+
+

‘घन्टी’को पक्षमा किन जनलहर देखियो ? उत्तमबाबु श्रेष्ठको तथ्यांक विश्लेषण (भिडियो)

यसपल्टको समग्र मतप्रवृत्ति हेर्दा नयाँ मतदाताहरुको रुझान नयाँ दलतर्फ देखिन्छ । ललितपुर–३ को मतप्रवृत्ति विश्लेषण गर्दा १८ देखि ३५ वर्ष उमेर समूहका नयाँ मतदाताहरुले नयाँ उम्मेदवार, नयाँ दललाई रोजेको देखिन्छ । प्रौढ जनसंख्याले एमालेमा भोट हालेको देखिन्छ । घन्टी चिह्न लिएर लडेकी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार तोसिमा कार्कीले पाएको मत यिनै नयाँ मतदाताहरुको झुकावको परिणाम हो ।

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ
२०७९ मंसिर ५ गते १०:४७

अनलाइनखबर र हाम्रो जीआईआईएस (ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिजको सहकार्यमा प्रतिनिधिसभातर्फ चार निर्वाचन क्षेत्र, प्रदेश सभातर्फ एक निर्वाचन क्षेत्रमा एक्जिट पोल गरेका थियौं । त्यसमा मतदाताको व्यक्तिगत परिचय नखुलाई अनुसन्धान गरिएको थियो ।

त्यस अन्तर्गत अनलाइनखबरका पत्रकार साथीहरुले काठमाडौं ४ र ५, ललितपुर ३, चितवन २ का भित्री शहरका घना बस्ती, सहर छेउका बस्ती र ग्रामीण क्षेत्र गरी तीन किसिमका ठाउँमा सूचना संकलन गर्नुभयो । प्रदेशसभातर्फ कास्की–१(१) मा यस्तै सर्वेक्षण भएको छ । यी क्षेत्रहरुभित्र तीन किसिमका बस्तीहरुका बुथहरुमा मतदान गरेर फर्केका ९०–९० जना गरी २ सय ७० जना मतदातासँग हामीले गरेको सर्वेक्षणले देखाएको आँकडा अनलाइनखबरमा प्रकाशित भइसकेको छ ।

छनौट गरिएका प्रत्येक निर्वाचन क्षेत्रमा मतदाता संख्या घटीमा ७० हजारदेखि बढीमा १ लाख २४ हजार रहेकाले उक्त संख्याको ९० प्रतिशत ‘कन्फिडेन्स इन्टर्भल’ मा ५ प्रतिशत ‘इरर मार्जिन’ राख्दा निस्कने ‘स्याम्पल’ संख्या २७० आयो । जुन यस पोलको ‘स्याम्पल’ संख्या हो ।

निर्वाचन क्षेत्रहरुमा धेरै बुथ हुने तर सबै वुथमा पुग्न स्रोतको अभाव हुने भएकोले प्रति निर्वाचन क्षेत्रमा ३ बुथ छनोट गरी प्रति बुथ ९० जनासँग प्रश्नावली सोधियो । सर्वेक्षणलाई प्रतिनिधिमूलक बनाउन मतदानका लागि बिहान, दिउँसो र अबेर आउने मतदाताहरुसँग प्रश्नहरु सोधिएको थियो । मतदानस्थलमा मत दिएर आउने प्रत्येक ११ जना पछिका नयाँ मतदातालाई प्रश्न गरिएको थियो ।

एक्जिट पोल सर्वेक्षणका अतिरिक्त सोही निर्वाचन क्षेत्रमा हाम्रो सम्पादकीय टोलीसहित राजनीतिक संवाददाताहरुलाई परिचालित गरेका थियौं, जसले आम सर्वसाधारणको मनोभाव बुझ्न अझै सहज भयो ।

मतदाताहरुको पृष्ठभूमि, व्यक्तिगत रोजाइ, आयआर्जनलगायतमा केन्द्रित भएर प्रश्नहरु सोधिएको थियो । सकेसम्म वैज्ञानिक सर्वेक्षण होस्, प्रतिनिधिमूलक होस् भनेर हामीले कोशिस गरेका हौं ।

यसपल्टको समग्र मतप्रवृत्ति हेर्दा नयाँ मतदाताहरुको रुझान नयाँ दलतर्फ देखिन्छ । ललितपुर–३ को मतप्रवृत्ति विश्लेषण गर्दा १८ देखि ३५ वर्ष उमेर समूहका नयाँ मतदाताहरुले नयाँ उम्मेदवार, नयाँ दललाई रोजेको देखिन्छ । प्रौढ जनसंख्याले एमालेमा भोट हालेको देखिन्छ । घन्टी चिह्न लिएर लडेकी राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार तोसिमा कार्कीले पाएको मत यिनै नयाँ मतदाताहरुको झुकावको परिणाम हो ।

ललितपुर ३ मा घन्टीलाइ भाेट दिएँ भन्नेहरू मध्ये धेरै युवा, व्यापारी , उच्च आय भएका, शैक्षिक याेग्यता बढी भएका थिए । उनीहरूमध्ये बहुसंख्यकले परिवारकाे एक सदस्य विदेशमा भएकाे बताए । एमालेलाइ मत दिए भन्नेहरू किसान, मध्यम आय भएका, जागिरे बढी देखिए ।

काठमाडौं ४ मा ३६ देखि ५५ वर्ष उमेर समूहमा गगन थापाको लोकप्रियता देखियो । काठमाडौं ५ मा प्रदीप पौडेल र क्षेत्र ४ मा थापा आफ्नो उमेरसमूहमा बढी लोकप्रिय देखिएका छन् ।

यस्तै चितवन २ मा रवि लामिछानेले भारी मतले जित्ने सम्भावना एक्जिट पोलको नतिजाले देखाउँछ । त्यहाँ पनि विदेश गएका सदस्यका परिवारको मत निकै उल्लेख्य देखिन्छ । रविले भ्रष्टाचारमुक्त समाज बनाउने भनी गरेको बाचामा धेरैले विश्वास गरेका छन् । विकासभन्दा पनि सुशासन कति महत्वपूर्ण भइसक्यो भन्ने यस एक्जिट पोलको रिजल्टको सन्देश हो ।

चारवटा पोललाई एकै ठाउँ राखेर हेरियो भने यसभन्दा पहिले कुनै दललाई भोट हालेकाहरुमध्ये एमालेका मतदाताले तुलनात्मक रुपमा मत नबदलेको देखिन्छ । एमाले केही स्थानीय तालमेल बाहेक कुनै पनि गठबन्धनमा नहुनु यसको मूख्य कारण हुन सक्छ ।

गठबन्धनका कारणले कांग्रेसका मतदाताले माओवादीलाई, माओवादीका मतदाताले कांग्रेसलाई भोट हाल्नु परेको छ । यति हुँदाहुँदै भोट ट्रान्सफर हुने अपेक्षामा भने प्रशस्तै चुनौती देखिएको पनि देखिन्छ ।

विदेश गएका सदस्यका परिवारले यो चुनावमा पनि वैकल्पिक उम्मेदवारलाई अनुमोदन गर्न चाहेको देखियो । यसपल्ट त्यो मत घन्टीले पाएको छ । चितवन २ मा रवि लामिछाने उनका प्रतिस्पर्धीभन्दा धेरै अगाडि हुनु यसको संकेत हो ।

सानो स्याम्पल साइज हो यो । हामीले प्रश्न डिजाइन गर्दा राम्रोसँग ध्यान भने दिएका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?