+
+

घण्टीको अनुपस्थितिमा प्रदेशमा चम्किएला राप्रपा ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १३:३६

६ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभामा खाता खोलेको छ । काठमाडौं क्षेत्र नम्बर २ (१) मा बागमती प्रदेशसभा निवर्तमान सभामुख सानुकुमार श्रेष्ठलाई १५१९ मतान्तरले पराजित गर्दै राप्रपाका सुनिल केसी निर्वाचित भएका हुन् ।

राप्रपाका केसीले ६ हजार ६९८ मत पाउँदा एमालेका श्रेष्ठले ५ हजार ७९ मत पाएका छन् । जबकी यही क्षेत्रबाट प्रतिनिधिसभामा राप्रपाका कुन्तिकुमारी पोखरेलले यति मत पाएकी छैनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोबिता गौतमले ५ हजार ३३४ मतका साथ अग्रता लिँदा राप्रपाकी कुन्तीले ३ हजार ७६९ मत मात्र पाएकी छन् ।

रास्वपाले प्रतिनिधिसभातर्फ नयाँ र प्रमुख दलहरुसँग असन्तुष्ट मतदाताको राम्रो मत पाएका छन् । खासगरी काठमाडौं उपत्यका लगायतका शहरी क्षेत्रमा रास्वपाका उम्मेदवार केहीले अग्रता लिएका छन् भने केहीमा प्रतिस्पर्धामा छन् ।

प्रदेशसभामा भने रास्वपाको उम्मेदवार छैन । उसले प्रत्यक्ष र समानुपातिक दुबैतर्फ भाग लिएको छैन । रास्वपाले प्रदेशसभा चुनावमा भाग नलिँदा नयाँ र प्रमुख दलहरुसँग असन्तुष्ट मतदाताहरुको रोजाईमा राप्रपा पनि परेको देखिन्छ ।

शहरी क्षेत्रको मतमा पनि त्यही देखिन्छ । मत गणना सकिएको काठमाडौं ८(१) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य ४ हजार ३५३ मतका साथ निर्वाचित हुँदा राप्रपाका केदारबहादुर धमलाले २ हजार २९४ मत पाएका छन् ।

काठमाडौं १०(१) को गणना अन्तिम चरणमा पुगेको छ । कांग्रेसका पुकार महर्जनले ४ हजार ९६ मतका साथ अग्रता लिइरहँदा राप्रपाका उमेशराज सापकोटाले २ हजार ९२४ मतका साथ दोस्रो स्थानमा छन् ।

भक्तपुर १(१) मा पनि राप्रपाले राम्रो मत पाएको छ । मतगणना जारी रहेको यो क्षेत्रमा कांग्रेसका सुरेश श्रेष्ठले ५ हजार २८६ मतका साथ अग्रता लिएका छन् । तेस्रो स्थानमा रहेका राप्रपाका राजु कुइकेलको २ हजार ८७ मत छ । यो मत भक्तपुर १ मा बलियो मानिएको नेपाल मजदुर किसान पार्टीको भन्दा बढी हो ।

कास्की २ (१) मा राप्रपाका विजयबहादुर भण्डारीले अग्रता लिइरहेका छन् । भण्डारीले २ हजार ८९७ मत पाउँदा उनलाई पछ्याइरहका एमालेका भीमबहादुर कार्कीले २५०५ मत पाएका छन् । मतगणना जारी रहेको चितवन, ललितपुर लगायतका सहरी क्षेत्रमा पनि राप्रपाका उम्मेदवारले राम्रै मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?