+
+

लामो प्रतीक्षापछि संसदमा ठाकुर गैरे

दिपेश शाही दिपेश शाही
२०७९ मंसिर १० गते २०:३०

१० मंसिर, काठमाडौं । राष्ट्रिय राजनीतिमा लोकप्रिय छवि बनाएका ठाकुर गैरेलाई जनताको प्रतिनिधिका रूपमा संसदमा हेर्ने धेरैको चाहना लामो समयदेखि थियो ।

तर पार्टीभित्रैबाट अवसर पाउन नसकेका गैरे एमालेको आन्तरिक संगठन र युवाहरूमाझ सधैं चर्चाको विषय बनिरहे पनि संसदमा छिर्ने अवसर प्राप्त गरेनन् । लामो प्रतिक्षापछि यसपटक पाल्पा–२ बाट उम्मेदवार बनेका गैरे आफैले निरन्तर चुनाव जिताउँदै आएका सोमप्रसाद पाण्डेयलाई पराजित गर्दै संसद प्रवेश गरेका छन् ।

गैरेले ३ हजार ९६६ मतान्तरले पाण्डेयलाई पराजित गरेका छन् । गैरे २७ हजार ८ सय १७ मतसहित विजयी हुँदा एमाले छाडेर एकीकृत समाजवादीबाट चुनाव लडेका पाण्डेयले जम्मा २३ हजार ८ सय ५१ मत ल्याएका छन् ।

गैरे विद्यार्थी राजनीति हुँदै राष्ट्रिय राजनीतिमा उदाएका नेता हुन् । विद्यार्थी राजनीतिमा अनेरास्ववियुको अध्यक्षका हुँदा उनी सबै विद्यार्थी संगठनका नेताका रूपमा चिनिन्थे । त्यसपछि पार्टी राजनीतिमा पनि उनी सधैं खरो रूपमा उत्रिए । उनी एमालेको नयाँ पुस्ताका बलिया संगठक हुन् भने वैचारिक हिसाबले पनि उत्तिकै अब्बल नेताका रूपमा परिचित छन् । तर अवसरका हिसाबले भने सधैं पुछारमा रहे ।

गैरे भने अहिलेको निर्वाचनको नतिजालाई राजनीतिक खेलका रूपमा लिएका छन् । ‘संसदमा मेरो उपस्थिति विभिन्न कारणले हुन सकेको थिएन । यसपटक अवसर पाएँ विजयी पनि भएको छु’ उनले भने ।

चुनाव जितेपछि मतदातालाई धन्यवाद दिन व्यस्त गैरेले अनलाइनखबरसँगको कुराकानीमा यो विजयलाई आफ्नो व्यक्तिगत खुसीभन्दा पनि जनताले आफूमाथि थपेको जिम्मेवारीका रूपमा व्यक्त गरे । ‘जनताले गरेको अपेक्षा र विकास निर्माणका कामलाई पूरा गर्ने मेरो जिम्मेवारी थपिएको छ’, उनले भने, ‘मैले जनताका समस्यालाई अब संसदमा उठाएर कानून निर्माणमार्फत मुलुकको विकास निर्माणमा योगदान दिन्छु ।’ गैरेले आफू सधैं देश र जनताको पक्षमा खडा हुने बताए ।

गैरेले धेरै चुनाव पाल्पामा आफूले अहिले पराजित गरेका पाण्डेयका चुनावी कमाण्डर भएर जिताए । तर अवसरका हिसाबले आफू भने सधैं हारिरहे । यसपटक ठाकुर गैरे सर्वसम्मत उम्मेदवार हुनुमा पाण्डेयले एमाले परित्याग गर्नु हो ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका नातेदार (सम्धी) भएकाले पनि पाल्पाबाट पाण्डेयले सधैं टिकट पाउने र मन्त्री हुने अवसर पाए ।

त्यसबेला ठाकुर गैरे भने नेता हुनु भनेको सांसद र मन्त्री हुनु मात्रै नभएको भनेर चित्त बुझाउने गर्थे । ‘नेता हुनु भनेको सासंद र मन्त्री नै हुनुपर्छ भन्ने होइन, जहाँ बसेर पनि देशको विकास र सामाजिक परिवर्तनका निम्ति बोल्न सकिन्छ’, गैरे भन्ने गर्थे ।

यसपटक पाण्डेयले पार्टी छाडेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेसँगै गैरेका लागि अवसरको ढोका खुल्यो । उनले यो अवसरलाई चुक्न दिएनन् । २०५१ सालदेखि निरन्तर चुनावमा उठ्दै र जित्दै आएका पाण्डेयले उनलाई हराउँछन् भन्ने कतिपयको अनुमानलाई उनले गलत सावित गरिदिए । त्यो पनि जीवनरभर जसलाई काँध थापेर चुनाव जिताए उनैलाई पछार्दै ।

पार्टी विभाजनपछि एमालेको संगठन पाल्पामा तहसनहस हुने अनुमानलाई गैरेले बलियो चुनौती दिए । राष्ट्रिय राजनीति र सांसदका हिसाबले सधैं अवसर पाउँदै आएका पाण्डेयसँग एमालेको जिल्ला संगठनले विद्रोह ग¥यो । तर पनि पाल्पामा अब एमालेको भविष्य सकिन्छ भनेर गरेको अनुमानलाई गैरेले नै सास दिए ।

त्यसैको परिणाम गैरे निर्वाचन क्षेत्र र जिल्ला कमिटीबाट सर्वसम्मत सिफारिस भएर प्रतिनिधिसभा उम्मेदवारको टिकट पाए । उनले स्थानीय तहको निर्वाचनमा पनि राम्रो परिणाम निकाल्न निकै मिहिनेत गरेका थिए ।

भर्खरै विभाजित पार्टीलाई सजिलै पराजित गर्न सकिन्छ भन्ने अनुमानमा रहेको सत्ता गठबन्धनले साझा उम्मेदवारी दिएपनि एमालेलाई पहिलो शक्ति बन्नबाट रोक्न सकेको थिएन । पाल्पाका १० स्थानीय तहमध्ये ६ पालिका जितेर एमाले पहिलो दल बनेको थियो । त्यसका लागि पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला पार्टी इन्चार्जको भूमिकामा गैरे अनवरत खटिएका थिए ।

सधैं ‘फ्रन्टलाइनर’

पाल्पा बगनासकाली गाउँपालिका–८ का गैरेको मुख्य परिचय विद्यार्थी राजनीतिको पृष्ठभूमिसँग जोडिएर आउँछ । उनी यसलाई सांसद भए पनि नभए पनि कहिल्यै डगमगाउन नदिने बताउँछन् । ‘विद्यार्थीको नेता भइरहँदा जस्तो ठाकुर गैरेको परिचय बनेको छ, सांसद हुँदा पनि त्यो परिवर्तन हुने छैन’, उनी भन्छन् ।

२०४४ सालदेखि विद्यार्थी राजनीतिमा जोडिएका उनी २०६३ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बनेका थिए । त्यो अवधिमा उनी नेकपा मालेको बराङ्दी गाउँ कमिटीको सचिव, अनेरास्ववियु जिल्ला अध्यक्ष (२०५१), केन्द्रीय कमिटी सदस्य, केन्द्रीय सचिव, महासचिव र अध्यक्ष भए ।

विद्यार्थी राजनीतिजस्तै गैरे पार्टीमा पनि क्रमशः गाउँदेखि केन्द्रसम्म पुगे । गाउँ, जिल्ला र अञ्चल कमिटीको जिम्मेवारी लिदै २०६५ मा बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य बने । त्यो जितले एमाले पंक्तिमा ठूलै चर्चा पाएको थियो ।

पार्टीभित्र झाँगिएको कुनैपनि गुटमा नलागी गैरेले केन्द्रीय सदस्य जितेका थिए । त्यसमा पनि आफ्नो पृष्ठभूमिले काम गरेको उनको भनाइ छ । ‘विद्यार्थी राजनीतिमा खेलेको भूमिकाकै कारणले एमाले कार्यकर्ताले मलाई मत दिएर जिताउनुभयो, अहिलेसम्म त्यो कायमै छ’, उनी भन्छन् ।

नवौं र दशौं राष्ट्रिय महाधिवेशनमा पनि ठाकुर गैरेले केन्द्रीय सदस्य जिते । गएको मंसिरमा सम्पन्न दशौं महाधिवेशनमा उनले दोस्रो धेरै लोकप्रिय मत पाएका थिए । तर अहिलेसम्म पार्टीले उनलाई राजकीय भूमिकाको अवसर भने दिएको छैन ।

विद्यार्थी र पार्टी मोर्चामा आवद्ध भइरहँदा उनले उठाएका एजेन्डाले सधैं चर्चा पाए । उनकै नेतृत्वमा सात विद्यार्थी संगठनले गरेको आन्दोलनले संस्थागत विद्यालयमा समान शुल्कको व्यवस्था गरेको थियो । त्यस्तै विद्यार्थीहरूलाई सार्वजनिक यातायातमा ३३ प्रतिशत भाडा छूटको व्यवस्था पनि उनी विद्यार्थी आन्दोलनको नेतृत्वमा हुँदा नै भएको थियो । अहिले यो छुट बढेर ४५ प्रतिशत पुगेको छ ,

यस्तै लिम्पियाधुरासहित भूमि नेपालको भएको दावी सहित २०५५ सालबाटै निरन्तर आवाज उठाएका उनले लिम्पियाधुरासहितको नक्सा प्रकाशन गरेर कालापनी मार्च गरेका थिए । साथै, विद्यार्थी हुँदा नै उनले सुस्ता बचाउ अभियान र तिलाठीमा भएको सीमा हस्तक्षेपविरुद्ध आन्दोलनको नेतृत्व गरे ।

राजपरिवारका सदस्यविरुद्ध बोल्न पनि नपाउने समयमा उनले पारस शाहको उदण्डताबाट गायक प्रवीण गुरुको हत्या भएपछि राजा वीरेन्द्रसँग कारवाही माग गरेका थिए । त्यसका लागि उनले ५ लाख २३ हजार हस्ताक्षर संकलन गरेर राजाबाट कार्बाहीको प्रतिबद्धता गराएका थिए ।

साथै, ज्ञानेन्द्र शाहको निरंकुशता विरुद्ध आन्दोलनको थालनीमा अग्रणी भूमिका खेलेका उनले पछि आएर एनसेल कर छलीविरुद्ध आन्दोलनको नेतृत्व गरेका थिए । उनी महाभूकम्प–२०७२ मा मुलुकले भोगेको पीडामा पनि मल्हम लगाउन र उद्धार, राहत तथा पुनस्र्थापनामा सधैं खटिए ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?