+
+

नयाँ संसदमा ५० वर्ष माथिकै नेताको बर्चस्व

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ मंसिर ९ गते २२:३८
प्रतिनिधिसभा सदस्यमा निर्वाचित विभिन्न पार्टीका बढी उमेरका नेताहरु ।

९ मंसिर, काठमाडौं । काठमाडौं-२ बाट जितेकी २७ वर्षीया सोविता गौतम प्रत्यक्षतर्फ निर्वाचित हुने सांसदमा सबैभन्दा कम उमेरकी छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी थिइन् । तर सत्ता गठबन्धन र विपक्षी एमालेका बलिया उम्मेदवारलाई पञ्छ्याउँदै गौतमले जितेकी हुन् ।

उनी भन्दा दुई वर्षले जेठा योगेश गौचन थकालीले मुस्ताङबाट प्रतिनिधिसभा सदस्य जितेका छन् । बुवा रोमीको उत्तराधिकारीका रुपमा योगेश नेपाली कांग्रेसका उम्मेदवार बनेका थिए । योगेशले २०७४ सालमा बुवाका प्रतिस्पर्धी रहेका प्रेम तुलाचनलाई पराजित गरेका हुन् ।

अहिलेसम्म निर्वाचित भएका मध्ये जुम्लाका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही पनि कम उमेरकै नेताभित्र पर्छन् । राप्रपाका प्रवक्तासमेत रहेका शाही ३० वर्षका छन् । यसपछि ललितपुर–३ बाट जितेकी तोसिमा कार्की कम उमेरकी सांसद हुन् । उनी ३३ वर्षकी भइन् ।

बिहीबारसम्म अन्तिम नतिजा सार्वजनिक भएको १२८ मध्ये अरुणकुमार चौधरी (३७), हरि ढकाल (३९), रञ्जिता श्रेष्ठ (३९), अमनलाल मोदी (३७), ज्वालाकुमारी साह (४०) र महेश बर्तौला (४०) छन् । निर्वाचन आयोगको तथ्याङ्क अनुसार, बाँकी सांसदहरु ४० वर्ष माथिका छन् ।

७० वर्ष नाघेकै सांसदहरुको संख्या ७ छ । अर्थात् ४० मुनिका सांसद र ७० नाघेका सांसदको संख्या झण्डै हाराहारी छ । केपी शर्मा ओली (७०), डा. शेखर कोइराला (७२), सर्वेन्द्रनाथ शुक्ला (७२), नवल किशोर साह सुडी (७३), ध्रुबबहादुर प्रधान (७३), शेरबहादुर देउवा (७७), रामचन्द्र पौडेल (७८), चित्रबहादुर केसी (८०) र महन्थ ठाकुर (८०) ले चुनाव जितेका छन् ।

सवैभन्दा धेरै सांसद भने ५० देखि ६० वर्ष उमेर समूहका छन् । १२८ मध्ये यो उमेर समूहका नेताको संख्या ५० जना छ । ४० देखि ५० वर्ष उमेर समूहका प्रत्यक्ष निर्वाचित सांसदको संख्या ३६ छ । ६० देखि ७० वर्षसम्मका सांसद संख्या ४२ छ ।

यदि ५० वर्षलाई मानक मान्ने हो भने ५० भन्दा बढी उमेर समूहका सांसद संख्या धेरै हुन्छ । १२८ मध्ये ९२ जना प्रत्यक्ष निर्वाचित सांसद छन् ।

निर्वाचन आयोगको आंकडा अनुसार १२८ नवनिर्वाचित सांसदको उमेर समूह ।

उमेर (वर्ष)  सांसद संख्या
२५–३०
३१–४०
४१–५० २६
५१–६० ५०
६१–७० ३५
७१ र माथि
शुक्रवार अपरान्हसम्म १२८

यो चुनावमा प्रतिनिधिसभा तर्फको १६५ सदस्यका लागि २ हजार ४१२ जना उम्मेदवार थिए । त्यसमध्ये ७५९ जना ४० वर्ष मुनिका थिए । यो उमेर समूहका उम्मेदवार स्वतन्त्र धेरै थिए । दलहरुबाट ४०३ उम्मेदवार हुँदा स्वतन्त्र उम्मेदवार ३५६ थिए । तर उम्मेदवारी दिएकामध्ये शुक्रबार रातिसम्म यो उमेर समूहबाट १० जनाले मात्रै जितेका छन् ।

यो संख्या २०७४ मा जितेको भन्दा थोरै हो । त्यसबेला ४० वर्षमुनिका १४ जनाले प्रत्यक्ष जितेका थिए भने २२ जना समानुपातिकबाट आएका थिए । आयोगका अनुसार, ०७४ भन्दा यसपटक युवा उम्मेदवारी नै कम परेको थियो ।

०७४ को चुनाव भन्दा २०६४ को संविधानसभामा थोरै युवा आएका थिए । त्यो चुनावमा ३० वर्ष मुनिकै ५२ सभासद थिए । गोमा पाठक, गीता ठगुन्ना, उमा गोथे थकालीको उमेर ३० भन्दा कम थियो । पाठक र ठगुन्ना माओवादीबाट समानुपातिक सांसद हुँदा २५ वर्षकी थिइन् भने गोथे २६ वर्षकी ।

२०७० को चुनावमा भने ३० वर्षभन्दा कम उमेरका सांसद दुई जना मात्रै थिए, सरिताकुमारी यादव र पेम्बा गुरुङ (भोटे) । तत्कालीन मधेसी जनअधिकार फोरम (प्रजातान्त्रिक) कि समानुपातिक सांसद सरिताकुमारी यादव २५ वर्षकी थिइन् । त्यो चुनावमा प्रत्यक्ष निर्वाचित हुनेमा भने अभिशेकप्रताप साह थिएन । उनले ३१ वर्षकै उमेरमा जितेका थिए ।

त्यसबेला ४० वर्ष मुनिका ५७ सांसद थिए । ९ जना प्रत्यक्ष निर्वाचित भएका थिए । ४० देखि ५० वर्ष उमेर समूहका ५८ सांसद थिए भने ५० माथिका २०९ जना सांसद थिए । सभामुख ओनसरी घर्तीमगर सभामुख हुँदा ३६ वर्षकी मात्रै थिइन् ।

२०७४ को संसदमा भने दैलेखकी पार्वती विशंखे सवैभन्दा कम उमेरकी सांसद बनिन् । उनी सांसद हुँदा ३१ वर्षकी मात्रै थिइन् । एमालेकै विमला विक, माओवादीका अमनलाल मोदी र रामकुमारी चौधरी पनि कम उमेरका सांसद थिए । ४० वर्ष मुनिका सांसदमा शान्तिमाया पाख्रिन, गंगा चौधरी सतगौंवा, ओनसरी घर्तीमगर, विना मगर, सत्य पहाडी लगायत थिए ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?