+
+

माधव नेपाल वाम सरकारका पक्षमा ढल्केका हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते २०:२१

८ मंसिर, काठमाडौं । प्रतिनिधिसभामा उम्मेदवारी दिएका १९ निर्वाचन क्षेत्रमध्ये ७ ठाउँमा जित, ३ ठाउँमा अग्रता लिँदा माधव नेपाल खुसी छैनन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले चुनावी परिणाम सोचे जस्तो नभएको टिप्पणी गरेका छन् । रौतहट– १ बाट निर्वाचित भएपछि बिहीबार संवाददाताहरुसित कुरा गर्दै उनले चुनावी परिणामले शिक्षा दिएको बताए ।

‘सम्पूर्ण परिणाम आउन बाँकी छ,’ उनको संक्षिप्त प्रतिक्रिया थियो, ‘यो हामीले सोचेको भन्दा अलि कम त हो । तर पनि यस परिणामले हामीलाई शिक्षा दिएको छ । यसको हामी राम्ररी मूल्यांकन गर्ने छौं र, कमी कमजोरी भएका छन् भने सुधारेर आगामी दिनमा हामीले जनताको विश्वास जित्नका लागि काम गर्छौं ।’

यस अलवा नेपालले सरकारबारे सञ्चारकर्मीले राखेको जिज्ञासाको पनि जवाफ दिए । उनले अब कसको सरकार बन्छ भनेर ठोकुवा गर्न नसकिने बताए । ‘अब सरकार कसको बन्छ भन्ने कुरामा यत्तिकै भन्न सकिदैन’, नेपालको भनाइ थियो, ‘सामान्य अनुमान गर्न सकिन्छ ।’

वर्तमान गठबन्धनकै सरकार बन्छ भनेर उनले प्रष्ट शब्दमा भनेनन् । सँगै वाम एकताको सम्भावनाबारे सोधिएको प्रश्नमा त्यसको ढोका भने खुल्लै राखे । ‘वामहरु सिद्धान्तका निम्ति, आदर्शका निम्ति अगाडि बढ्न चाहेका हुन् भने तिनीहरुका बीचमा एकता हुन्छ,’ नेपालको जवाफ थियो, ‘वामको नाममा गलत प्रवृत्ति बोकेर हिँड्छन् भने त्यो गलत प्रवृत्तिसँग एकता सम्भव छैन ।’

नेपालले चुनावअघि नै अहिलेको गठबन्धन चुनावपछि रहन नसक्ने बताएका थिए । उतिबेलै नेपाल वाम सरकारको पक्षमा रहेका हुन् भन्ने प्रश्न उठेको थियो । र, आज नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेर विगतको तितो मेटाउँदै मिलेर जानुपर्ने प्रस्ताव गरेका छन् ।

यही सन्दर्भमा हामीले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग पनि संक्षिप्त कुराकानी गर्‍यौं । खनालले पनि वाम एकता वा वाम सरकार असम्भव कुरा नभएको बताए । ‘यो धर्तीमा सबै कुरा असम्भव हुन्छन भन्ने होइन’, खनालको भनाइ थियो, ‘कतिपय असम्भव लागेका कुरा पनि सम्भव हुन्छन् ।’

तर, समग्र नतिजा नआइकन यसबारेमा आफू धेरै नबोल्ने उनको भनाइ थियो । खनाल अहिले आफ्नै नतिजाको पर्खाइमा छन् । इलाम–१ मा उम्मेदवार रहेका खनाल जारी मत गणनामा नेकपा एमालेका महेश बस्नेत भन्दा केही पछि परेका छन् ।

खनालले गठबन्धनका दलहरुबीचमा मत ‘ट्रान्सफर’ भए, नभएकोबारे पनि पछि समीक्षा हुने बताए । यद्यपि उनले केही ठाउँमा मत ट्रान्सफर नभएको देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?