+
+

विश्वकप फुटबल : मानेबिना नेदरल्याण्ड्ससँग भिड्दै सेनेगल

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १४:३१

५ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत सोमबार समूह ए मा रहेका नेदरल्याण्ड्स र सेनेगल भिड्दैछन् ।

खेल नेपाली समयअनुसार राति पौने १० बजे अल थुमामा स्टेडियममा सुरु हुनेछ । उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई हराएर तीन अंक जोडिसकेको छ । यस्तोमा समूह ए कै दुई टोली नेदरल्याण्ड्स र सेनेगल पनि सुखद् नतिजासहित विश्वकप सुरुवात गर्न चाहन्छ ।

यस खेलअघि एउटा विषय चर्चामा छ- सेनेगलका स्टार फरवार्ड साडियो माने चोटका कारण विश्वकपमा नदेखिनु ।

सेनेगलका प्रशिक्षक अलिउ सिसेले साडियो मानेको अनुपस्थितिले फुटबल परिवार नै दु:खमा रहेको बताएका छन् । तर सिसेले आफ्नो टोली विश्वकपमा चुनौतीका बीच पनि माथि उठ्ने बताए ।

बायर्न म्युनिखबाट खेल्ने मानेले घुँडाको चोटका कारण विश्वकप गुमाएका हुन् । ‘सेनेगलका जनता मात्र होइन कि विश्व फुटबल नै यसबाट दु:खी छ । उनले सेनेगलसँगै अफ्रिका महादेशकै प्रतिनिधित्व गर्छन्,’ सिसेले भने ।

सिसेले सबै प्रशिक्षकले उत्कृष्ट खेलाडीलाई बीचमा राखेर टिम बनाउने र आफूले पनि त्यसै गरेको बताए । ‘हामीसँग अनुभवी र युवा मिश्रित बलियो टिम छ र चुनौती दिनका लागि तयार छौं,’ उनले भने ।

यस्तै लिभरपुलबाट मानेसँगै खेल्ने नेदरल्याण्ड्सका कप्तान भर्जिल भान डाइकले पनि मानेप्रति दु:ख व्यक्त गरेका छन् । ‘उनी कस्तो छन् भनेर साथीको रुपमा म थाहा पाउन चाहन्छु । मलाई उनीप्रति दु:ख लागेको छ । मलाई थाहा छ उनले यसका लागि कति मिहिनेत गरेका थिए र उनी सेनेगलका लागि महत्वपूर्ण हुन चाहन्थे,’ भान डाइकले भनेका छन् ।

पछिल्ला वर्षमा मानेले उत्कृष्ट प्रदर्शन गर्दै आएको भन्दै भान डाइकले सेनेगलले उनलाई मिस गर्ने बताए । साथै यसबाट आफ्नो टिमलाई पनि केही फाइदा हुने भान डाइकको विश्वास छ । मानेको स्थानमा मोनाकोका विंगर क्रपिन डिएट्टा र मार्सेका बाम्बा डिएङमध्ये एक खेल्नेछन् । अब्दोउ डियालो भने घुँडाको समस्याका कारण खेलमा उपलब्ध हुने छैनन् ।

यस्तै नेदरल्याण्ड्स पनि आफ्ना फरवार्ड मेम्फिस डिपाए बिनै मैदान उत्रनेछ । डिपाएले विश्वकप छनोटमा १२ गोल गरेका थिए । डिफेण्डर डेन्जल डम्फ्राइस पनि खेल्नेमा शंका छ भने मिडफिल्डर मार्टेन डे रुम पनि फिट हुन संघर्षरत छन् ।

माने विश्वकपबाट बाहिरिनु सेनेगलका लागि ठूलो झड्का हो । मानेकै प्रेरणादायी प्रदर्शनमा सेनेगलले यसै वर्षको सुरुमा अफ्रिकन कप जितेको हो ।

डिफेन्समा राम्रो रहे पनि मानेबिनाको अग्रपंक्ति सेनेगलका लागि टाउको दुखाइ बन्न सक्छ ।

नेदरल्याण्ड्स र सेनेगलबीच एउटा रमाइलो संयोग छ । यी दुई राष्ट्र एकै पटक विश्वकपमा छनोट भएको यो पहिलो पटक हो । अनि यी दुई टिम विश्वकपमा मात्र नभएर अन्तर्राष्ट्रिय फुटबलमा कुनै प्रतियोगितामा खेल्न लागेको यो पहिलो पटक हो ।

यसअघि सन् २००२ र २०१८ मा सेनेगलले विश्वकप खेल्दा नेदरल्याण्ड्स छनोट भएको थिएन । आठ वर्षपछि विश्वकपमा पर्केको नेदरल्याण्ड्स यस पटक डार्क हर्सको रुपमा रहेको फुटबल पण्डितहरुको विश्लेषण छ ।

विश्वकप इतिहासमा नेदरल्याण्ड्स त्यस्तो अभागी टोली हो जसले तीन पटक फाइनल खेले पनि उपाधि जित्न सकेको छैन ।

सन् २०१० मा पछिल्लो पटक फाइनल पुग्दा स्पेनसँग पराजित भएको  नेदरल्याण्ड्स २०१४ मा अर्जेन्टिनासँग सेमिफाइनलमा पराजित भएको थियो । आठ वर्षपछि विश्वकप फर्कंदा नेदरल्याण्ड्स त्यही प्रदर्शन दोहोर्‍याउने लक्ष्यमा छ । ११ औं पटक विश्वकप खेल्न लागेको नेदरल्याण्ड्स अहिलेसम्म समूह चरणबाट बाहिरिएको छैन ।

विश्वकपमा नेदरल्याण्ड्स अफ्रिकी राष्ट्र विरुद्ध अपराजित छ । सेनगेलले विश्वकपमा ८ खेल खेल्दा ३ खेल जितेको छ र सबै जित युरोपियन टिम विरुद्ध छ । पहिलो पटक भिड्न लागेका नेदरल्याण्ड्स र सेनेगलबीचको खेल रोमाञ्चक हुने अपेक्षा छ ।

सन् २००२ मा विश्वकपमा डेब्यु गर्दा पहिलो खेलमै सेनेगलले साविक विजेता फ्रान्सलाई १-० ले स्तब्ध बनाएको थियो । अफ्रिकाबाट विश्वकपमा अहिलेसम्म सबैभन्दा राम्रो प्रदर्शन गर्नेमा सेनेगलसँगै क्यामरुन र घाना छन् । सबै क्वाटरफाइनलसम्म पुगेका थिए ।

सन् २००२ मा खेलाडी रहेका एलिउ सिसे नै पछिल्लो दुई विश्वकपमा सेनेगलका प्रशिक्षक छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?