+
+

विश्वकपः पोर्चुगल अन्तिम-१६ मा, उरुग्वे समूहबाटै बाहिरिने खतरा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते ४:५३

१२ मंसिर, काठमाडौं । बुर्नो फर्नान्डेजको दुई गोल सहयोगमा पूर्व च्याम्पियन उरुग्वेलाई हराउँदै पोर्चुगलले फिफा विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

दुवै टिमले स्तरीय खेलको नमूना प्रस्तुत गरेका थिए । तर, गोल दोस्रो हाफमा मात्र सम्भव भयो । ५४औं मिनेटमा बुर्नो फर्नान्डेजले गरेको क्रस उरुग्वेका गोलरक्षक सर्जियो रोचेटलाई छक्याउँदै गोल भयो ।

सुपरस्टार क्रिस्टियानो रोनाल्डोले बल आफ्नो टाउकोलाई छोएर गोल भएको दावी गरे पनि म्यानचेस्टर युनाइटेडका मिडफिल्डर बुर्नोले नै गोलकर्ताको मान्यता पाए ।

खेलमा पोर्चुगल हावी भए पनि उरुग्वेले बराबरीको केहि अवसर गुमाएको थियो । पहिलो हाफमा रोड्रिगो बेन्टाकरको उत्कृष्ट प्रहार पोर्चुगिज गोलरक्षक डिओगो कोस्टाले बचाएका थिए । दोस्रो हाफमा म्याक्सी गोमेजको प्रहार पोष्टमा लागेपछि उरुग्वेले बराबरीको सुन्दर मौका गुमाएको थियो ।

इन्जूरी समयमा पोर्चुगलले पेनाल्टी पायो । भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)ले उरुग्वेका जोसे जिमिनेजले बक्सभित्र ह्याण्ड गरेको भन्दै दिएको पेनाल्टीलाई बुर्नोले गोलमा परिणत गरेका थिए ।

खेलको अन्तिम सेकेण्डमा बुर्नो आफ्नो पहिलो विश्वकप ह्याट्रिकबाट चुके । उनको प्रहार पोष्टमा लागेर फर्किएको थियो ।

यो खेलको दोस्रो हाफमा बहुरंगी झण्डासहित एक व्यक्ति मैदान प्रवेश गरेका थिए । उनले सेभ युक्रेन, इरानी महिलाका लागि सम्मानजस्ता नारा लेखिएको टी-शर्ट लगाएका थिए ।

यो हारपछि दुईपल्ट विश्वकप जितेको उरुग्वे यसपल्ट समूह चरणबाटै घर फर्किने खतरा बढेको छ । नकआउट चरणमा प्रवेश पाउन उरुग्वेले समूहको अन्तिम खेलमा घानालाई पराजित गर्नुपर्नेछ भने पोर्चुगलले दक्षिण कोरियालाई हराउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?