+
+
झलनाथ खनालसँग अन्तर्वार्ता :

‘धाँधली भयो, कांग्रेसभित्रका मण्डले र द्रव्यपिशाचले अन्तर्घात गरे’

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते २०:०२

नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनाल इलाम १ को चुनावी पराजयबीच मतगणना बहिष्कार गरेर काठमाडौं फर्कंदै छन् ।

उनले सत्ता गठबन्धन, कांग्रेस, निर्वाचन आयोग आदि उपर गम्भीर प्रश्न उठाएका छन् । खनालसँग अनलाइनखबरका बसन्त बस्नेत ले गरेको संक्षिप्त फोन वार्ता :

तपाईंले मतगणना प्रक्रियाको किन विरोध गर्नुभएको ?

इलाम १ को गणनामा सुरुदेखि नै रहस्यमय र धाँधलीपूर्ण गतिविधि भए । मतगणना अधिकृतले एकैपटक विभिन्न पालिकाका ३२ वटा बाकस घोप्ट्याउन लगाएछन् । त्यो अवैज्ञानिक थियो । किन यसो गरेछन् भनेर मैले कारण खोजें । पाँच सय मत गायब पारेछन् ।

त्यसपछि यहाँभित्र अनियमितता छ भन्ने प्रष्ट भएपछि गन्ने प्रक्रियामा कमजोरी भएको थाहा भयो । मेथर्ड बेठिक छ, कर्मचारीमाथि पनि आशंका भो । सबै आँकडा ठिक हुँदाहुँदै पनि मत कसरी गायब भयो ? यसको जवाफ नपाउँदासम्म हामी गणनामा सहभागी हुँदैनौं भनेका हौं ।

त्यसपछि बसेको सर्वदलीय बैठकले निचोड निकालेपछि कुरा मिलिसकेको थियो होइन ?

त्यो बैठकमा हामीले किन अनियमितता भयो भनेर सोध्यौं । एमालेकै मान्छेहरु पनि हतप्रभ भए । कसैले जवाफ दिन सकेनन् । मैले निर्वाचन आयोग र सम्बन्धित अधिकृतसँग कुरा गरें । उहाँहरुले यहाँ केही मत गायब भएको होला, तर त्यो मत अर्को कुनै बाकसमा हुन सक्छ भन्न थाल्नुभयो । एउटा बाकसमा खसालेको मत अर्को बाकसमा कसरी भेटिन सक्छ ? यस्तो कुरा गर्ने ? त्यो आफैंमा अनियमितता भएन भन्ने कुरा मैले राखें । यति हुँदाहुँदै गणना जारी राख्ने हो भने प्रक्रियामा हाम्रो सहमति हुँदैन भनेको हुँ ।

निर्वाचन आयोगलाई तपाईंले के भन्नुभयो ?

मैले यही धाँधलीबारे कुरा राखें । आयोगले पनि कुनै जवाफ दिन सकेन । अर्को बुथ गणना गर्ने बेला कर्मचारी फेरिए । वडाहरुको गन्न थाले पनि पहिले नै काम तमाम गरिसकेछन् । ३६६ मत बढी देखियो । मैले यो कुरा राख्दा उनीहरु भन्छन्, बाकसमा जति मत देखियो त्यति नै सदर हुन्छ । यो त अनियमितता भयो, धाँधली भयो भनेर मैले आफू निस्केर गएँ ।

अब तपाईं के गर्नुहुन्छ ?

म अब अदालत जान्छु । आफ्नो कुरा त्यहीं राख्छु ।

तपाईंले निर्वाचन आयोगमाथि किन शंका गर्नुभएको ?

यसले बिल्कुलै यान्त्रिक र प्राविधिक कुरा मात्रै गर्‍यो, जुन मलाई चित्त बुझेन ।

निर्वाचन आयोगको काम नै प्राविधिक मात्रै गर्ने होइन र ?

होइन, विवाद भइसकेपछि यसले राजनीतिक समाधान पनि खोज्नुपर्छ । त्यसपछि मात्रै आयोग अगाडि बढ्ने हो । गठबन्धनको बैठकले पनि पुनः मतदान हुनुपर्छ भनेर माग गरेको छ । आयोगले त्यसलाई ध्यान नै दिएन । मैले पत्रकार सम्मेलनमा पनि यो कुरा राखेको छु ।

तपाईं सत्ता गठबन्धनमा हुनुहुन्छ । सरकारकै पक्षबाट धाँधली भयो भन्न मिल्छ ?

किन मिल्दैन ? सरकारले शान्ति सुरक्षालगायत प्राविधिक पक्ष मिलाइदिने मात्रै हो । सरकारले धाँधली गर्ने सम्भावना नै हुँदैन । बाँकी सम्पूर्ण काम त निर्वाचन आयोगले नै गरेको हो । इलामका बुथहरुमा जे खटनपटन भयो, त्यो त सरकारलाई थाहा पनि छैन । यसमा मिस्लिड गरियो कि गरिएन भनेर बुझ्दै जाँदा धेरैजसो बुथहरुमा एमालेको सेटिङ रहेछ । बुथदेखि नै धाँधली हुँदै आएछ । यो प्रष्ट छ ।

झन्डै ३ हजारको अन्तरले हार्नुलाई कसरी बुझ्ने ? जनादेश तपाईंको पक्षमा रहेछ त ?

यो अनियमितता नै एउटा फ्याक्टर हो । अर्को फ्याक्टर चैं गठबन्धन घटकभित्र मण्डले र द्रव्यपिशाच प्रवृत्तिका आत्मघाती र गैरजिम्मेवार तत्वहरु हुन् । तिनले अन्तर्घात गरे ।

कांग्रेसलाई भन्नुभएको हो ?

कांग्रेसभित्र छन् त्यस्ता अन्तर्घाती । एउटा पक्षले सुरुदेखि अन्तिमसम्म सघायो । उहाँहरुलाई मुरीमुरी धन्यवाद । तर अर्को सेक्सन अन्तर्घातमा लाग्यो । मतदानमा त्यो देखियो । त्यो अन्तर्घातका बाबजुद हामी अघि बढ्दै थियौं । तर अलिकति पुगेन । किनभने एक हजार मत अन्तर्घात हुँदा दुई हजारको ग्याप हुन्छ ।

तपाईं पूर्वप्रधानमन्त्री भइसकेको, पार्टी प्रमुख भइसकेको नेताले पराजय स्वीकार गर्न नसकेको देखिंदैन र ?

इलाम १ का मतदाता, सबै नागरिकलाई म धन्यवाद दिन्छु । चुनावमा हारजित हुन सक्छ । मजस्तो मान्छेलाई हारले फरक पार्दैन । संसदमा उभिएर बोल्न नपाइने मात्रै त हो । यस्ता कुनै पनि नतिजाले मेरो राजनीतिक हैसियतलाई फरक पार्दैन ।

जित्ने उम्मेदवारलाई बधाई दिनुभयो ?

महेश बस्नेतलाई मेरो बधाई नै छ । उनले जितुन् । तर निर्वाचनको प्रक्रिया भनेको विधिसम्मत र कानुनसम्मत हुनुपर्छ । त्यसमा धाँधली षड्यन्त्र अनियमितता हुनुहुँदैन । बाकसमा जनताले हालेका मत कसले गायब गर्यो । जनताले हाल्दै नहालेका मत कसले हाल्यो ? प्रश्न यो मात्रै हो ।

तपाईंले महेश बस्नेतलाई फोन गरेर बधाई दिनुभयो ?

म अहिले बाटोमा छु । काठमाडौं पुगेपछि त्यसबारेमा विचार गरौंला ।

तर तपाईंले बधाई नदिने सम्भावना पनि छ ?

अँ, त्यो सम्भावना पनि छ । किनभने मैले प्रक्रियामा प्रश्न उठाएर छाडी हिंडेको हुँ । अदालतको फैसला आएपछि बधाई दिनेबारे निर्णय हुन सक्छ ।

कांग्रेससँग अब सहकार्य हुन्छ ?

इलामको एउटा पक्ष त लोकतन्त्र, संविधानकै पक्षमा छ । अर्को पक्ष चाहिं सडेर गलेर खत्तम भइसकेको रहेछ । यस्तै हो भने कांग्रेसको भविष्य के हुन्छ ? कांग्रेसले भविष्य बनाउने हो भने बोरामा एउटामात्रै आलु सडेको छ भने मिल्काउनुपर्छ ।

तपाईंले देउवा कांग्रेसलाई भन्नुभएको कि इतर कांग्रेसलाई भन्नुभएको ?

मैले दुवैलाई भनेको होइन । इलामका केही कांग्रेसलाई मात्रै भनेको हो । मण्डले र द्रव्यपिशाच चरित्र भएका छन् तिनीहरु ।

अब यस्तो परिस्थितिमा सत्ता गठबन्धनको भविष्य के हुन्छ ?

सत्ता गठबन्धनमा भएका सबैलाई म धन्यवाद दिन्छु । आगामी दिनको परिस्थितिबारे गहिरो विश्लेषण गरेपछि भन्न सकिन्छ ।

नयाँ गठबन्धन पनि बन्न सक्छ ?

नयाँ संसद बनेको छ । कसैको बहुमत छैन । त्यसैले गठबन्धन बन्नु अनिवार्य छ । विभिन्न खालका गठबन्धन बन्ने सम्भावना देखिंदैछन् । नयाँ पार्टीहरु पनि आएका छन् । उनीहरु देशलाई कसरी अगाडि बढाउँछन् हेरौं न ।

एमालेसँग मिल्ने सम्भावना पनि छ ?

सम्भावना भनेको अनन्त हुन्छ । ती सम्भावनाबारे अध्ययन गर्नुपर्छ । चारदलीय गठबन्धन जारी नै छ । हामी यहाँभित्र छलफल गर्छौं । अझ उन्नत ढंगले अगाडि लैजानेबारे कुरा गर्छौं ।

तपाईं अब राष्ट्रपतिको दौडमा हुनुहुन्छ कि छाड्नुभयो ?

यसबारे केही सोचेको छैन । मुलुकलाई रुपान्तरण गर्ने सही एजेन्डाहरु के के हुनसक्छन् भन्नेबारे छलफल गर्छौं । संख्या पुर्याउने, पद बाँड्ने मात्रै कुरा गरेर गठबन्धन टिकाउन सकिंदैन ।

तपाईंले भनेजस्तो मुलुकलाई रुपान्तरण गर्ने एजेन्डामा सहमति भयो भने राष्ट्रपति पदमा उम्मेदवारी दिनुहुन्छ ?

अँ, त्यस्तो परिस्थिति आएछ भने सोचौंला । पहिले त गठबन्धनभित्रै खुला छलफल हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?