+
+
विश्वकप म्याच प्रिभ्यू :

इक्वेडरलाई हराएर कीर्तिमान बनाउने लक्ष्यमा कतार

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १३:३४

४ मंसिर, काठमाडौं । अत्यधिक विवादास्पद फिफा विश्वकप आइतबार साँझ कतारको अल बायेट रंगशालामा सुरु हुँदैछ । समूह एमा रहेका आयोजक कतार र दक्षिण अमेरिकी टोली इक्वेडर उदघाटन खेलमा आमने सामने हुँदैछन् । याे खेल नेपाली समयअनुसार राती पाैने १० बजेदेखि सुरू हुनेछ । त्यसअघि दुई घण्टाकाे उदघाटन समाराेह हुनेछ ।

स्पेनिस प्रशिक्षक फेलिक्स सान्चेस बास प्रशिक्षित कतार पहिलोपल्ट सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । इक्वेडर भने ८ वर्षपछि विश्वकपमा फर्किएको हो ।

तत्कालीन फिफा अध्यक्ष सेप ब्लाटरबाटै कतारलाई विश्वकप आयोजना अधिकार दिनु गल्ती भएको स्वीकारोक्ति आएको एक साता पछि प्रतिष्ठित प्रतियोगिताको नवीन संस्करणको थालनी हुँदैछ । पहिलोपल्ट जाडो मौसममा हुन लागेको विश्वकपका लागि संसारभरका घरेलु लिग स्थगित गरिएको छ र उत्कृष्ट खेलाडीहरु दोहामा जम्मा भएका छन् ।

सन् २०१० मा कतारले सन् २०२२ को फिफा विश्वकप आयोजना अधिकार पाएयता धेरै प्रकारका विवादका कारण बदनाम भएको छ । तर, मैदानमा इतिहास कोर्न उत्सुक कतारी टिम र प्रशिक्षक सान्चेस उत्कृष्ट प्रदर्शन गरी समूह चरणबाटै बाहिरिने जोखिम टार्न प्रयासरत छन् ।

इक्वेडरका अलावा अफ्रिकी च्याम्पियन सेनेगल र सन् २०१० को फाइनलिष्ट नेदरल्याण्ड्सको सामना गर्नु फिफा वरीयतामा ५०औं स्थानमा रहेको कतारका लागि फलामको चिउरा चपाएसरह हुनेछ । तर, अक्टोबरयता खेलेका चार मैत्रीपूर्ण खेलमा शतप्रतिशत जितका साथ उनीहरु उत्साहित हुनेछन् ।

बतारले ग्वाटेमाला, होण्डुरस, पानामा र हालै अल्वानियालाई पराजित गरेको थियो । अल्बानियाविरुद्ध स्टार स्ट्राइकर अल्मोज अलीले पेनाल्टीमा गोल गरेका थिए । कतार टिम विश्वकपको डेब्यू खेलमै जित हासिल गर्ने लक्ष्यमा छ । जसरी सेनेगलले विश्वकपको डेब्यूमै सन् २००२ तत्कालीन साविक विजेता फ्रान्सलाई स्तब्ध पारेको थियो ।

अर्कोतर्फ सान्चेसको टिम समूह चरणबाटै बाहिरिने आयोजक देशको खराव कीर्तिमान जोगाउन प्रयासरत हुनेछ । यसअघि सन् २०१० को विश्वकपमा दक्षिण अफ्रिका यस्तै दुर्भाग्यबाट गुज्रिएको थियो । तर, पहिलो खेलमा जितले मात्र पनि कतारले इतिहास बनाउनेछ । विश्वकपको उद्घाटनमा जित निकाल्ने कतार पहिलो एसियाली देश बन्नेछ ।

विश्वकप सुरु हुनुभन्दा अगाडि नै विवादमा देखिएको कतार एकमात्र देश होइन । किनभने छनोट प्रतियोगितामा एक अयोग्य खेलाडीलाई मैदानमा उतारेको भन्दै इक्वेडर प्रतियोगिताबाट निश्काषित हुने खतराको सामना गर्नुपरेको थियो ।

यद्यपी यसले केहि फरक पारेन र यो देश सन् २०१८ मा स्थान बनाउन चुकेसँगै प्रतिष्ठित प्रतियोगितामा फर्कने तयारी गरिरहेको छ । विश्वकपमा लोभलाग्दो प्रदर्शन गर्ने उसको पहिचान भने छैन ।

इक्वेडर यसअघि सन् २००२, २००६ र २०१४ मा विश्वकपको तीन संस्करण खेलेको छ । तर, एकपल्ट मात्र समूह चरण पार गरेको थियो । सन् २००६ को संस्करणमा उसको यात्रा अन्तिम १६ मा समाप्त भयो ।

गुस्ताफो अल्फारो प्रशिक्षित इक्वेडरले अभ्यास खेलसहित जुन महिनायता खेलेका ६ खेलमा गोल खाएको छैन । तीमध्ये चार खेल गोलरहित बराबरीमा सकिएको थियो । गत शतिबार इक्वेडर र इराकले गोलरहित बराबरी खेलेका थिए । कतार र इक्वेडरबीच अहिलेसम्म भएका तीन खेलमा एक जित, एक बराबरी र एक हारको नतिजा निकालेको छ ।

अल्बानियाविरुद्धको खेलमा कतारका स्ट्राइकर अहमद अलाइदिनलाई २६ मिनेटमै सब्स्टिच्युड गरिएको थियो । उनी चोटग्रस्त भएको अनुमान छ । कतार मेडिकल टिम उद्घाटन खेलका लागि उनलाई तयार पार्न व्यस्त छ ।

देशका लागि कीर्तिमानी ४२ गोल गरेका अल्मोज अलीले अग्रपंक्तिमा अक्रम अफिफसँगै दुई जनाको बलियो साथ पाउँदै आएका थिए । अहमद खेल्न नसकेको अवस्थामा कतारले सम्भवतः रक्षात्मक रणनीति अपनाउनेछ ।

पाँच सदस्यीय रक्षापंक्तिको १३० अन्तर्राष्ट्रिय क्याप जितेका अब्देलकरिम हसनले नेतृत्व गर्नेछन् । मिडफिल्डर कप्तान हसन अल हेदोसले १७०औं क्याम जित्नेछन् । उनले अली असदको स्थान लिने अपेक्षा गरिएको छ ।

अर्कोतिर इक्वेडर अन्तिम वार्मअप खेलमा पहिलो हाफमै चोटग्रस्त बनेपछि मैदान छाडेका बेरोन क्यास्टिलो फिट हुने प्रतीक्षामा छ । २४ वर्षीय यी खेलाडीमाथि नै अनधिकृतको ट्याग लागेको थियो । यसो हुँदा एन्जेलो पेसियाडो वा रोवर्ट अर्बोलेडाले इक्वेडरको राइट ब्याकको जिम्मेबारी पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?