्ष सक्रिय रहेको बताए । बजारमा देखिएको ग्याँस अभावका कारण सर्वसाधारण उपभोक्ता दैनिक खाना पकाउनसमेत समस्या भोग्न बाध्य भएका छन् ।

स्थानीयले आपूर्ति प्रणालीलाई छिटो सहज बनाउन सम्बन्धित निकायसँग माग गरेका छन् । संयुक्त अनुगमन टोलीले पनि आगामी दिनमा ग्याँसको आपूर्ति अवस्था नियमित रूपमा अनुगमन गर्दै उपभोक्ताको हित संरक्षणमा आवश्यक पहल जारी राख्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?