+
+

प्रचण्डको रणनीतिः माधव नेपाललाई सँगै उभ्याएर सत्तामा बार्गेनिङ

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०७९ मंसिर १३ गते २२:५६
फाइल तस्वीर

१३ मंसिर, काठमाडौं । अन्तिम मतपरिणाम आइनसक्दै नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादीसँग पार्टी एकता सम्वाद थालेको छ । सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एकता प्रक्रियाबारे नै सम्वाद भएको नेताहरुले बताएका छन् ।

स्रोतका अनुसार, सम्वादका क्रममा दुवै नेता पूर्वसहमति अनुसार, एकता प्रक्रिया अघि बढाउन सकारात्मक छन् । लगत्तै एकीकृत समाजवादीको  पार्टी बैठक समेत बसेको छ । तर अन्तिम परिणाम आउन बाँकी रहेकाले कुनै ठोस् निर्णय नभएको नेताहरुले बताएका छन् । ‘चुनावी परिणाम आइसकेको छैन । अझै १५ गते मतदान बाँकी छ’ एकीकृत समाजवादीका महासचिव डा.बेदुराम भुसाल भन्छन्, ‘अनि बल्ल पावर शेयरिङको छलफल हुन्छ ।’

तर अन्तिम परिणाम आउन बाँकी रहँदै सुरु भएको यी दुई पार्टीको एकता सम्वाद भने सरकार गठन र शक्ति बाँडफाँडसँग जोडिएको छ । त्यसको पहल प्रचण्ड आफैंले थालेका छन् । किनकि सरकार गठनको निर्णायक शक्ति बन्ने प्रचण्डको चाहना चुनावी नतिजाबाट पूरा हुन सकेन ।

चुनाव अगाडि प्रचण्डले माओवादी केन्द्र तेस्रो, तर निर्णायक शक्ति बन्ने दाबी गरेका थिए । चुनावबाट रवि लामिछाने, राजेन्द्र लिङदेन, सिके राउत र रेसम चौधरीको पार्टीले अप्रत्यासित मत ल्याउँदा माओवादी केन्द्र एक्लो निर्णायक शक्ति बन्न सकेन ।

त्यसैले प्रचण्ड एकीकृत समाजवादीसँग एकता गरेर भएपनि सरकार निर्माणको चाँबी आफ्नो हातमा राख्नेतिर लागेका छन् । चुनावी नतिजाले नै माओवादी र एकीकृत समाजवादी एक ठाउँमा उभिदा सरकार गठनको विकल्प साँघुरिने देखाउँछ ।

यी दुई पार्टी एकता भएर बाहिर बस्ने निर्णय गरेमा कांग्रेस र एमाले मिलेर मात्रै सरकार बन्ने विकल्प बाँकी रहन्छ । तर माओवादी र एकीकृत समाजवादीलाई साथमा लिंदा फेरि पनि कांग्रेस नेतृत्वको गठबन्धनबाटै सरकार बन्नसक्ने सम्भावना बाँकी छ ।

सोमबार साँझसम्म अन्तिम नतिजा सार्वजनिक भएको १६० निर्वाचन क्षेत्र र समानुपातिक तर्फको संभावित सिटको आंकलन गर्दा पनि कांग्रेस नेतृत्वको गठबन्धनसँग १३१ सिट पुग्न सक्छ ।

प्रत्यक्षतर्फ ५३ सिट जितिसकेको कांग्रेसले गणना भइरहेको दुबै क्षेत्रमा अग्रता लिइरहेको छ । गणना नभएको स्याङ्जा–२ र बाजुरामा पनि जित्नेमा कांग्रेस नेताहरु ढुक्क छन् । समानुपातिकतर्फ सवा २५ लाख मत कटाएको उसले ३२ सिट पाउने देखिन्छ । दुवैतर्फ गरी जोड्दा कांग्रेससँग ८५ नाघ्न सक्छ ।

प्रत्यक्षतर्फ १७ सिट जितेको माओवादी केन्द्रले समानुपातिकतर्फ १४ सिट पाउने देखिन्छ । एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १०, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ४ र राष्ट्रिय जनमोर्चा एक सिट जितेको छ ।

नेताहरुका अनुसार, कांग्रेसले अग्रता लिइरहेको दुबै क्षेत्र र गणना हुन बाँकी ३ क्षेत्रमा पनि गठबन्धनकै उम्मेदवारले जित्ने सम्भावना छ भने एकीकृत समाजवादी पनि थ्रेस होल्ड नजिक छ ।

यतिले पनि सरकार बनाउन आवश्यक संख्या १३८ नपुगे सीके राउत नेतृत्वको जनमत पार्टी (५), नागरिक उन्मुक्ति पार्टी (४) र स्वतन्त्र सांसदहरु (प्रभु साह, किरणकुमार साह, अमरेशकुमार सिंह) को समर्थन जुटाउन सकिनेमा सत्ता गठबन्धनका नेताहरुको विश्वास छ । ‘गठबन्धनका दलहरुको जुन सहकार्य छ, त्यसलाई अगाडि बढाएर लैजानुपर्छ भन्ने ठानेका छौं,’ मंगलबार पार्टी सचिवालयको बैठकपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सञ्चारकर्मीहरुसँग भनेका छन् ।

प्रचण्डले खोजे माधवको साथ

अहिलेको गठबन्धनलाई निरन्तरता दिने चाहना माधव र प्रचण्डको मात्रै नभएर प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवामा पनि छ । स्रोतका अनुसर, गठबन्धनलाई निरन्तरता दिनेबारे देउवा, प्रचण्ड र नेपाल बीच निरन्तर समेत समेत भइरहेको छ । सोमबार पनि माधवलाई सँगै प्रचण्डले देउवासँग पनि भेटवार्ता गरेका थिए ।

तर नेताहरुका अनुसार भागबण्डाबारे भने  शीर्ष नेताहरुबीच खुलेर छलफल भएको छैन । प्रचण्ड आलोपालो प्रधानमन्त्रीको सहमति गर्ने र आफू पहिले सरकारको प्रमुख बन्ने चाहनामा छन् ।

तर कांग्रेसभित्र देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला र गगन थापा आकांक्षी छन् । देउवालाई सहमत गराउँदा पनि आफू पहिला प्रधानमन्त्री बन्न सहज नदेखेपछि प्रचण्डले बार्गेनिङ क्षमता बढाउन माधवसँग एकतामा जोड दिएको एकीकृत समाजवादीका एक नेताको बुझाइ छ ।

हुनत यो चुनाव अगाडि नै यी दुई पार्टीबीच एकताको पहल भएको थियो । तर चुनावको मुखमा पार्टी एकता गर्दा एकीकृत समाजवादीमा विद्रोह हुने र फुटेर एमालेतिर जाने जोखिम बढेपछि नेताहरु रोकिएका थिए । अहिले पनि एकीकृत समाजवादीभित्र एउटा पंक्ति माओवादी केन्द्रसँग मात्रै एकता गर्ने पक्षमा छैनन् ।

‘एमाले, माओवादी सहित सबै कम्युनिष्टसँग एकताको लागि कुरा गरौं । तर मलाई मिटिङको थाहै नपाइ खुसुक्क एमाले बाहेक मिलाएर एकता गर्ने भन्ने पास गरेछन्, साथीहरुले’, एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपाने भन्छन् ।

उनका अनुसार, चुनाव अगाडि नै एकीकृत समाजवादीले माओवादीसँग एकता गर्ने निर्णय गरिसकेको छ । तर अहिले तत्काल एकताको सम्वाद अगाडि बढाउनमा भने अहिलेकै गठबन्धनमा बार्गेनिङ क्षमता बढाउने रहेको लुक्दैन ।

नेताहरुका अनुसार, प्रचण्ड र माधव एकठाउँमा उभिएर कांग्रेससँग राष्ट्रपति र प्रधानमन्त्री दुबै दाबी गर्ने तयारी छ । आलोपालो प्रधानमन्त्रीको सहमति गरेर, पहिलो कार्यकालमा आफूले सरकारको नेतृत्व गर्ने प्रचण्डको चाहना छ ।

त्यसलाई पुष्टि गर्दै माओवादीका एक नेता भन्छन्, ‘झलनाथ खनाल राष्ट्रपति भन्ने थियो, तर चुनाव हारेकाले के गर्ने भन्नेछ ।’ इलाम–१ मा गठबन्धनको उम्मेदवार बनेका खनाल एमालेका महेश बस्नेतसँग पराजित भए ।

प्रचण्ड र माधवको योजनाअनुसार पार्टी एकता भए नयाँ सरकार गठनमा कांग्रेसलाई अप्ठ्यारो पर्नेछ । किनकी कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (२१), राप्रपा (१४) मात्र होइन, जनमत (५), लोसपा  (४) र नागरिक उन्मुक्ति (५) मिलाउँदा पनि सरकार बनाउन सक्दैन । जसपा (१२) आउने हो भने बल्ल बहुमत पुग्ने संभावना रहन्छ । तर यो सजिलो विकल्प होइन ।

एमालेको हकमा पनि यही लागु हुन्छ । आफ्नो गठबन्धनमा भएको राप्रपा र जसपा मात्र होइन, रास्वपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति सबै जम्मा पार्ने हो भने मुस्किलले १३८ पुग्न सक्छ । अहिलेको परिस्थितिमा नाटकीय परिवर्तन नआए यो विकल्प पनि सजिलो छैन ।

सरकार गठनको यही अठ्यारो अंक गणितको आंकलन गरेरै प्रचण्डले माधव नेपाललाई साथमा लिने र पावर शेयरिङमा हात माथि पार्न खोजेका छन् ।

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?