+
+

सरकारी निकायमा गृह र रक्षा सबैभन्दा धनी, अन्यको सम्पत्ति कति ?

अच्युत पुरी अच्युत पुरी
२०७९ मंसिर ११ गते १७:०१

११ मंसिर, काठमाडौं । नेपाल सरकारका निकायमध्ये गृह र रक्षा सबैभन्दा धनी मन्त्रालय रहेको देखिएको छ । सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पीएएमएस)मा प्रविष्ट भएको विवरण अनुसार सरकारी निकायमध्ये यी दुई मन्त्रालयसँग धेरै सम्पत्ति रहेको देखिएको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार तीनै तहका सरकारका खर्च भएर जाने र खर्च भएर नजाने जिन्सी तथा सम्पत्ति (घर, फर्निचर, मेसिनरी औजारलगायत) का आधारमा यस्तो सम्पत्तिको गणना हुने गरेको छ ।

जस अनुसार देशभरका सरकारी निकायको कुल सम्पत्ति १ खर्ब ५० अर्ब ९५ करोड ९१ लाख रुपैयाँ रहेको देखिएको छ । जसमा गृह मन्त्रालय एक्लैसँग ४४ अर्ब २८ करोड १७ लाख रुपैयाँ बराबरको सम्पत्ति छ । रक्षा मन्त्रालयसँग भने ४१ अर्ब ४४ करोड ६३ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको देखिएको छ । यसमा प्राकृतिक स्रोत साधनको भने मूल्य कायम गरी नदेखाइएको महालेखाले स्पष्ट पारेको छ ।

महालेखाको आंकडा अनुसार गृह र रक्षापछि धनी निकाय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हो । यो मन्त्रालयसँग ८ अर्ब १८ करोड ३८ लाख रुपैयाँ बराबरको सम्पत्ति छ । सरकारी निकायमध्ये सबैभन्दा कम दलित आयोगसँग २ करोड ५५ लाख रुपैयाँ मात्र सम्पत्ति रहेको विवरणमा उल्लेख छ ।

सम्पत्तिको विवरण ५० अर्ब १५ करोडले बढ्यो

महालेखा नियन्त्रकका अनुसार सरकारी सम्पत्तिको यो भ्यालु आर्थिक वर्ष २०७८/७९ सम्मको विवरणमा आधारित हो । आव २०७७/७८ सम्म प्रविष्ट भएको विवरणमा भने सरकारी निकायसँग १ खर्ब ८० करोड रुपैयाँ बराबरको मात्र सम्पत्ति रहेको देखिएको थियो । एक वर्षमा ५० अर्ब १५ करोड रुपैयाँ बढीको सम्पत्तिको विवरण आएको छ ।

कार्यालयका अनुसार यस्तो रेकर्डमा सरकारी भवनबाहेक अन्य निर्मित सम्पत्तिको रेकर्ड अझै आइसकेको छैन । मूल्य नखुलेका पुराना सम्पत्तिको रु. १ मात्र कायम गरिएको छ । अर्कोतर्फ सरकारी निकायका सम्पत्तिको यकिन मूल्यांकन समेत भइनसकेका कारण सार्वजनिक सम्पत्तिको वास्तविक मूल्य कायम गर्न भने अझै पनि समस्या रहेको कार्यालयले जनाएको छ ।

सरकारले सार्वजनिक संस्थाको यकिन सम्पत्ति मूल्यांकन गर्ने उद्देश्यले सरकारी निकायबाट सम्पत्तिको मूल्यांकन गरी त्यसलाई पीएएमएसमा प्रविष्ट गर्न थालिएको हो । यस्तो विवरणमा ठूला आयोजना, प्राकृतिक स्रोत र सम्पत्तिको विवरण भने प्रविष्ट भइसकेको छैन । यस विवरणमा विगतमा अस्तित्वमा रहेका र अहिले खारेज भइसकेका कतिपय निकायको समेत विवरण राखिएको छ ।

धेरै सम्पत्ति भएका १० सार्वजनिक निकाय

निकाय सम्पत्ति
राष्ट्रपति कार्यालय १८ करोड ९१ लाख
उपराष्ट्रपति कार्यालय ७ करोड ८९ लाख
प्रदेश प्रमुखहरु १६ करोड २१ लाख
संघीय संसद २४ करोड १७ लाख
अदालत ५ अर्ब १२ करोड ९५ लाख
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ७१ करोड ४३ लाख
महालेखा परीक्षकको कार्यालय १६ करोड ८६ लाख
लोकसेवा आयोग ५० करोड ४९ लाख
निर्वाचन आयोग १ अर्ब ६७ करोड ५७ लाख
राष्ट्रिय मानवाधिकार आयोग १३ करोड ३७ लाख
न्याय परिषद् ५ करोड ८० लाख
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ९ करोड २६ लाख
राष्ट्रिय महिला आयोग ६ करोड ३६ लाख
राष्ट्रिय दलित आयोग २ करोड ५५ लाख
राष्ट्रिय समावेशी आयोग ३ करोड ७१ लाख
आदिवासी जनजाती आयोग ३ करोड ४७ लाख
मधेशी आयोग ४ करोड १ करोड
थारु आयोग ४ करोड ४२ लाख
मुस्लिम आयोग ४ करोड ७४ लाख
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ३ अर्ब ८७ लाख १२ करोड
अर्थ मन्त्रालय ५ अर्ब २२ करोड २९ लाख
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ९३ करोड ६३ लाख
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय ३ अर्ब ८७ करोड ९४ लाख
कानुन, न्याय तथा संसदीय मामिला २२ करोड ८४ लाख
खानेपानी मन्त्रालय ९७ करोड ७ लाख
गृह मन्त्रालय ४४ अर्ब २८ करोड १७ लाख
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ६४ करोड ९३ लाख
परराष्ट्र मन्त्रालय ५५ करोड ८४ लाख
वन तथा वातावरण मन्त्रालय १ अर्ब १२ करोड ४९ लाख
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण ४ अर्ब ४४ करोड ४ लाख
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ८ अर्ब १८ करोड ३८ लाख
महिला, बालबालिका तथा जेष्ठ नागरिक १० करोड २ लाख
युवा तथा खेलकुद मन्त्रालय १४ करोड २६ लाख
रक्षा मन्त्रालय ४१ अर्ब ४४ करोड ६३ लाख
शहरी विकास मन्त्रालय २ अर्ब १२ करोड ५५ लाख
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय २ अर्ब ४४ करोड ९८ लाख
संघीय मामिला तथा संसदीय व्यवस्था ३ करोड ५ लाख
सूचना तथा सञ्चार प्रविधि मन्त्रालय ६ अर्ब ८४ करोड ८० लाख
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय १ अर्ब ६९ करोड ९१ लाख
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ४ अर्ब ९५ करोड ८१ लाख
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ४६ करोड ४० लाख
राष्ट्रिय योजना आयोग ४७ करोड ८ लाख
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ७७ करोड १० लाख

स्रोत : महालेखा नियन्त्रक कार्यालय

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?