+
+

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल विजयी

आफ्नो राजनीतिक जीवनको आठौं चुनावी प्रतिस्पर्धामा श्रेष्ठले चौथो जित निकालेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १४:३३

६ मंसिर, काठमाडौं । नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ काठमाडौं-९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । आफ्नो राजनीतिक जीवनको आठौं स्पर्धामा उनले चौथो जित निकालेका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे ।

सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ६ हजार ४०२ मतसहित तेस्रो स्थानमा सीमित भइन् ।

को हुन् कृष्णगोपाल ?

पञ्चायती व्यवस्था विघटनपछि काठमाडौंमा लगातार आठौं पटक संसदीय निर्वाचन लड्न पाउने नेता बनेका छन् । उनी २०४९, २०५१ र २०७४ सालका आम निर्वाचनमा विजयी बने ।

२०४९ सालमा काठमाडौंका दुई क्षेत्रबाट विजयी नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारीले छाडेको क्षेत्र नं. ५ को उपनिर्वाचनमा श्रेष्ठ विजयी भएका थिए ।

२०७० सालको निर्वाचनपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले छाडेको काठमाडौं–२ को उपनिर्वाचन (२०७१) मा भने उनी पराजित भए । त्यस्तै, २०५६ को संसदीय तथा २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पनि उनी पराजित भए ।

२०१५ असोज १५ गते विजयादशमीको दिन जन्मिएका श्रेष्ठलाई यसपटक एमालेले काठमाडौं–९ बाट आठौं पटक उठाएर जय–पराजय बराबरी बनाउने अवसर दियो । यो अवसरलाई उनले सफलतामा परिणत गरिदिएका छन् ।

२०३७ सालमा अनेरास्ववियुले आयोजना गरेको नेपाल बन्दमा सहभागी भएर राजनीति सुरु गरेका उनी त्यसयता पटक–पटक जेल परे । लामो समय एमाले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी सम्हालेका उनी पार्टीबाट पर्याप्त अवसर पाउने नेतामा पर्छन् ।

उनी स्थायी विकास राज्यमन्त्री, वन तथा वातावरण मन्त्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, युवा तथा खेलकुद मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री, शहरी विकास मन्त्री र शिक्षा मन्त्री भइसकेका छन् ।

हाल काठमाडौं–१५, बल्खुका स्थायी बासिन्दा उनको बाल्यकाल भने गरिबी र अभावमा बितेको थियो । सानैबाट प्रगतिशील विचारधाराको प्रभावमा आएका उनले दुःख र संघर्षकैबीच अर्थशास्त्रमा स्नातकोत्तर गरे ।

२०७४ को संसदीय चुनावमा श्रेष्ठले काठमाडौं–९ मा नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई ८ हजार ५० मतले पराजित गरेका थिए । श्रेष्ठले २२ हजार ८५२ र रञ्जितले १४ हजार ८०२ मत पाएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने रञ्जितबाट श्रेष्ठ पराजित भए । त्यो बेला कांग्रेसका रञ्जितले १४ हजार ४८३ र एमालेका श्रेष्ठले १३ हजार १०० मत पाएका थिए ।

विभागीय मन्त्रीको रूपमा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्न पाएका श्रेष्ठले ‘केपी ओलीलाई हटाउने कोही माइका लाल छ ?’ भन्दै पटक–पटक गरेको लल्कारले पनि उनको मत भड्किएन ।

त्यस्तै, रूपा सुनार प्रकरणमा पनि उनी जातीय छुवाछूतको पक्षमा वकालत गरेर विवादित बनेका थिए । सुनारलाई जातीय विभेद गरेको भनिएकी सरस्वती प्रधानलाई तत्कालीन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आफैं गएर प्रचलित कानुन विपरित प्रहरी नियन्त्रणबाट छुटाएका थिए ।

मतदातासँग नियमित घुलमिलमा रहने विशेषताले श्रेष्ठलाई आठौं स्पर्धामा चौथो विजय निकाल्न सक्षम बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?