+
+

खस्रा ज्ञानेन्द्र शाहीको जीतमा जुम्ली आक्रोशको अनुमोदन

‘१८४६ देखि २००७ साल सम्मा जुम्लाको कुनैपनि राजनीतिक, धार्मिक र एकेडेमिक दस्तावेजहरु भेटिदैन्, यस्को मतलव राज्यले जुम्लाको लागि केही पनि नगरेको बुझिन्छ,’ नेपालीले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘त्यसयता पनि जुम्ला सधै राज्यको चेपुवामा पर्‍यो । नेताहरुले ठुलठुला सपना देखाए तर पुरागरेनन्, सत्ता प्रतिको आक्रोस जुम्ली जनताले हरेक चुनावमा पोख्छन् ।’

यज्ञ खत्री यज्ञ खत्री
२०७९ मंसिर ८ गते १३:२९

८ मंसिर, सुर्खेत । युट्युबेहरुले ज्ञानेन्द्र शाही नामले पुकार्ने ३१ वर्षे युवाको खास नाम ज्ञानबहादुर शाही हो भनी थाहा पाउन दर्शकहरुले आम चुनाव कुर्नुपर्‍यो । केही साताअघिसम्म तथानाम बोलेर चर्चामा आइराख्ने शाहीले अब शब्द-शब्दमा ‘माननीय’ को लाज राख्नुपर्ने छ ।

लामो समयदेखि राज्यसंस्थापनसँग जुम्ली जनताको जनआक्रोशलाई शाहीले पहिले अनेक थरि राजनीतिक ब्यानरमा, अहिले राप्रपाको ब्यानरमा उठाइराखे । तिनै जनताको आक्रोशलाई मतमा अनुवाद गरेर उनी जुम्लाबाट नयाँ बानेश्वरको संसद भवन छिर्दैछन् ।

पत्रकारहरूलाई ‘दलाल र कुकुर’ जस्ता अपशब्द बोल्दै १८ बैसाख २०७६ मा सुर्खेतको वीरेन्द्रनगरमा पहिलोपटक फेसबुक लाइभमा देखिएका थिए, यिनै ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही ।

पत्रकारहरुलाई अपशब्द बोलेको अभियोगमा ०७६ जेठ दोस्रो साता सुर्खेतको एक कार्यक्रम स्थलबाट प्रहरीले उनलाई पक्राउ गर्‍यो । उनले आफूलाई हिरासतमा निर्मम यातना दिइएको आरोप प्रहरीमाथि लगाउँदै त्यसैलाई राष्ट्रिय फन्डा बनाए । र, एकाएक आफू भ्रष्टचार विरोधी अभियान्ता भएकोले राज्यले आफूमाथि दमन गरेको बताउन थाले ।

नेताहरुलाई मुख छोडेर गालीगलौज गरेकै कारण सामाजिक सञ्जालमा चर्चामा आइरहने तीनै ज्ञानबहादुर बोलेर मात्र चर्चामा आउँदैनथे, उनीमाथि बेलाबेला सडकमै हुने ‘आक्रमण’ वा उनी संलग्न हुने झडपले पनि चर्चामा ल्याइरह्यो ।

भ्रस्टाचार विरोधी अभियानकर्मीको रूपमा उदाएका तीनै ज्ञानबहादुर ०७८ फागुन ६ गते राप्रपामा प्रवेश गरेका थिए । विभिन्न फन्डा गरेर राष्ट्रिय स्तरमा तरंग ल्याउने ज्ञानबहादुरले आफ्नो पहिलो संसदीय चुनावलाई पनि उत्तिकै रोमान्चक बनाएका छन् ।

जुम्लाबाट प्रतिनिधिसभामा गठबन्धनकी उम्मेद्वार नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरलाई फराकिलो मतअन्तरले पछि पादै निर्वाचित भएका छन् । ज्ञानबहादुरले २२ हजार ८१९ मत ल्याएर निर्वाचित हुँदा गोमाले ११ हजार ९५९ मत पाइन् । नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६ हजार ५२८ मत ल्याएका छन् ।

जितपछि ज्ञानबहादुरले आफूलाई जुम्ली जनताले माया गरेको बताउँदै अब आफूले राष्ट्रको नेतृत्व गर्ने दावी गरेका छन् । सांसदमा निर्वाचित भएसँगै उनको परिचय सम्पूर्ण रूपमा बदलिनेछ । हिजो सडकमा भ्रष्ट्राचार विरुद्धका नारा लगाउने ज्ञानबहादुर अब संसदको रोष्टमबाट सरकारलाई सुनाउनेछन् ।

गत साउन २३ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ताको हैसियतमा ज्ञानबहादुरले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरे ।

काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर उमेद्वारी घोषणा गरेका उनलाई धेरैले सामाजिक सञ्जालमा मजाक उडाए । माओवादीले आधार इलाका भन्ने गरेको जुम्लामा राजाबादी ज्ञानेन्द्रले चुनाव जित्लान् त ? सबैको मनमा यही प्रश्न थियो ।

हुन पनि जुम्लामा २०४८ यता (०७० बाहेक) हरेक चुनाव कम्युनिष्टहरुले नै जित्दै आएका छन् । ०७० मा भने नेपाली काँग्रेसले जितेको थियोे । बहुदल पुनस्र्थापना पछि जुम्लामा कुनै राजाबादीले चुनाव जितेको इतिहास छैन ।

ज्ञानबहादुरका लागी जुम्ला चुनाव जित्न चुनौती मात्रै हैन कठिन भएको भन्दै उनका समर्थकहरूले काठमाडौं २ वा चितवन ३ बाट लड्न सुझाएका थिए । सिंजा गाउँपालिका–३ निवासी ज्ञानबहादुरको गृह जिल्ला समेत रहेको जुम्लामा राप्रपा निकै कमजोर छ । गत स्थानीय तहको निर्वाचनमा राप्रपाले करिब ४५० मतमात्रै पाएको थियो । उनको वडामा राप्रपाले १६ मत ल्याएको थियो ।

यस्तो कमजोर स्थानमा पनि किन चुनाव लड्न लागेको ? भन्ने अनलाइनखबरको प्रश्नमा त्यो बेला ज्ञानबहादुरले भनेका थिए, ‘जुम्ला मेरो जनमभूमि हो । त्यसको ऋण तिर्नु छ । जुम्लाका सुख-दुः खसँग जीवन साट्नुछ । जुम्ली जनताले हराए पनि जिताए पनि स्वीकार्य छ ।’

ज्ञानबहादुरले चुनाव जित्लान भन्ने विश्वास त काँग्रेस, माओवादी, एमाले लगाएतका दलहरुलाई पनि लागेको थिएन् । ठुला दल र तिनका नेताहरुले पनि उनलाई हल्का रुपमा लिए ।

चुनाव लड्ने घोषणा गरेसँगै जुम्ला गएका ज्ञानबहादुर तीन महिना अगाडीदेखि नै प्रत्येक जुम्लीको घरदैलोमा पुगे । भ्रष्ट्राचार विरुद्धका चर्का नारा लगाए । अहिलेसम्म चुनाव जितेकाहरुले केही गर्न नसकेको भन्दै आफूलाई उनीहरुको विकल्पको रुपमा उभ्याए ।

सधै परिवर्तत चाहने जुम्ली जनतालाई आषा देखाएको र नयाँ अनुहार भएकाले पनि उनले चुनाव जितेको ज्ञानबहादुर र उनको अभियानलाई नियाली रहेका यूवा मदन तिवारी बताउँछन् ।

उनी भन्छन्, ‘पहिलो कुरा ‘ज्ञानेन्द्र’ नामको ब्राण्डले काम गर्‍यो, दोस्रो ज्ञानेन्द्रले जनतासँग ठुला कुरा गरेनन्, नागरिकको दैनिकीसँग जोडिएका सवाल उठाए र जुम्ली जनतालाई भरोसा दिलाए । तेस्रो ठूला पार्टीले सही नेतालाई टिकट दिएनन् ।’

विचारधाराको हिसावले हेर्दा पनि ज्ञानेन्द्रले राजतन्त्र र राप्रपाको मुद्दालाई कहीँकतै नउठाएको तिवारी बाउँछन् । ‘जनताको आक्रोशलाई ज्ञानेन्द्रले सम्बोधन गरे, जस्ले गर्दा ज्ञानेन्द्रलाई नै जनाताले अनुमोन गरेको देखिन्छ,’ तिवारीले अनलाइनखबरसँग कुरा गर्दै भने ।

सत्ताप्रतिको जनआक्रोश

जुम्ली जनतामा देखिएको सत्ता प्रतिको आक्रोशको लाभ ज्ञानबहादुरले उठाएको बताउँछन्, जुम्लाको राजनीति र इतिहासका जानकार पत्रकार महेश नेपाली ।

उनका अनुसार १८४६ मा गोर्खालीले सिंजामा आक्रमण गर्दा जुम्लाले त्यस्को प्रतिरोध आन्दोलन गर्‍यो । तेस्रो आक्रमण पछि सिंजा कब्जा गरेका गोर्खाली शासकले त्यसयता जुम्लालाई सधै दबाएर नै राखे ।

‘१८४६ देखि २००७ साल सम्मा जुम्लाको कुनैपनि राजनीतिक, धार्मिक र एकेडेमिक दस्तावेजहरु भेटिदैन्, यस्को मतलव राज्यले जुम्लाको लागि केही पनि नगरेको बुझिन्छ,’ नेपालीले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘त्यसयता पनि जुम्ला सधै राज्यको चेपुवामा पर्‍यो । नेताहरुले ठुलठुला सपना देखाए तर पुरागरेनन्, सत्ता प्रतिको आक्रोश जुम्ली जनताले हरेक चुनावमा पोख्छन् ।’

जुम्लामा ०८४ यताको संसदीय चुनावमा एउटै व्यक्तिले दोहोरिएर जितेको इतिहास छैन् । ०४८ मा नेकमिपाबाट डिल्लीबहादुर महत, ०५१ मा नेमकिपाकै भक्तबहादुर रोकाया, ०५६ मा एमालेका देवीलाल थापा, २०६४ मा माओवादीका नरेश भण्डारी, २०७० मा कांग्रेसका ललितजंग शाही र ०७४ मा माओवादीकै गजेन्द्रबहादुर महत यो क्षेत्रबाट निर्वाचित भएका थिए ।

यो पटकको चुनाव पनि ज्ञानबहादुरले राप्रपाको एजेण्डाले नभई जनताको जिवनस्तरसँग जोडिएका सवाल उठाएर जितेको नेपाली बताउँछन् । संसदीय अभ्यासबाटै शक्तिमा आउन सकिने बुझाइमा पुगेका ज्ञानबहादुरले उत्पादन र भ्रष्टाचार विरुद्धका मुद्दा लिएर चुनावी प्रचार गरे ।

अन्य दलहरुले परम्परागत तरिकामा मत मागिरहँदा उनले भने युवा पुस्ता लक्षित प्रचार गरे । उनको जोड सामाजिक सञ्जाल र विदेशमा रहेका युवा थिए । अरुले केवुलकार र भौतिक पूर्वाधारका कुरा गरिरहँदा ज्ञानबहादुरले भने भ्रष्टाचार समाप्त पार्ने, सुशासन स्थापना गर्ने जस्ता नारा लगाए । राप्रपाको प्रवक्ता समेत रहेका उनी आफनो पार्टी सरकारमा गए मन्त्री बन्ने र जुम्लाको विकासमा लाग्ने आश्वासन दिए ।

को हुन, ज्ञानबहादुर ?

२०४८ माघ २४ गते जुम्लाको सिंजामा जन्मिएका शाही ३१ वर्षका भए । आफूलाई सिए (चार्टर्ड एकाउन्टेन्ट) बताउने उनी बैसाख २०७६ मा सुर्खेतका पत्रकारलाई अपशब्द बोलेर एकएक चर्चामा आएका थिए ।

सामाजिक सञ्जालमा चर्को बोलेर लोकप्रियता कमाएका शाहीका हजारौं फ्यान छन् । उनी बोलेर मात्र चर्चामा आउँदैनन्, उनीमाथि बेलाबेला सडकमै हुने ‘आक्रमण’ वा उनी संलग्न हुने झडपले पनि चर्चामा ल्याइरहन्छ ।

२०७६ भदौमा नेपालगञ्जबाट काठमाडौं आउने क्रममा विमानभित्रै तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईलाई गालीगलौज गरेपछि उनी थप विवादमा आए । हवाईजहाजलाई कुराएर निर्धारित समयमा उड्न नदिएको भन्दै शाहीको समूहले भट्टराईलाई गाली गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरियो । भट्टराईले समयमा हवाईजहाज उड्न नसकेकोमा क्षमा मागेका थिए ।

उक्त घटनालाई लिएर ललितपुरमा पत्रकार सम्मेलन गर्दा शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो । २०७६ असोजमा चितवनको चौबीसकोठीमा पनि उनीमाथि आक्रमण भएको थियो । आफनो लोकप्रियताबाट डराएर सत्ता पक्षका व्यक्तिहरुले नै आफूमाथि पटक-पटक आक्रमण गर्ने गरेको बताउँदै आएका थिए ।

२०७६ असोजमा उनीमाथि चितवनको चौबीसकोठीको एक कार्यक्रममा कुटपिट भएको थियो । भ्रष्टाचारविरोधी कार्यक्रम गर्दा तत्कालीन नेकपाका युवाहरुले शाहीलाई कुटपिट गरेका थिए ।

शाही आबद्ध भएको एक समूह ‘नेपालको लागि नेपाली अभियान’ले २०७६ मंसिर ११ मा उनलाई निष्कासन गर्‍यो । त्यसपछि उनले ‘हाम्रो नेपाल, हामी नेपाली’ नामबाट अभियानको संयोजक भएर विभिन्न गतिविधि गरे ।

गत फागुनमा उनले आफूले नेतृत्व गरेको ‘हाम्रो नेपाल हामी नेपाली अभियान’लाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित गरे । हाल उनी राप्रपाको पाँच मध्यका एक प्रवक्ता हुन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?