+
+

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी हुँदैछ क्यालिब्रेसन

विकास रोकामगर विकास रोकामगर
२०७९ मंसिर २ गते १९:४२

२ मंसिर, पोखरा । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार गतेदेखि क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडान हुँदैछ । मंसिर ५ गतेदेखि( सोमबार) १२ मंसिरसम्म हुने क्यालिब्रेसन उडानका लागि अहिले अन्तिम तयारी भइरहेको छ ।

क्यालिब्रेसन उडानका लागि विमानस्थलको एप्रोन, रनवेलगायत प्राविधिक र भौतिक पक्षमा व्यवस्थापनको काम भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । पोखरा विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार विमानस्थलको ९८.५ प्रतिशत भौतिक काम पुरा भइसकेको छ । यान्त्रिक परीक्षण उडानका लागि एरो थाई कम्पनीको जहाज नेपाल आइसकेको छ ।

शनिबारसम्म विमान पोखरा आइपुग्ने र त्यसलाई पोखरा विमानस्थलमा राखिने आयोजनाले जनाएको छ । आयोजना प्रमुख मुनकर्मीले अहिले आफूहरु यान्त्रिक परीक्षणका लागि तयारी अन्तिम गरिरहेको रहेको जानकारी दिए ।

‘क्यालिब्रेसन फ्लाइटका लागि आवश्यक व्यवस्थापन गरिराखेका छौं,’ उनले भने, ‘कम्युनिकेसन सर्भिलेन्स, नेभिगेसन इक्वेप्मेन्ट लगायत परीक्षण गर्ने हो, अहिले जुनजुन इक्वेप्मेन्ट इन्स्टल भएको छ, त्यसलाई सम्बन्धित विज्ञले हेर्ने काम भइराखेको छ ।’

अहिले एयर ट्राफिक कन्ट्रोलदेखि अन्य प्राविधिक पक्षको व्यवस्थापन गर्ने काम भइरहेको मुनकर्मीले जानकारी दिए । उनका अनुसार जनशक्तिबाट साइट भिजिट र कमीकमजोरी सच्याउने काम भइरहेको छ ।

क्यालिब्रेसन भइसकेपछि विमानस्थल उडानका लागि तयार भए–नभएको प्र्रमाणित हुन्छ । क्यालिब्रेसन उडान सकिएपछि एरोथाई कम्पनीले दिने प्रतिवेदनका आधारमा यो विमानस्थलमा वायुसेवा कम्पनीहरुले उडान/अवतरण गर्न सक्छन् ।

मैदानभरी गिद्धैगिद्ध !

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि ‘बर्ड हाजार्ड (चराजन्य गतिविधि)’ मुख्य चुनौती रहेको छ । विमानस्थल नजिकै पोखरा महानगरको ल्यान्डफिल साइट छ । त्यहाँ आउने चराका कारण उडानमा समस्या पर्ने चेतावनी आयोजनाले दिँदै आएको छ ।

तर, उडान परीक्षणको पूर्वसन्ध्यामा समेत विमानस्थलबाट मुख्य समस्याका रुपमा लिइएको चरा उडान समाधान हुन सकेको छैन । शुक्रबार क्यालिब्रेसन उडान हुने स्थल पुग्दा आकाशैभरि दजनौं गिद्ध उडिरहेका थिए । कहिले विमानस्थलको रनवे त कहिले एप्रोनसम्म गिद्ध आउजाउ गरिरहेका थिए ।

पोखरा महानगरले १४ नम्बर वडाको सेती किनारमा फोहोर व्यवस्थापन गर्दै आएको छ । जुन विमानस्थलदेखि करीब २ किलोमिटर दूरीमा छ । ल्यान्डफिल साइटमा आउने चराका कारण हवाइ उडान प्रभावित हुने देखिएको हो ।

ल्यान्डफिल व्यवस्थापन गर्ने जिम्मेवारी पोखरा महानगरको हो । ल्यान्डफिल साइटको विकल्प खोज्न आयोजनाले सुरुआतबाटै आग्रह गर्दै आइरहेको थियो । तर, पटकपटक पत्राचार गर्दा पनि सम्बोधन नभएको आयोजना प्रमुख मुनकर्मी सुनाउँछन् ।

‘म आएको नै ५ वर्ष भयो । म आउनुभन्दा पनि पहिल्यैबाट पनि महानगरलाई आग्रह गरेको हो,’ आयोजना प्रमुख मुनकर्मीले भने, ‘तर, ढेड वर्षअगाडिबाट मात्रै महानगरले जग्गा खोज्न थालेको हो । कुनैकुनैमा हामी पनि सहभागी भयौं ।’

अन्तिम समयसम्म पनि पोखरा महानगरले ल्यान्डफिल साइटको विकल्प नखोजेपछि आयोजनाले मंसिर ५ गतेबाट त्यहाँ फोहोर नफालिदिन आफैं अनुरोध गरेको छ । मुनकर्मीले परीक्षण उडानका क्रममा चराका गतिविधि घटाउनका लागि त्यहाँ फोहार नफालिदिन आफूहरुले महानगरलाई अनुरोध मुनकर्मीले सुनाए ।

‘महानगरलाई ५ गतेबाट फोहोर नफाल्न अनुरोध गरेका छौं । उहाँहरुले अस्थायी रुपमा व्यवस्था गर्छौं भनेर भन्नुभा’छ,’ मुनकर्मीले भने, ‘उहाँहरुले ५ गतेसम्म सकिँदैन । केही दिन म्याद दिन अनुरोध गर्नुभा’छ । डिसेम्बरदेखि फोहोर फाल्दैनौं भन्नुभा’छ ।’

उनले चरा उडान कमी गर्न ५ गतेपछि ल्यान्डफिल साइट छोप्ने गरी महानगरसँग समन्वय भइराखेको सुनाए ।

चराविद्हरुका अनुसार चराचुरुंगीले आफ्नो बासस्थान सार्न ६ महिनाभन्दा बढी समय लगाउने बताउँदै आएका छन् । आयोजनाले विमानस्थलमा आउने चरा भगाउन एउटा गाडी तयारी अवस्थामा राखिएको र मेसिन तथा प्रविधिको प्रयोग गरिने जानकारी दिएको छ ।

त्यस्तै, आयोजनाले देखाएको अर्को समस्या रिट्ठेपानी डाँडा कटान र इन्धन डिपो निर्माण हो । जसमा रिट्ठेपानी डाँडा कटान क्यालिब्रेसनका लागि तोकिएको १४ मिटर सकिइसकेको मुनकर्मीले सुनाए । ‘बुधबार नै १४ मिटर सकियो । अहिले करिब १६ मिटर डाँडा कटान भइसकेको छ,’ उनले भने ।

विमानस्थलमा इन्धन डिपो निर्माण कार्य पनि अगाडि बढ्न सकेको छैन । डिपो बनाउन शुक्रबारमात्रै रेलिगेयर र समानान्तर निर्माण कम्पनीले ठेक्का पाएका छन् । मुनकर्मीले भने, ‘डिपोको पूर्वाधार नबन्दासम्म पोखरा विमानस्थलबाटै चलाउने योजना छ । यहाँ पनि २७ हजार लिटरका २ वटा ट्यांकर राखेर फ्युल सप्लाई गर्ने भनेका छौं ।’

ल्यान्डफिल साइट अझै टुंगो लागेन

पोखरा महानगरका मेयर धनराज आचार्यले ल्यान्डफिल साइटको विकल्प अझै नभेटिएको बताए । उनले विभिन्न ७ ठाउँमा अध्ययन भइराखेको भए पनि टुंगो नलागिसकेको सुनाए ।

‘उहाँ (विमानस्थल आयोजना)हरुलाई हामीले एउटा डेट दिएका छौं । त्यो डेटसम्म हामी अन्त व्यवस्थापन गर्छौं । क्यालिब्रेसन गर्न ल्यान्डफिल नसरेपनि हुन्छ,’ उनले भने, ‘हामी मिलेर नै काम गर्दैछौं । ७ ठाउँको हामीलाई रिपोर्ट छ । त्यसमा जुन उपयुक्त हुन्छ, त्यसैमा हुन्छ ।’

चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले सन् २०१७ नोभेम्बरदेखि विमानस्थल निर्माण गरिरहेको छ । सन् ०२१ जुनमै निर्माण सकिनुपर्ने भए पनि एक वर्ष म्याद थपिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले अंग्रेजी नयाँ वर्ष अर्थात १ जनवरी २०२३ बाट व्यवसायिक उडान सुरु गर्ने घोषणा गरेको छ ।

हेर्नुहोस् थप तस्वीरहरु : 

 

 

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?