+
+

३ जिल्लाको चुनावी विवाद कसरी हुँदैछ समाधान ?

दिपेश शाही दिपेश शाही
२०७९ मंसिर ९ गते १५:१०

९ मंसिर, काठमाडौं । ४ मंसिरमा मतदानका क्रममा विवाद भएका तीनवटा जिल्लाको समस्या समाधानका लागि निर्वाचन आयोगले पहल थालेको छ । समस्या समाधानका लागि आयोगले मतदान स्थगित भएको बाजुरामा १० मंसिरमा पुनः मतदान गराउने निर्णय नै गरिसकेको छ भने स्याङ्जा–२ र दोलखामा सुरू हुन नसकेको मतगणनालाई अगाडि बढाउने गरी आयुक्तहरूको नेतृत्वमा अध्ययन अगाडि बढाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ४ मंसिरमा मतदानका क्रममा विवाद भएका सबै जिल्लाका विवाद आगामी १६ मंसिरभित्र मतगणना सक्ने गरी समाधान गर्ने अनलाइनखबरलाई बताए ।

‘बाजुरामा स्थगित भएको मतदान १० मंसिरमा हुन्छ’, प्रमुख आयुक्त थपलियाले भने, ‘स्याङ्जा र दोलखामा सुरू हुन नसकेको मतगणनाको विषयमा पनि हाम्रा आयुक्तज्यूहरू पुगेर अध्ययन भइरहेको छ । अध्ययनपछि आएको सुझावअनुसार समाधान निकाल्छौं । १६ मंसिरभित्र निर्वाचनका सबै काम सम्पन्न गरिसक्छौं ।’

उनका अनुसार बाजुरामा मतदान स्थगित भएका मतदान केन्द्रहरूमा १० गते निर्वाचन गर्ने गरी तयारी सम्पन्न भइसकेको छ । त्यस्तै दोलखामा मतदान सम्पन्न भए पनि मतगणना सुरू हुन सकेको छैन । त्यहाँ आयुक्त नेतृत्वको टोलीले अध्ययन गरेर फर्किसकेको छ । उक्त टोलीले प्रतिवेदन पेश भएपछि के गर्ने भन्ने निर्णय लिने प्रमुख आयुक्त थपलियाले बताए । उनका अनुसार स्याङ्जा–२ मा पनि मतदान सम्पन्न भएर मतगणना सुरू हुन सकेको छैन । त्यहाँको समस्या समाधानका लागि आयोगले आयुक्त नेतृत्वको टोली अध्ययन गर्न पठाएको छ । उक्त टोलीको सुझावअनुसार थप निर्णय लिने थपलियाको भनाइ छ ।

के हो बाजुराको समस्या ?

निर्वाचनका दिन गत आइतबार बाजुराका दुई दर्जनभन्दा बढी मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ताबीच विवाद र झडप भएपछि केही ठाउँमा स्थगित भएको मतदान शनिबार हुने भएको छ ।

मतदानको दिन त्रिवेणी गाउँपालिका–७ मा रहेको मतदानस्थलमा मतदान सकिनै लाग्दा विवाद उत्पन्न भएको थियो । मतपेटिका खोसाखोसको अवस्था आएपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर कांग्रेस समर्थित युवा सञ्जीव अयडीको मृत्यु भएको थियो ।

त्यही दिन राति एमाले समर्थित अर्का युवा चेतन अयडीको पनि कुटपीटबाट गम्भीर घाइते भएपछि उपचारका क्रममा अछामको बयलपाटा अस्पतालमा मृत्यु भएको थियो । एमालेले कांग्रेस कार्यकर्ताले स्थानीयसमेत रहेका अनेरास्ववियुका केन्द्रीय सदस्य चेतनलाई कुटपिट गरी घाइते बनाएको र राति घरमै गएर हत्या गरेको आरोप लगाएको छ ।

चेतनका बुबा गगन अयडीले छोराको हत्यामा संलग्न रहेको भन्दै २२ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् ।

एमाले बाजुराले भने आफ्ना कार्यकर्ता अयडीको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्नुपर्ने र बुथ कब्जा गरेर फर्जी मत खसालिएका केन्द्रको मतदान बदर गरी १६ वटा मतदान केन्द्रमा पुनः मतदान गराउनुपर्ने माग राखेको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार बाजुराको बुढीनन्दा–५ मा शनिबार पुनः मतदान हुने निश्चित भएको छ । उनले त्यसका लागि सम्पूर्ण तयारी पूरा भएकाले नरोकिने बताए ।

एउटा मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको बाजुरामा एमालेबाट कर्णबहादुर थापा उम्मेदवार छन् भने नेपाली कांग्रेसबाट बद्रीप्रसाद पाण्डे उम्मेदवार छन् ।

यसअघि विवाद भएका कारण स्थगित भएको गुल्मी र सुर्खेतमा पुनः मतदान भइसकेको छ । राजनीतिक विवादका कारण ४ मंसिरमा स्थगित भएको गुल्मीको कालीगण्डकी गाउँपालिका–२ को भगवती मावि, अर्वेनी र सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित सिम्ता बहुमुखी क्याम्पसमा मतदानस्थलमा ६ मंसिरमा पुनः मतदान भइसकेको छ ।

के हो स्याङ्जाको विवाद ?

स्याङ्जा–२ मा एमालेले चार वटा मतदान केन्द्रमा कांग्रेसले बुथ कब्जा गरेको आरोप लगाएर पुनः मतदानको माग गरेपछि मतगणना सुरू हुन सकेको छैन । एमालेबाट उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेकी पद्मा अर्यालसहित ६ जना प्रतिनिधि सभाका उम्मेदवार, चार जना समानुपातिक उम्मेदवार र चार जना प्रदेशसभाका उम्मेदवार तथा तिनका प्रतिनिधिद्वारा निर्वाचन आयोगलाई बुझाइएको पत्रमा मतदान रद्द गरी पुनः मतदान गर्न माग गरिएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ३ को दिसिङकोट आधारभूत विद्यालय कमेरे, वडा नं ४ को राम मन्दिर मावि दार्सिङ, वडा नं ५ को जनसक्रिय मावि चिठ्ठी पोखरी र वडा नं ४ कै दिन दयालु आधारभूत विद्यालय साठीमुरे केन्द्रमा कर्मचारीलाई नियन्त्रणमा लिई अनधिकृत मतदान गरिएको उनीहरुको आरोप छ । उनीहरूले बुथ कब्जा गरेको खबर पाएपछि आफूहरु बुझ्न जाँदा उम्मेदवारहरूलाई समेत भित्र जान नदिई जबर्जस्ती भोट हालिएको निवेदनमा उल्लेख गरेका छन् ।

स्याङ्जा क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका धनराज गुरुङ उम्मेदवार छन् ।

आयोगले शुक्रबार उक्त क्षेत्रको विवादका विषयमा अध्ययन गर्न आयुक्त नेतृत्वको अध्ययन टोली पठाएको छ । त्यसको सुझावका आधारमा थप निर्णय लिने प्रमुख आयुक्त थपलियाको भनाइ छ ।

के हो दोलखाको समस्या ?

दोलखामा पनि नेकपा एमालेका उम्मेदवारले निर्वाचनमा धाँधली भएको र सत्ता गठबन्धनका कार्यकर्ताले मतदान केन्द्र नियन्त्रणमा लिएर एकलौटी मत हालेको आरोपसहित आयोगमा उजुरी दिएपछि मतगणना सुरू हुन सकेको छैन । एमालेले पुनः मतदान हुनुपर्ने माग राखेको छ । तर सत्ता गठबन्धनका उम्मेदवारहरू भने मतगणनाको माग गर्दै धर्नामा बसेका छन् ।

उजुरीमाथि छानबिन गर्न आयोगले बुधबार मात्र सहसचिव यज्ञप्रसाद भट्टराई नेतृत्वको तीन सदस्यीय टोली दोलखा पठाएको थियो । उक्त टोलीले समस्या समाधान गर्न नसकेपछि अध्ययन प्रतिवेदन बनाएर काठमाडौं फर्किएको छ । त्यस विषयमा केही दिनभित्रै निर्णय हुने प्रमुख आयुक्त थपलियाको भनाइ छ ।

एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दोलखामा गठबन्धनबाट माओवादी केन्द्रका गंगा कार्की उम्मेदवार छन् भने एमालेबाट बालकृष्ण शिवाकोटी उम्मेदवार छन् ।

जिल्लाका ५ वटा मतदान स्थलमा बुथ कब्जा गरेको भन्दै एमाले उम्मेदवार शिवाकोटीले मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटमा उजुरी दिएका थिए । एमालेले जिल्लाको वैतेश्वर, तामाकोशी, मेलुङ र शैलुङ गाउँपालिका अन्तर्गत विभिन्न ५ ओटा मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने माग राखेको छ ।

 

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?