+
+

३ देशका लागि खेलेका सुपरस्टार डी स्टेफानो जसले कहिल्यै विश्वकप खेल्न पाएनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १६:२०

१३ मंसिर, काठमाडौं । जसरी कीर्तिमानी तीन पटक विश्वकप जितेका पेले फुटबलकै महान् खेलाडी भनेर चिनिन्छन् । डिएगो म्यारडोना एक्लै अर्जेन्टिनालाई विश्वकप जिताएर महान खेलाडी बने ।

तर, सन् १९५० को दशकमा एक त्यस्ता सुपरस्टार खेलाडी पनि थिए जसले विश्वकप जित्ने त परको कुरा विश्वकप समेत खेल्न पाएनन् ।

अर्जेन्टिनाका अल्फ्रेडो डी स्टेफानो त्यस्ता सुपर स्टार हुन् जसले कहिल्यै विश्वकप नै खेल्न पाएनन् । क्लब लेभलमा भने सन् १९५० र ६० को दशकमा उनले धेरै उपाधि जिते ।

डी स्टेफानोलाई अहिलेसम्मै उत्कृष्ट खेलाडीहरु मध्ये एक मानिन्छ । तर, धेरैलाई पेले र म्याराडोनाको नाम थाहा छ भने डी स्टेफानो नाम सायदै सुनेका होलान् ।

सन् १९५० को दशकमा रियल मड्रिडको उत्कृष्ट टिममा डी स्टेफानो स्टार खेलाडी थिए । उनले स्पानिस महारथी रियलका लागि ३८६ खेल खेल्दै ३०८ गोल गरे । यसले पनि देखाउँछ उनी कस्ता स्ट्राइकर हुन् भनेर । रियल मड्रिडले सुरुवाती युरोपियन कप (हालको च्याम्पियन्स लिग) मा एकछत्र राज गर्दाको समयमा डी स्टेफानो मुख्य खेलाडी थिए ।

‘लस ब्लानकोस’ ले लगातार पाँच पटक उपाधि जित्दा डी स्टेफानोले हरेक फाइनलमा गोल गरेका थिए । १९६० मा ह्याम्पडेन पार्कमा भएको फाइनलमा एनट्राट फ्रांकफर्टलाई ७(३ ले पराजित गर्दा उनले ह्याट्रिक गरेका थिए ।

तीन देशको प्रतिनिधित्व

अर्जेन्टिनामा जन्मेका डी स्टेफानोले तीन फरक देशका लागि खेले । अन्तर्राष्ट्रिय स्तरमा उनले अर्जेन्टिना, कोलम्बिया र स्पेनका लागि खेले । तर, कुनै देशबाट पनि विश्वकप खेल्ने अवसर पाएनन् । कतै मौका जुरेन । कतै उनी फिट थिएनन्, कतै उनको टिम नै छनोट भएन । सायद उनलाई विश्वकप नै खेल्न जुरेको थिएन।

सन् १९५० मा ब्राजिलमा विश्वकप आयोजना भएको थियो । तर, त्यस विश्वकपमा अर्जेन्टिना छनोट नै हुन नसक्दा उनले खेल्ने अवसर गुमाए ।

१९४७ मा उनले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट खेल्दै कोपा अमेरिकाको उपाधि जितेका थिए । जसमा उनले ६ खेल खेलमा ६ गोल गरेका थिए ।

अर्जेन्टिनापछि उनले कोलम्बियाका लागि खेल्न थाले । कोलम्बिया ११ बाट खेलेपछि पिफाले उनलाई १९५४ को विश्वकपका लागि अर्जेन्टिनाबाट खेल्न प्रतिवन्ध लगायो । उनले दुई विश्वकप फरक कारणले गुमाए ।

रियलमा खेल्दा उनलाई स्पेनमा सबैले चिन्थे । अर्जेन्टिनाबाट खेल्न नपाएपछि उनले १९५६ मा स्पेनको नागरिकता लिए । फिफाले सुरुमा स्पेनबाट खेल्न सहमति नदिए पनि स्पेनको नागरिकता लिएपछि स्पेनको पुटबल संघले पनि दबाब दियो र फिफाले अनुमती दिएको थियो ।

डी स्टेफानोले स्पेनको नागरिकता लिँदै स्पेनको राष्ट्रिय टिमबाट खेले तर स्पेनका लागि कहिल्यै विश्वकप खेल्न पाएनन् । १९५८ मा स्वीडेनमा विश्वकप हुँदा स्पेन छनोट नै भएन । त्यसको चार वषर्पछि १९६२ मा चिलीमा विश्वकप हुँदा स्पेन छनोट भयो तर चोटका कारण डी स्टेफानोले विश्वकप गुमाए ।

३५ वर्षको उमेरमा स्पेनलाई विश्वकपमा छनोट गराउन उनको भूमिका थियो । तर, चोटका कारण चिलीमा भएको विश्वकप गुमाउन बाध्य रहे ।

यद्यपी उनी टिमसँगै चिली भ्रमणमा गएका थिए तर, खेलेनन् । त्यसबेला हंगेरीका सुपरस्टार फेरेन्च पुस्कास पनि स्पेनको नागरिक बनिसकेका थिए र स्पेनिस टिममा थिए ।

डी स्टेफानो भने टिमको एक छेउमा मात्र रहे । स्पेन समूहको अन्तिम खेलमा ब्राजिलसँग पराजित भएको थियो । जहाँ पेले लगायत स्टारहरु थिए । पछि ब्राजिलले फाइनलमा चेकोस्लोभाकियालाई हराएर लगातार दोस्रो पटक विश्वकप जित्यो ।

त्यसपछि डी स्टेफानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए । २०१४ मा हृदयघातका कारण डी स्टेफानोको ८८ वर्षको उमेरमा निधन भएको थियो ।

स्पेनिस पत्रिका मार्काले उनको सम्मानमा अल्फ्रेडो डी स्टेफानो ट्रफी समेत प्रदान गर्दै आएको छ । सन् २००७ मा पहिलो पटक प्रदान गरिएको अवार्ड रियल मड्रिडका राउलले पाएका थिए ।

त्यसपछि २००९ देखि २०१९ सम्मको अवधिमा लिओनल मेसीले सर्वाधिक ७ पटक यो अवार्ड जिते । क्रिस्टियानो रोनाल्डोले ४ पटक उक्त अवार्ड पाउँदा करिम बेन्जेमाले २ तथा लुइस सुआरेजले १ पटक जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?