+
+

पर्सामा कांग्रेस–एमालेको कम्ब्याक, मधेसी दल कमजोर

सुरेश बिडारी सुरेश बिडारी
२०७९ मंसिर ९ गते १:३०

८ मंसिर, वीरगञ्ज । मंसिर ४ मा सम्पन्न निर्वाचनबाट पर्सामा नेपाली कांग्रेसले बिग्रँदो स्थितिमा सुधार गरेको छ । २०७४ को निर्वाचनमा ४ वटै निर्वाचन क्षेत्र गुमाएको कांग्रेसले यसपटक दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा जित्दै स्थितिमा सुधार गरेको हो ।

पर्सामा जनता समाजवादी पार्टी र एमालेले पनि एक/एक वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जित हात पारे ।

पर्सा–१ बाट जसपाका प्रदीप यादव, २ बाट कांग्रेसका अजय चौरसिया, ३ बाट एमालेका राजकुमार गुप्ता र ४ बाट कांग्रेसका रमेश रिजाल निर्वाचित भए ।

८ प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये ३ वटामा नेपाली कांग्रेस र २ वटामा जसपाले जित्दा माओवादी केन्द्र, लोसपा र स्वतन्त्र उम्मेदवारले एक/एक वटा निर्वाचन क्षेत्र जिते । जसपाका दुई, लोसपा र नेपाली कांग्रेसका १/१ जना गरी ४ जना प्रदेश सभा सदस्य भने पुरानै दोहोरिएका छन् ।

पर्सा–१ (१) बाट माओवादी केन्द्रका रहबर अन्सारी, पर्सा–१ (२) बाट जसपाका लालबाबु राउत, पर्सा–२ (१) बाट कांग्रेसका श्याम पटेल, पर्सा–२ (२) बाट लोसपाका रमेशप्रसाद कुर्मी निर्वाचित भए ।

पर्सा–३ (१) बाट स्वतन्त्र उम्मेदवार प्रमोदकुमार जयसवाल, पर्सा–३ (२) बाट कांग्रेसका जनार्दन सिंह क्षेत्री, पर्सा–४ (१) बाट शंकर प्रसाद चौधरी र पर्सा–४ (२) बाट जनता समाजवादी पार्टीका सिंगासन साह कलवार निर्वाचित भएका छन् ।

मधेसी दल एक नहुँदा परिणाम उल्टियो

०७४ को निर्वाचनमा मधेश केन्द्रित दल तत्कालिन संघीय समाजवादी फोरम र राजपाले गठबन्धन गरेका थिए । जसका कारण प्रदेशसभाका ८ मध्ये ६ सिटमा उनीहरुले जित हासिल गरेका थिए भने २ सिट कांग्रेसले जितेको थियो ।

२०७९ सम्म अइपुग्दा मधेश केन्द्रित दलहरु आफैं एक ठाउँमा बस्ने स्थितिमा भएनन् । संघीय समाजवादी फोरम र राजपाबीच एकीकरण भएर जनता समाजवादी पार्टी बने पनि पछि विभाजन भएर जसपा र लोकतान्त्रिक समाजवादी नामका अलग अलग दुई पार्टी भए ।

नेताहरुबीचको विवादका कारण दुई दल आपसमा मिल्ने अवस्था भएन । त्यसैले जसपाले नेकपा एमालेसँग र लोसपाले सत्तारुढ गठबन्धनसँग आपसमा तालमेल गरे । जसले गर्दा उनीहरु आफ्नै प्रभाव क्षेत्रका कतिपय सिट ठूला पार्टीसँग भागवण्डा गर्नुपर्ने अवस्थामा पुगे ।

तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट पर्सा–३ मा जितेका हरि नारायण रौनियार भ्रष्टाचार मुद्धा परेपछि निलम्बित भए । पर्सा–२ बाट निर्वाचित बिमल श्रीवास्तवले चुनाव नलड्ने घोषणा गरे ।

तत्कालिन संघीय समाजवादी फोरमबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य जनत अन्सारीले स्वतन्त्र उम्मेदवारी दिए । प्रल्हाद गिरी गोश्वामी लोसपा, एमाले हुँदै एकीकृत समाजवादी पार्टीमा गएर लडे ।

अब्दुल रहिम अन्सारी एमालेबाट उम्मेदवार बने । लोसपाका महानगर अध्यक्ष रहेका ओम प्रकाश सर्राफले हाम्रो नेपाली पार्टीमा गएर उम्मेदवारी दिए ।

मधेस केन्द्रित दलमा आवद्ध नेता कार्यकर्ताहरुमा पार्टी सिद्धान्त भन्दा व्यक्तिगत महत्वकांक्षा बढी देखिएकोले स्थिति बिग्रेको कतिपयको विश्लेषण छ भने कतिपयले मधेस केन्द्रित दलले गठबन्धन गर्दा ध्यान पुर्‍याउन नसकेको प्रतिक्रिया दिए ।

लोकतान्त्रिक समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झा उम्मेदवार हेरफेर गर्दा पार्टी कमजोर देखिएको बताउँछन् ।

‘पुरानै क्षेत्रमा उठ्दा प्रदेश सभा सदस्यमा रमेश कुर्मी दोहोरिएका छन्’, उनले भने ‘क्षेत्र नं ४ बाट १ मा आएका कारण पुराना नेता लक्ष्मणलाल कर्णले नराम्रो हार बेहोर्नुपर्‍यो ।’

जसपा पर्साका सचिव तवरेज अहमद अवस्था र परिस्थिति अनुसार गठबन्धन गरिएको भएपनि परिणाम उल्टो आएको बताउँछन् ।

‘एक्लै लड्दा सम्मानजनक मत ल्याउन सक्ने स्थिति थियो । एमालेसँग चुनावी तालमेल गरेपनि भोट परिवर्तन हुन सकेन ।

गठबन्धनको मत जोडेर ५० प्रतिशत मात्रै शक्ति सञ्चय गर्न सक्यौं’ उनले भने ‘एकातिर हतारमा गठबन्धन भयो, अर्कोतिर आन्तरिक कलहले पनि काम गर्‍यो । एमाले, कांग्रेसबाट आएका नेतालाई हराउनुपर्छ भन्ने मानसिकता पार्टीभित्रै देखियो ।’

राजनीति शास्त्रका पूर्व प्राध्यापक देवेन्द्र मिश्र पनि यसपटकको गठबन्धन मधेस विद्रोहबाट उदाएका मधेसकेन्द्रित दलका लागि अनुकुल नदेखिएको बताउँछन् ।

‘कम सिट दिएपछि जसपा कांग्रेस नेतृत्वको गठबन्धन छोडेर एमालेतिर आयो । कहिले कता कहिले कता हुँदा मधेसवादी दल मधेसको मुद्दा सम्बोधन गराउन भन्दा सत्ताका लागि बढी लाग्छन् भन्ने जनमानसमा प¥यो’ उनले भने ।

उनी अघि भन्छन्, ‘यसपटकको गठबन्धन मधेसी दलका लागि अनुकुल थिएन, काँग्रेस, एमालेपनि मधेसवादी शक्ति कमजोर हुन भन्ने नै चाहन्थे ।’

जसपाको राजनीतिक समिति सदस्य समेत रहेका मिश्र कार्यकर्ता तहमा मधेसवादी दल एक हुनुपर्छ भन्ने आवाज उठेको भएपनि नेतृत्वको व्यक्तिगत अहमका कारण हुन नसकेको बताउँछन् ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?