+
+

रवीन्द्रले ह्याट्रिक गरेको कास्की-२ मा अग्रता लिने माधव कँडेल को हुन् ?

अमृत सुवेदी अमृत सुवेदी
२०७९ मंसिर ५ गते १४:५१

५ मंसिर, पोखरा । नेकपा एमालेको गढ मानिएको कास्की-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले अग्रता लिएका छन् । यो क्षेत्रमा एमाले उम्मेदवार विद्या भट्टराईले सुरुदेखि नै अग्रता लिने धेरैको अनुमान थियो ।

तर सोमबार दिउँसोसम्म प्राप्त मत परिणाममा माधवले ८७५ मत पाउँदा विद्याले ६९० र नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ४६९ मत पाएका छन् । बराल सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् ।

एमाले नेता तथा पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीले लगातार तीन पटक चुनाव जितेको यो क्षेत्रमा उनकी पत्नी विद्याले नै अग्रता कायम गर्ने अनुमान स्वभाविकै हो ।

रवीन्द्रको निधनपछि भएको उपनिर्वाचनमा विद्याले कांग्रेसका पाका नेता खेमराज पौडेललाई ८ हजार ४०३ मतान्तरले पराजित गरेकी थिइन् । २०७४ को निर्वाचनमा रवीन्द्रले सोही क्षेत्रमा कांग्रेसका देवराज चालिसेलाई ८ हजार ५४६ मतान्तरले जितेका थिए ।

अन्य क्षेत्रमा एमालेभित्र अन्तरद्वन्द्व देखिए पनि कास्की-२ मा विद्याका सन्दर्भमा विवाद नदेखिएको नेताहरु बताउँथे । तर एमालेले लगातार दुई पटक वडाध्यक्ष समेत जितेको वडा नम्बर १५ बाट मतगणना हुँदा लगातार स्वतन्त्रका माधवप्रसादले अग्रता कायम गरिरहेका छन् ।

निर्वाचन अभियानमा खासै चासो नदिएका र धेरै मत काट्ने आँकलन नगरिएका उम्मेदवार कँडेलले अग्रता कायम गरेपछि उनको बारेमा सोधीखोजी सुरु भएको छ । कँडेल नेपाली कांग्रेसको राजनीतिबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका हुन् ।

उनी ३० वैशाखको स्थानीय तहको निर्वाचनका कांग्रेसका उम्मेदवारको प्रचारमा नै हिंडेका थिए । उनको गाउँ पोखरा महानगरपालिका-३३ मा यसपालि कांग्रेसले नै जितेको छ । कँडेल रवि लामिछानेले पार्टी दर्ता गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेशको महामन्त्री बनेका थिए । कांग्रेस क्षेत्रीय प्रतिनिधि कँडेल १४ औं महाधिवेशनमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ को सहसचिवमा पराजित भएका हुन् ।

कांग्रेसभित्र किनारा लगाउन खोजिएको, आफूलाई अवसर पनि नदिइएको उनको गुनासो थियो । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै गण्डकीको महामन्त्री बनेका कँडेलले कास्की-२ को प्रतिनिधिसभाको टिकट पाए ।

चुनावी अभियानमा क्रममा उनीप्रति स्थापित भनिएका दलहरुको खासै चासो थिएन । उनको प्रसारप्रसारमा धेरै मान्छे पनि थिएनन् । तर देशभर घण्टीलाई मत जाँदा उनले पनि एमालेको जनमत रहेको क्षेत्रमै भोट ल्याएका छन् ।

उनले भोट ल्याउनुमा व्यक्तिगत सम्बन्ध र पेसा पनि हुन सक्ने नेताहरु बताउँछन् । पोखरा-३३ को एउटा निजी स्कुल र सरस्वती टीका माविमा कँडेलले १७ वर्षका पढाएका थिए । उनले विद्यार्थी र त्यस क्षेत्रका अभिभावकबाट पनि मत आफूलाई आउने बताउने गरेका थिए । उनी रजिस्टर्ड लेखा परीक्षक पनि हुन् । २१ वर्षदेखि लेखा परीक्षणमा लागेका कँडेलले इमान्दार र बौद्धिक व्यक्तिको छवि बनाएका छन् ।

‘पोखरा-३३ बागमारावासी कँडेलले इमान्दार र बौद्धिक छवि बनाएका छन् । स्थानीयस्तरमा उनी भिजेकै व्यक्ति हुन्,’ नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा कँडेलकै छिमेकी किरण थापा ‘आमोद’ले भने, ‘देशभर घण्टी लहर चल्दा उनले व्यक्तिगत मत पनि तानेका हुन् ।’

हाल कँडेल र विद्या एउटै वडाका मतदाता हुन् । कतिपयले वडा नम्बर १५ मा पनि उनको सम्बन्ध भएकाले मत धेरै आएको र अरु वडामा पुगेपछि विद्याले अग्रता लिने अनुमान गरिरहेका छन् । कास्की-२ मा पर्ने पोखरा महानगरपालिकाको वडा नम्बर ३३, २१, १७, ७ लगायतका वडामा एमाले बलियो मानिन्छ ।

यो क्षेत्रमा प्रमुख प्रतिस्पर्धामा कँडेलको गणना नै थिएन । एमालेकी उम्मेदवार विद्या भट्टराई र सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका श्रीनाथ बरालको प्रमुख प्रतिस्पर्धा रहने अधिकांश अनुमान थियो । तर कँडेलले अग्रता गर्दा विद्या दोस्रो र श्रीनाथ तेस्रोमा छन् ।

एमाले हुँदा कहिल्यै संसदीय निर्वाचनमा अवसर नपाएका भनिएका श्रीनाथले सान्त्वना मत पाउने चर्चा पनि थियो । श्रीनाथलाई राप्रपाका सुवर्णराज पन्तले पछ्याइरहेका छन् ।

गत स्थानीय तहको निर्वाचनको मत परिणामअनुसार कास्की क्षेत्र नम्बर २ मा पाँच दलीय गठबन्धन एमालेभन्दा एक हजार मतले मात्र अगाडि थियो । कास्की २ मा ७९ हजार १३८ मतदाता छन् । जसमध्ये ४९ हजार ९२० मत खसेको छ । यो क्षेत्रमा पाँच जना स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दिएका थिए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?