+
+

गठबन्धनको बलमा डोटीमा आलेको ‘ह्याट्रिक’

रामहरि ओझा रामहरि ओझा
२०७९ मंसिर ८ गते १७:०५

८ कात्तिक, डोटी । पछिल्लो समयमा नेपाली राजनीतिमा निकै चर्चामा रहेका प्रेमबहादुर आलेमगरले संसदमा ह्याट्रिक गरेका छन् ।

२०७० सालको संबिधान सभा निर्वाचनमा पहिलो पटक संसदमा प्रवेश पाएको आलेले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा तेस्रो पटक अविचलित जित हात परेका छन् । उनले आफ्ना निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गौरीकुमारी ओलीलाई ४ हजार २०६ मतले पराजित गर्दै ह्याट्रिक गरेका हुन् ।

आलेले २७ हजार २१० मत प्राप्त गर्दा ओलीले २३ हजार २३ हजार ४ मत प्राप्त गरिन् । ०७० सालको संविधानसभा निर्वाचनमा डोटी–२ बाट चुनाव जितेका आलेले त्यसपछिका चुनाव भने गठबन्धनको बलमा जित्दै आएका छन् ।

डोटीमा एक निर्वाचन क्षेत्र कायम भएपछि ०७४ सालमा उनी वाम गठवन्धनका साझा उम्मेदवार भए चुनाव जिते । यसपटक पनि आलेलाई बर्तमान सत्ता गठबन्धनको साथ थियो ।

३० वैशाखको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत परिणामलाई आधार मान्दा आले सम्वद्ध दल एकीकृत समाजवादीसंग ३ हजार २०५ मत मात्रै थियो । तर, संगठनात्मक रुपमा आले आवद्ध दल एकीकृत समाजवादी डोटीमा कमजोर छ ।

को हुन् आले ?

डोटी जिल्लाको साविकको छतिवन गाबिस–९ रुपसकाँडामा २०२८ सालमा जन्मिएका आले बुवा टेकवहादुर आले र आमा गंगादेवी आलेका दुई भाई छोरामध्येका जेठा हुन् । २०४६ सालदेखि नेपाली कांग्रेससंग आवद्ध भई राजनीतिक यात्रा प्रारम्भ गरेका आले पछि कम्युनिष्टतिर ढल्किए ।

२०५१ सालमा नेकपा एमालेको नेतृत्वमा वनेको ९ महिने सरकारले गरेका जनप्रिय कार्यक्रमवाट प्रभावित भई एमाले प्रवेश गरेको आलेले वताउने गरेका छन् ।

२०५४ सालको स्थानीय निर्वाचनको संघारमा आलेले एमाले प्रवेश गरेको उनका पूर्वसहकर्मीहरु वताउँछन् । तर, आले भने आफूले २०५२ सालमै एमाले प्रवेश गरेको दावी गर्छन् ।

जिल्ला विकास समिति सदस्य भएपछि आलेले आफ्नो राजनीतिक उचाई बढाउँदै लगे । उनी एमालेको जिल्ला कमिटी सदस्य हुँदै दुई पटक जिल्ला उपसचिव भए ।

एमालको आठौं महाधिवेशनताका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य रहेका आले नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य भए ।

एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा हुँदा आले पार्टीको डोटी जिल्ला ईन्चार्ज थिए । हाल उनी नेकपा एकिकृत समाजवादीका पोलिटव्यूरो
सदस्य छन् ।

यसरी चर्चामा आए उनी

२०७७ साल पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटनको कदमको समर्थन गरेपछि उनले संसदीय राजनीतिमा उचाइ बढाए । ओलीको संसद विघटनको निर्णयको पक्षमा उभिनुनै आलेका लागि फलिफाप भयो ।

त्यसपछि उनले पहिलो पटक मन्त्री हुने अवसर पाए । त्यतिबेला मन्त्री हुँदा केही राम्रा र केही नराम्रा कामबाट चर्चामा बटुले ।

रुखले कार्बनडाईक्साईड दिने, सरकार ७ नं. गेयरमा चल्ने जस्ता अभिव्यक्तिबाट हाँसोका पात्र बने । आलेको आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीले मन्त्री पदबाट हटाउदा उनी ओलीसंग रुष्ट भए ।

ओलीले दोस्रो पटक गरेको संसद विघटनमा उनले साथ दिएनन् । अदालतले दोस्रो पटकको संसद बिघटनलाई असंबैधानिक ठहर गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दियो ।

आलेले एमालेका अन्य सांसदहरु सहित प्रधानमन्त्री देउवालाई बिश्वासको मत प्राप्त गर्न सहयोग गरे । त्यही जसमा आले दोस्रो पटक मन्त्री भए ।

मन्त्री हुँदा अछाममा एक युवकलाई ज्यान मार्ने धम्कीसहित गाली गरेपछि आलोचित भएर चर्चामा आए उनी । उनले नारायणहिटी दरबार संग्रहालय परिसरभित्र रेस्टुरेन्ट सञ्चालन गर्न जथाभावी संरचना निर्माणमा बतास समूहलाई रोकेपछि उनको वाहीवाही भयो ।

एमाले औपचारिक रुपमा विभाजन भएपछि उनले नेकपा एकीकृत समाजवादी रोजे । हाल उनी सो पार्टीका पोलिटव्यूरो सदस्य र सुदूरपश्चिम प्रदेशका सहईन्चार्ज छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?