+
+

कार्यकारी पदमा पुग्ने रामचन्द्र मोह

सरकार तथा पार्टीको मूल नेतृत्वमा एकपटक पुग्ने उत्कट चाहना पौडेलको छ । उमेरका कारणले सक्रिय राजनीतिका लागि उनका लागि पर्याप्त समय पनि छैन । तसर्थ, पार्टी भित्र र बाहिरको सन्तुलन मिलाउन पौडेल प्रयासरत छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ मंसिर १२ गते २१:०९

१२ मंसिर, काठमाडौं । सत्ता गठबन्धनका दलको बहुमत पुग्ने संकेत देखिएसँगै नेताहरुको दौडधुप बढेको छ । सत्ता नेतृत्वको जिम्मेवारी पुनः कांग्रेसको काँधमा आउने भएसँगै उक्त दलका शीर्ष केही नेताको सक्रियता बढेको छ । अन्य नेताको तुलनामा दौडधुप रामचन्द्र पौडेलको बढी छ ।

सरकार तथा पार्टीको मूल नेतृत्वमा एकपटक पुग्ने उत्कट चाहना पौडेलको छ । उमेरका कारणले सक्रिय राजनीतिका लागि उनका लागि पर्याप्त समय पनि छैन । तसर्थ, पार्टी भित्र र बाहिरको सन्तुलन मिलाउन पौडेल प्रयासरत छन् ।

तनहुँ–१ बाट निर्वाचित भई आएका नेता रामचन्द्र पौडेल आफ्नै नेतृत्वमा सरकार बनाउने ध्याउन्नमा छन् । पार्टी भित्रको आन्तरिक छलफलसँगै पौडेलले दल बाहिरका नेतासँग पनि छलफल सुरु गरेका छन् । आइतबार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई बालुवाटार गएर भेटे ।

१४ औं महाधिवेशनमा पौडेलले सभापतिमा देउवालाई गुन लगाएका छन् । देउवाका कट्टर विरोधी पौडेल महाधिवेशनसँगै उनीसँग नजिकिएका थिए । महाधिवेशनको मतदान प्रक्रियामा भाग नलिएर देउवालाई उनले मौन समर्थन जनाएको भन्दै तत्कालीन समयमा संस्थापन पक्षका नेताहरु उनी माथि खनिएका थिए । महाधिवेशनहुँदै गठबन्धनको सरकार निर्माण, तालमेलमा दुई नेता (देउवा–पौडेल)को पक्षधरता लगायतले देउवा–पौडेलको सम्बन्ध नजिकिएको छ ।

प्रधानमन्त्रीको आकांक्षा सहित शनिबार साँझ बालुवाटार पुगेका पौडेलको इच्छालाई देउवाले सुनेका छन् । पौडेल निकट एक नेताहरुका अनुसार देउवाको भेट पश्चात् उनीमा आत्मविश्वास बढेको छ । ‘उहाँ (रामचन्द्र) कन्फिडेन्ट देखिनुभएको छ । सरकारको नेतृत्व गर्न पार्टीभित्रका अरु नेतासँग पनि छलफल गर्नुहुन्छ,’ पौडेल निकट एक नेताले भने ।

महाधिवेशनमा अप्रत्यक्ष रुपमा देउवालाई साथ पुर्‍याएका पौडेल यसपटक प्रधानमन्त्रीका लागि उनकै सहयोगको अपेक्षा राखेका छन् । त्यसो त, महाधिवेशन पश्चात् दुई नेताको निकटता बढेको पनि छ । प्रधानमन्त्री भएपछि देउवाले शीर्ष नेताहरु सम्मिलित उच्चस्तरीय समन्वय समितिको संयोजक बनाइदिए ।

संयोजक २-२ महिनामा परिवर्तन गर्ने सहमति भएपनि आजपर्यन्त पौडेल नै उक्त पदमा छन् । गठबन्धनका दलमा समन्वयकारी नेताको पहिचान उनले बनाएका छन् । सत्ता सहयात्री अरु दुई दलका अध्यक्षलाई मिलाउन सक्ने विश्वासमा उनी छन् ।

पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार एकीकृत समाजवादीका अध्यक्ष नेपाल नेता पौडेलप्रति सकारात्मक देखिएका छन् । सोमबार दुई नेताको भेटमा नेपालले राखेको बोली उद्धृत गर्दै अधिकारीले भने, ‘गठबन्धन बनाउन तपाईंले दुःख गर्नुभएको पनि छ । तपाईंको पक्षमा पार्टी सकारात्मक छ ।’

पुरानो पुस्ताका नेताहरुलाई एउटै डालोमा राखेर नहेर्न पौडेल पटक पटक नागरिकसँग आग्रह गरिरहेका हुन्छन् । परीक्षणको सन्दर्भमा पुराना पुस्ताका अरु नेताहरुसँग आफ्नो तुलना नै नहुने उनी तर्क गर्छन् । मुलुकको उन्नति र प्रगति गर्ने दूरदृष्टि आफूसँग भएको उनी बताउँछन् ।

‘मसँग दूरदृष्टि छ । कार्यकारी भूमिकामा रहेर सुशासन दिने सामर्थ्य पनि छ ।’ चुनाव अघि तनहुँमा उनले भनेका थिए, ‘सुशासन दिन कार्यकारी पदमा पुग्नेसँग नैतिक बल चाहिन्छ । त्यो मसँग छ ।’

विगतमा पटक पटक मन्त्री भएका पौडेलको आर्थिक मामिलामा बेदागी छवि भएका नेताका रुपमा उनको चित्रण गरिन्छ । विगतको पृष्ठभूमि देखाएर एकपटक कार्यकारी पदमा पुग्ने अभिलाषा उनीमा देखिन्छ । अनियमितताको कुनै घटनामा नमुछिएको तथा कार्यकारी पदमा पुगेर केही गर्ने हुटहुटी पौडेलमा रहेको उनी निकटहरु बताउँछन् ।

‘जतिपटक मन्त्रालय सम्हाल्ने गरी सत्तामा पुगे पनि उहाँको छवि स्वच्छ छ ।’ संस्कृत विश्वविद्यालयमा प्राध्यापनरत पौडेल निकट सह–प्राध्यापक शान्तिकृष्ण अधिकारी भन्छन्, ‘बीपीको सिद्धान्त र विचारलाई बोकेर हिंडिरहने व्यक्ति उहाँ हो ।’ क्रियाशीलता र वैचारिक तवरले पौडेल युवा नै रहेको उनी दाबी गर्छन् ।

आफ्नै विरुद्धमा उत्रिंदै आएका पौडेल निकटता बढ्नुले सभापति देउवालाई पनि लाभ मिलेको विश्लेषण कांग्रेसमा हुन्छ । प्रधानमन्त्रीको विश्वासपात्रका रुपमा उभ्याएका उनलाई नै देउवाले संसदीय दलमा अघि सार्ने आकलन कतिपयको छ । संसदीय दलमा प्रतिस्पर्धा गर्ने प्रतिबद्धता सहित महामन्त्री गगन थापाले मत मागेका थिए । उनी पछि हट्ने पक्षमा देखिंदैनन् ।

पौडेल निकट एक नेताका अनुसार साझा व्यक्तिका रुपमा पौडेललाई देउवाले संसदीय दलमा उभ्याउन पनि सक्छन् । ‘गगनजीले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने भनेर नै मत माग्नुभएको छ । त्यसले सभापतिमा दबाव परेको छ’ पौडेल निकट नेता भन्छन्,’ आफ्नो विकल्पमा संसदीय दलमा रामचन्द्रलाई अघि सार्ने सम्भावना पनि छ ।’

प्रधानमन्त्री देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस नेता विमलेन्द्र निधिलाई यस बीचमा पौडेलले आफ्नो पक्षमा समर्थन जनाउन भेटिसकेका छन् । पार्टीभित्रको शक्ति सन्तुलन तथा उनको छुट्टै समूह समेत अस्तित्वमा नरहेकाले पौडेलको दौडधुपले परिणाम नदिने कांग्रेसकै नेताहरु बताउँछन् । संस्थापनइतरको लगाम उनको हातमा छैन ।

संस्थापन पक्षको नेतृत्व देउवाले नै गरेका छन् । सभापति पक्षधर प्रत्यक्ष तथा समानुपातिकबाट बहुमत सदस्य आउने भएकाले देउवा नै अघि सर्ने नेताहरु बताउँछन् । ‘उहाँ (रामचन्द्र) ले धेरै जनालाई भेट्दै हिंड्नुभएको छ । प्रधानमन्त्रीको आशा छ ।’ एक केन्द्रीय सदस्य भन्छन्, ‘प्रधानमन्त्री नै हुने अवस्था त छैन । राष्ट्रपतिको पद सुरक्षित गराउन सक्रिय हुनुभएको होला ।’ आफ्नो इच्छा जाहेर गर्न तथा साथ खोज्न महामन्त्री थापासँग पनि उनले भेट्ने भएका छन् ।

पौडेल पार्टी र सरकारका दुई सर्वोच्च पदमा मात्रै पुग्न बाँकी छ । पटक ६ पटक प्रतिनिधि सभामा निर्वाचित उनी पटक पटक मन्त्री समेत बनेका छन् । कार्यकारी ७८ वर्षका पौडेल यसपटक सहित ७ पटक निर्वाचनमा प्रतिस्पर्धा गरेका छन् ।

प्रतिस्पर्धा गरेको ७ मध्ये ६ पटक उनले चुनाव जिते । तर २०७४ को चुनावमा एमालेका कृष्णकुमार श्रेष्ठसँग तनहुँ–१ बाट पौडेल पराजित भए । यसपटक एमालेका उम्मेदवारलाई पराजित गर्दै पौडेलले २५ हजार ३१३ मत सहित जित निकाले ।

२०४४ सालमा केन्द्रीय सदस्य बनेका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा छन् । २०४८ को निर्वाचनमा तनहुँ १ बाट निर्वाचित पौडेलको मन्त्री हुने क्रम त्यसै बेलाबाट सुरु भएको थियो । स्थानीय विकासमन्त्री मन्त्रीको जिम्मेवारी सम्हाले ।

२०४९ सालमा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने । २०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भए । २०५१ सालको निर्वाचन पछि सभामुखमा निर्वाचित भएका थिए । २०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाए ।

शान्ति प्रक्रिया सुरु हुनेबित्तिकै पौडेल शान्तिमन्त्री बने । २०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति बनेका थिए । २०६५ सालमा उनी संसदीय दलको नेतामा निर्वाचित भए । उनले कार्यवाहक सभापतिको भूमिका समेत निर्वाह गरिसकेका छन् ।

कांग्रेसका नेताहरुमा समाजवादको वकालत गर्ने सीमित नेताहरुमध्ये पौडेल एक हुन् । समाजवादलाई अहिलेको समयानुकूल कसरी बनाउने बारेमा उनले पुस्तक पनि लेखे । उनी कांग्रेसभित्र नीतिगत र वैचारिक क्षमता राख्ने नेतामध्ये अग्रपंक्तिमै गनिन्छन् ।

सानो घेराबाट बाहिर निस्कन नसक्ने र लाभको पदमा पुग्दा आफन्तलाई सरकारी जिम्मेवारी दिने कार्यमा लिप्त हुने गरेको आरोप उनीमाथि विगतमा लाग्ने गरेको थियो ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?