+
+

मनाङबाट निर्वाचित गुरुङले पाउने छैनन् संसदमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ०:५६

६ मंसिर, काठमाडौं । मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित टेकबहादुर गुरुङ तत्काल संसद प्रवेश गर्न नपाउने भएका छन् ।

उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनी सांसदको हैसियतमा काम गर्न नपाउने भएका हुन् ।

गुरुङविरुद्ध भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको ६० रोपनी जग्गा भाडामा दिँदा ३१ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सुशील कोइराला नेतृत्वको सरकारमा गुरुङ श्रम राज्यमन्त्री हुँदा गरेको निर्णयका आधारमा उनीविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएको हो । सो मुद्दामा विशेष अदालतले उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी स्वतः निलम्बनमा पर्नेछन् । भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ३३ मा कुनै व्यक्तिउपर भ्रष्ट्राचार मुद्दा दायर भएकामा त्यस्तो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था छ ।

निर्वाचनसम्बन्धी ऐनले भ्रष्ट्राचार मुद्दामा दोषी नठहरिएका व्यक्तिलाई उम्मेदवार बन्न अयोग्य ठहर नगरेका कारण यस्ता व्यक्तिले चुनाव लड्न पाउँछन् । तर मुद्दा किनारा नलागेसम्म गुरुङले सांसद भएर काम गर्न पाउने छैनन् ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा कांग्रेसकै नेता विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनको सांसद पद निलम्बनमा परेको थियो । यसपटक पनि गच्छदार उम्मेदवार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?