+
+

सप्तरी २ : उपेन्द्रलाई सीकेको कडा चुनौती

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ मंसिर ४ गते २३:५०

४ मंसिर, राजविराज । सप्तरी क्षेत्र २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई कडा चुनौती दिने देखिएको छ ।

आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाका निर्वाचनमा अनलाइनखबरले सप्तरी २ का केही मतदान केन्द्रमा पुगेर मतदातासँग गरेको कुराकानीका आधारमा यादव र राउतबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको हो । सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुर तेश्रो नम्बरमा देखिएका छन् ।

अनलाइनखबरले राजविराज नगरपालिकाको तीन र छिन्नमस्ता नगरपालिकाको दुई गरी पाँच वटा मतदानस्थलमा मतदाता भेटेर कुराकानी गरेको थियो । जसमा सत्ता गठबन्धनकै दलका कार्यकर्ताले पनि नयाँ अनुहार भन्द राउतलाई मत हालेको बताए ।

नाम उल्लेख नगर्ने शर्तमा ती कार्यकर्ताले भने, ‘नयाँ अनुहार र मधेशको लागि नयाँ नेता रहेकाले राउतलाई मत दिएँ ।’

पाँचदलीय गठबन्धन अधिकांश मत राउतलाई गएको देखिन्छ भने केही मत उपेन्द्रमा गएको छ । यादव र मुस्लिम समुदायका व्यक्तिहरु अधिकांशले उपेन्द्रलाई मत हालेको बताएका छन् । उनीहरुको कुराले यादव र मुस्लिम बाहुल्य ठाउँमा उपेन्द्रलाई राम्रो मत गएको हुन सक्ने सम्भावना छ । जसले राउत र उपेन्द्रमध्ये को जित्ने अनुमान लगाउन भने गाह्रो छ ।

सप्तरी २ का यादव समुदायको बाहुल्य भएको क्षेत्रमा भने उपेन्द्रलाई नै मतदान भएको छ । ‘यहाँ यादव समुदायको बाहुल्य छ । ७५ प्रतिशत बढी मत डरले पनि उपेन्द्रलाई गएको छ’, यादव बहुल क्षेत्रका एक मतदाताले भने ।

शनिबार साँझ हाटी गाउँमा जसपा र लोसपा कार्यकर्ताबीच झडप भएको थियो । लोसपा कार्यकर्ता रवीन्द्र मण्डल, उनकी श्रीमती उषा मण्डल र सुकदेव मण्डल घाइते भएका छन् ।

रवीन्द्रको बा २५ प ७०९२ नम्बरको मोटरसाइकलमा आगजनीसमेत भएको छ । यो घटनाले हाटीमा सुरक्षाकर्मी व्यापक रुपमा परिचालन गरिएको थियो । त्यो झडपले उपेन्द्रलाई केही मत बढेको छ । ‘हिजो विवाद र कुटाकुट हुँदा मान्छे डराएर उपेन्द्रलाई नै बढीले मत हालेका छन्’, हाटीका एक मतदाताले भने, ‘मैले हर्न (सीके राउतको चुनाव चिह्न) छापमा दिएको छु । तर सबैलाई छातामा दिएको भनिरहेको छु ।’

युवाहरुको झुकाव पनि सीके राउततर्फ छ । केही मतदान केन्द्रमा रहेका युवाहरुले सिके राउतलाई जिताउने मनस्थितिमा रहेको देखियो ।

सप्तरीमा ६२ प्रतिशत मात्र मतदान भएको जिल्ला निर्वाचन अधिकृत रमेश कुमार जोशीले बताए ।

आइतबार विहानदेखि १० बजेसम्म मतदात गरिसकेका ५० जना मतदातासँग यस विषयमा बुझ्न खोजेको थियो । जसमा अधिकांशले आफूले दिएको मत खुलाउन चाहेनन् । १५ जनामध्ये सबभन्दा बढी अर्थात् ९ जनाले डा. सीके राउतको हर्न चुनाव चिह्नमा मत खसालेको बताए भने ५ जनाले छाता चुनाव चिह्नमा उपेन्द्र र सत्ता गठबन्धनका उम्मेदवार जयप्रकाशलाई मात्र १ जनाले मत हालेको बताए । मतदाताहरु सबै विभिन्न उमेर समूह र लिंगका थिए ।

दोस्रो बुथमा ४ जनाले उपेन्द्र र एकजनाले मात्र राउतलाई मत हालेको खुलाए । त्यहाँ यादव समुदायको बर्चश्व भएको कारण ७५ प्रतिशत बढी मत उपेन्द्रलाई जाने स्थानीय मतदाताको भनाइ थियो ।

तेस्रो बुथमा हामीले ३० भन्दा बढी मतदातासँग कुरा गरेका थियौं । यसमध्ये १३ जनाले मात्र आफूले मत हाल्ने चुनाव चिह्न भन्न चाहे । जसमा ८ जनाले राउत, ४ जना उपेन्द्र र १ जना मात्र जयप्रकाशलाई मत हालेको बताए । त्यसमध्ये राउतलाई मत हाल्ने सत्ता गठबन्धनका दुईजना थिए ।

युवाहरुको झुकाव भने सीके राउततर्फ छ । चौथो मतदान स्थलमा रहेकामध्ये प्रायःले यहाँको ७५ प्रतिशत मत सिंगो उपेन्द्रको रहेको सुनाए । यद्यपि ९ जनाले मात्र अफू कहाँ मत हाले भन्ने खुलाए । ६ जना उपेन्द्र, २ जना जयप्रकाश र १ जनाले मात्र राउतलाई मत हालेको बताए ।

पाँचौ मतदानस्थलमा मिश्रित समुदाय छन् । त्यहाँ २५ जना बढी मतदातासँग कुराकानी हुँदा १० जनाले मत हालेको खुलाए । जसमा ७ जना राउत, २ जना उपेन्द्र र एकजनाले मात्र जयप्रकाशलाई मत हालेको बताए ।

त्यहाँ उपस्थित मतदाताहरुले अधिकांशले पहिलो मत राउत, दोस्रो र तेस्रोमा क्रमशः उपेन्द्र र जयप्रकाशको मत आउने दावी गरे । तर ६० प्रतिशत मत राउतकै आउने उनीहरुको भनाइ थियो ।

समग्रमा विभिन्न मतदानस्थलका ५३ जना मतदाताले खुलाएको मतदान मत विश्लेषण अनुसार २६ जना राउतलाई नै मत हालेका रहेछन् । यस मत सर्वेक्षण अनुसार राउत पहिलो नम्बरमा देखिन्छन् भने थोरै मात्र पछाडि उपेन्द्र यादव देखिन्छन् । उनलाई २२ जनाले मत हालेका रहेछन् भने तेस्रो नम्बरमा जयप्रकाश देखिन्छन् । उनलाई ५३ जनामध्ये ५ जनाले मात्र मत हालेका रहेछन् ।

यस सर्वेक्षणमा पाँचदलीय गठबन्धन अधिकांश मत राउतलाई गएको देखिन्छ भने केही मत उपेन्द्रमा पनि गएको चर्चा छ । जसमा यादव र मुस्लिम समुदायका व्यक्तिहरु अधिकांश उपेन्द्रलाई मत हालेको चुनावी मैदानमा मान्छे भेटिए ।

उनीहरुको कुराले यादव र मुस्लिम बाहुल्य ठाउँमा उपेन्द्रलाई राम्रो मत गएको हुन सक्ने सम्भावना छ । जसले राउत र उपेन्द्र मध्ये को जित्ने अनुमान लगाउन भने गाह्रो छ ।
सप्तरीमा ६२ प्रतिशत मात्र मतदान भएको जिल्ला निर्वाचन अधिकृत रमेशकुमार जोशीले बताए ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?