+
+

सरकार गठनका ३ सम्भावना, गठबन्धनले लिङ्देन तान्ने कि प्रचण्ड ओलीतिर जाने ?

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०७९ मंसिर ८ गते २३:०८

८ मंसिर, काठमाडौं । प्रतिधिसभामा दलहरुको आकार प्रष्ट हुँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरे ।

बिहीबार दिउँसो भएको फोन सम्वादका क्रममा दुई नेताले प्रतिनिधिसभा सदस्य चुनिएकोमा एकअर्कालाई बधाई दिए । ओलीले भेटेर कुराकानी गर्ने प्रस्ताव राखे, जवाफमा प्रचण्डले चुनावी परिणाम आइसकेपछि छलफल हुनसक्ने जवाफ दिए ।

ओलीका स्वकीय सचिव राजेश बज्राचार्य भन्छन्, ‘उहाँहरुबीच बधाई साटासाट भयो । कसरी जाने भन्नेमा प्रचण्डले चुनावी नतिजा हेरिसकेपछि छलफल हुनसक्छ भन्नुभएको छ ।’

प्रतिनिधिसभा विघटनसँगै छुट्टिएका प्रचण्डलाई ओलीको फोन यस्तो बेलामा गएको छ, जतिबेला चुनावी नतिजालाई लिएर माओवादीमा असन्तुष्टि देखिन थालेकोे छ । एमालेमा भने गठबन्धन सरकार बनाउने आशा पलाएको छ ।

कांग्रेस र एमाले हाराहारी

बिहीबार रातिसम्म कांग्रेसले ३६ सिट जितेको छ भने १७ स्थानमा अग्रता लिइरहेको छ । २२ सिट जितेको एमालेले २६ सिटमा अग्रता लिइरहेको छ । समानुपातिकतर्फ पनि दुबै दल हारहारी छन् । एमालेले ७ लाख ४० हजार कटाएको छ भने कांग्रेसले ७ लाख ११ हजार । यही ट्रेण्ड कायम रहने हो भने एमाले र कांग्रेस ८०/८५ सिटको पार्टी हुने देखिन्छ ।

माओवादी केन्द्र तेस्रो शक्ति हुने देखिन्छ । सत्तारुढ दलहरुसँग देशभर चुनावी तालमेल गरेको माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ ४६ सिट लिएको थियो । अहिलेसम्म ९ सिट जितेको छ भने गणना भइरहेको ७ क्षेत्रमा मात्र अग्रता लिइरहेको छ ।

गणना भइरहेको थप केही क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार दोस्रो स्थानमा छन् । समानुपातिकतर्फ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा पछाडि परेको छ । यही ट्रेण्ड कायम रह्यो भने माओवादीले प्रत्यक्षतर्फ १६/१७ र समानुपातिकतर्फ धेरैमा १५/१६ सिट जित्नेछ । अर्थात् माओवादी केन्द्र ३०/३२ सिटमा सीमित हुनेछ ।

प्रत्यक्षतर्फ ७ सिटमा जित र एक सिटमा अग्रता लिएको रास्वपाले समानुपातिकतर्फ १६/१७ सिट पाउनसक्छ । राप्रपा पाँचौ दल बन्ने सम्भावना छ । प्रत्यक्षतर्फ ४ सिट जितेको उसले ३ सिटमा अग्रता लिएको छ र समानुपातिक तर्फ झण्डै २ लाख मत पाएको उसले ८/९ सिट पाउने सम्भावना छ ।

९ सिटमा जित र एक अग्रता लिएको एकीकृत समाजवादी, २ जित र ४ सिटमा अग्रता लिएको जसपा, २ मा जित र २ मा अग्रता लिएको लोसपाले थ्रेस होल्ड कटाउन गाह्रो छ ।

नागरिक उन्मुक्ति पार्टीले ५ (२ अग्रता जितेमा) जित्ने छ भने राष्ट्रिय जनमोर्चा, जनमत र नेपाल मजदुर किसान पार्टीले एकएक सिट जितेका छन् भने २ स्वतन्त्र उम्मेदवार जितेका छन् अरु २ स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । बाजुरा, दोलखा र स्याङ्जा २ मा मत गणना नै सुरु भएको छैन ।

सम्भावित समिकरण

यो चुनावी परिणामले कांग्रेस र एमाले दुबैलाई सरकार बनाउने बाटो खुलेको छ । तर, सरकार बनाउन चाहिने बहुमत (१३८) सांसदको समर्थन जुटाउन सहज छैन ।

सरकार गठनमा माओवादी केन्द्रसँगै रास्वपा र राप्रपाको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

विकल्प एक : सत्ता गठबन्धनकै निरन्तरता

सत्ता गठबन्धनको नेतृत्व गरेको कांग्रेस अहिलेकै गठबन्धन कायम राखेर नयाँ सरकारको नेतृत्व गर्न चाहन्छ । कांग्रेसले कुल ८५ सिट (संभावित) जितेमा माओवादी (सम्भावित ३२), एकीकृत समाजवादी (सम्भावित १०), लोसपा (सम्भावित ४) र राष्ट्रिय जनमोर्चा १ सिट जोड्दा १३२ हुन्छ । स्वतन्त्र, जसपा र नागरिक उन्मुक्ति मिलाउन सक्ने हो भने मुस्किलले बहुमत पुग्न सक्छ ।

सत्ता गठबन्धनका दलहरुलाई सरकार गठनका लागि चाहिने बहुमत (१३८) पुर्‍याउन जति गाह्रो छ, शक्ति बाँडफाँट त्यति नै गाह्रो छ । किनकी प्रधानमन्त्रीमा कांग्रेस र माओवादी दुबैको दाबी छ । आलोपालो प्रधानमन्त्री हुने सहमति गर्ने विकल्प छ, तर कसले सरकारको नेतृत्व गर्ने भन्ने टुंग्याउन सहज छैन ।

माओवादी अध्यक्ष प्रचण्ड पहिलो कार्यकालमा प्रधानमन्त्री हुन चाहन्छन्, तर कांग्रेस त्यसमा तयार छैन । कांग्रेस नेताहरुका अनुसार पार्टी देउवा, राष्ट्रपति लिएर पहिलो कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री दिन तयार हुन पनि सक्छन् ।

यो निर्णय गर्न देउवालाई सहज भने छैन । किनकि महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताको चुुनाव लड्ने र प्रधानमन्त्री बन्ने एजेण्डाका साथ चुनाव जितेका छन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले उनलाई समर्थन गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीको आकांक्षी हुन् ।

दोस्रो विकल्प : एमाले, माओवादी र राप्रपाको सरकार

प्रत्यक्षतर्फ १०० र समानुपातिकतर्फ ५० सिट जित्ने दाबी गर्दै आएको एमाले ८० सिट (संभावित) आसपास हुनसक्छ । उसको दाबीअनुसार यो नतिजा खराब हो, तर यसले गठबन्धन सरकार गठनको सम्भावनाको ढोका भने खोलेको छ ।

तर आफूले गठबन्धन बनाएर चुनाव लडेका दलहरु (राप्रपा र जसपा) सँग मिलेर सरकार बनाउने सम्भावना सकिएको छ । रवि लामिछाने नेतृत्वको दल रास्वपाको समर्थन जुटाउँदा पनि बहुमत पुग्ने अवस्था देखिँदैन । यही बुझेर होला, एमाले अध्यक्ष ओलीले बिहीबार प्रचण्डलाई फोन गरी शुभकामना मात्र दिएनन्, भेटेर सम्वाद गर्ने प्रस्ताव राखे । आफूहरुलाई टाढा पार्ने शक्तिहरु सक्रिय रहेको भन्दै प्रचण्डलाई फकाउने प्रयास पनि गरे ।

माओवादी केन्द्रमा वाम दलहरुको मोर्चा बनाउनुपर्ने मत पहिल्यै थियो, चुनावमा अपेक्षाअनुसार भोट ट्रान्सफर नभएपछि यो आवाज फेरि उठ्न थालेको छ ।

त्यसैले एमाले र माओवादी केन्द्र, सरकार गठनका लागि एक ठाउँमा आउन सक्छन् । तर एमाले, माओवादी, एकीकृत समाजवादी र जसपा एक ठाउँमा आउँदा पनि बहुमत पुग्दैन । वाम दलहरु एक ठाउँमा आउने र एमालेसँग चुनावी तालमेल गरेको राप्रपाको समर्थन जुटाउने हो भने बहुमत पुग्नसक्छ ।

माओवादी केन्द्रका एक नेताले आफूहरुको प्राथमिकता वर्तमान गठबन्धनलाई निरन्तरता दिने भएको, तर एमाले र राप्रपासँग मिलेर सरकार बनाउने सम्भावनालाई पनि पूर्ण रुपमा अस्वीकार गर्न नसक्ने बताए ।

तेस्रो विकल्प : कांग्रेस र एमालेको सरकार

जसरी कांग्रेस र एमालेलाई एक अर्कालाई प्रतिपक्षमा राखेर सरकार बनाउन गाह्रो छ, एकअर्का मिलेर सरकार बनाउन भने सहज छ । दुबै दल मिल्ने हो भने प्रष्ट बहुमत हुन्छ ।

झट्ट सुन्दा कांग्रेस र एमाले मिलेर सरकार बनाउन असम्भव जस्तो लागे पनि यस्तो अभ्यास विगतमा पनि भएको छ । २०६५ मा प्रचण्ड नेतृत्वको सरकार ढलेपछि कांग्रेसकै समर्थनमा एमालेको नेतृत्वमा सरकार बनेको थियो ।

फाइल फोटो

२०७० को दोस्रो संविधानसभापछि पनि कांग्रेस र एमालेले मिलेर सरकार बनाएका थिए । ६०१ सदस्यीय संविधानसभामा पहिलो दल कांग्रेसले २०६ र दोस्रो ठूलो दल एमालेले १८४ सिट जितेको थियो । कांग्रेस र एमाले दुबैसँग ८३ सिटको माओवादी र अरु साना दललाई मिलाएर सरकार बनाउने विकल्प थियो ।

तर पहिलो र दोस्रो दल मिलेर सुशील कोइरालाको नेतृत्वमा सरकार बनाए । यो पटक पनि त्यो सम्भावनालाई नकार्न नमिल्ने नेताहरु बताउँछन् ।

तर त्यसबेलाको सरकारलाई संविधानको मस्यौदा निर्माणको कार्यको संयोजन गर्नुपर्ने दायित्व थियो । कांग्रेस र एमाले बीच संविधानका अन्तर्वस्तुमा धेरै सहमति भएकाले पनि माओवादीलाई बाहिर राखेर सरकार बनाउने प्राकृतिक देखिन्थ्यो ।

अहिले परिस्थिति भिन्न छ । ओली सहित एमाले नेताहरुले त कांग्रेससँग एकठाउँ नउभिनेगरी राजनीतिक ध्रुबिकरणको प्रस्ताव लगातार सार्वजनिक मञ्चबाट दिदै आएका छन् ।

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?