+
+

मिलन पाण्डेको जमानत ०७४ मा जोगियो, ०७९ मा जफत

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १३:४१

८ मंसिर, काठमाडौं । साझा पार्टी नेपालका मिलन पाण्डेको जमानत जफत भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पाण्डेको जमानत जफत भएको हो ।

यस क्षेत्रको कुल सदर मत ४२ हजार ५१७ छ । पाण्डेले सदर मतको ५.५ प्रतिशत मत प्राप्त गरे । सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । कानुन अनुसार प्रतिनिधिसभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत रकम १० हजार जम्मा गर्नुपर्ने हुन्छ ।

२०७४ मा पनि पाण्डे यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिए । ०७४ मा भने उनले जमानत जोगाएका थिए । यस क्षेत्रमा ०७४ मा ४५ हजार ७४ मत सदर थियो । जसको ११ प्रतिशत मत पाण्डेले ०७४ मा पाएका थिए ।

०७४ मा विवेकशिल साझा पार्टीबाट चुनाव लडेका पाण्डे यसपटक साझा पार्टी नेपालका तर्फबाट चुनाव लडेका हुन् । विवेकशिल साझा छिन्नभिन्न भएपछि पाण्डेले नै आफू निकट युवाहरुमार्फत साझा पार्टी, नेपाल दर्ता गराएका थिए । यसपटक सोही पार्टीबाट चुनाव लडेका पाण्डेले जमानत जोगाउन सकेनन् ।

०७४ मा चार हजार ९४६ मत ल्याएर जमानत जोगाएका पाण्डेले यसपटक दुई हजार ३२७ मत प्राप्त गर्दै जमानत गुमाएका हुन् ।

पाण्डेसँगै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट २४ जना प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । जसमध्ये ४ जनाले जमानत जोगाएका छन् । विजेता एमालेका कृष्ण गोपाल श्रेष्ठ, उपविजेता राष्ट्रिय स्वतन्त्र पार्टीका टेबहादुर पोखरेल, नेकपा माओवादी केन्द्रका कल्पना धमला र राप्रपाका देवेन्द्र प्रधानले मात्रै जमानत जोगाएका हुन् ।

विजेता श्रेष्ठले २८.१ अर्थात, ११ हजार ९५६ मत प्राप्त गर्दा उपविजेता राष्ट्रिय स्वतन्त्र पार्टीका पोखरेलले २५.८ प्रतिशत अर्थात, १० हजार ९६१ मत प्राप्त गरे । माओवादीका कल्पना धमलाले १५.१ अर्थात, ६ हजार दुई मत प्राप्त गर्दा राप्रपाका प्रधानले ११.३ अर्थात,चार हजार ७८५ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?