+
+

काभ्रे २ बाट एमालेका गोकुल बाँस्कोटा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १२:४०

९ मंसिर, काभ्रे । काभ्रे-२ बाट प्रतिनिधिसभामा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरे ।

बाँस्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ४८२ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत पाए । यसअघि २०७४ सालमा पनि यस क्षेत्रबाट बाँस्कोटा निर्वाचित भएका थिए ।

गोकुल बाँस्कोटा हुन् ?

२०२३ सालमा मण्डन देउपुर नगरपालिका-४ मा जन्मिएका गोकुल बाँस्कोटाले डेडीथुम्का उच्च माविबाट एसएलसी, रत्नराज्य बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह तथा रत्नराज्य क्याम्पसबाटै कला र साहित्यमा स्नातक उत्तीर्ण गरेका छन् ।

२०३८ सालमा अनेरास्ववियुमा आवद्ध भएर राजनीतिक यात्रा सुरु गरेका बाँस्कोटा २०४३ सालमा अनेरास्ववियुको जिल्ला सचिव र २०४५ सालमा जिल्ला अध्यक्ष निर्वाचित भए । २०४५ सालमै युवा संघको सदस्य बनेका बाँस्कोटा २०४७ सालदेखि २०५० तथा २०५४ देखि २०५८ सालसम्म नेकपा एमाले काभ्रेको जिल्ला कमिटी सदस्य भए ।

यस्तै २०५३ सालदेखि २०५९ सालसम्म काभ्रे काठमाडौं सम्पर्क मञ्च जिल्ला कमिटीको सचिव बनेका उनी २०५९ देखि २०६३ सम्म एमाले जिल्ला कमिटी काभ्रेको सहसपचिव तथा २०६४ देखि २०६६ सम्म जिल्ला कमिटीको सचिव भए । २०६७ देखि २०७१ सम्म दुई कार्यकाल नेकपा एमाले जिल्ला कमिटीको अध्यक्ष बनेका बाँस्कोटा यसअघि एमाले केन्द्रीय सदस्य रहँदै हाल पोलिटब्यूरो सदस्य बनेका छन् ।

२०७४ मंसिरमा भएको निर्वाचनबाट उनी संघीय सांसद निर्वाचित भएका थिए । पत्रकारिता क्षेत्रमा पनि स्थापित बाँस्कोटा प्रेस चौतारी नेपालको संस्थापकसमेत हुन् । उनले नेकपा एमाले प्रचार विभागको सदस्य तथा नेपाल पत्रकार महासंघ काभ्रेको सदस्यको रुपमा समेत काम गरिसकेका छन् ।

लामो समय मिडिया क्षेत्रमा सक्रियतापूर्वक काम गरेका उनले विभिन्न साप्ताहिक पत्रपत्रिकाहरुमा प्रमुख सम्पादक, कार्यकारी सम्पादक, समाचारदाता भएर काम गरेका छन् । २०५१ सालदेखि २०५२ सालसम्म रेडियो नेपालको कार्यक्रम घटना र बिचारमा पनि बाँस्कोटाले काम गरेका छन् ।

विद्यार्थी कालदेखि नै अनेरास्ववियुमार्फत परिवर्तनका आन्दोलनहरुमा सक्रिय बाँस्कोटाले विक्रम संवत २०४६ को जनआन्दोलनमा सक्रिय रुपमा लागेर नजिकबाट राजनीतिक दलहरुसँग नजिकसँग समन्वय गर्दै राष्ट्रिय स्तरको आन्दोलनमा योगदान गरेका छन् ।

वि.स २०७२/०७३ को जनआन्दोलनमा उनले काभ्रेबाट आन्दोलनमा नेकपा एमालेको तर्फबाट नेतृत्व गरेका थिए । आन्दोलन र राजनीतिक सक्रियताका कारण उनी पटकपटक पक्राउसमेत परेका थिए ।

२०७४ सालको निर्वाचनमा काभ्रे क्षेत्र नं. २ बाट निर्वाचित गोकुलप्रसाद बाँस्कोटा आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा पुनः काभ्रे क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

हाल नेकपा एमालेको पोलिट्ब्यूरो सदस्य र काभ्रे जिल्ला इन्चार्जसमेत रहेका बाँस्कोटा केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारका प्रभावशाली मन्त्री रहे ।

२०७४ चैत २ गतेदेखि २०७५ वैशाख १७ गतेसम्म सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री रहँदै २०७५ वैशाख १८ गतेदेखि २०७६ फागुन ८ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका बाँस्कोटाले केही समय शहरी विकास मन्त्रीको रुपमा पनि कार्यभार सम्हालेका थिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ठेकेदार कम्पनीका प्रतिनिधिसँग ७० करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?