+
+

फिफा विश्वकपः नेदरल्याण्ड्स समूह विजेता, कतार जितविहीन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते २३:०७

१३ मंसिर, काठमाडौं । आयोजक कतारको पहिलो विश्वकप सहभागितालाई बिर्सनलायक बनाउँदै नेदरल्याण्ड्स फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह ए अन्तर्गत मंगलबार भएको अन्तिम खेलमा नेदरल्याण्ड्सले कतारलाई २-० ले पराजित गर्‍यो । दुई जित र एक बराबरीबाट ७ अंक जोड्दै नेदरल्याण्ड्स समूह विजेता बनेको छ । नेदरल्याण्ड्सलाई समूह चरणमा दोस्रो जित दिलाउन कोडी गाक्पो र फ्रेन्की डे जोङले गोल गरे ।

नेदरल्याण्ड्सले पहिलो खेलमा सेनेगललाई पराजित गरेको थियो भने दोस्रो खेल इक्वेडरसँग बराबरी खेलेको थियो ।

आयोजककै हैसियतमा विश्वकपमा डेब्यु गरेको कतारले भने समूह चरणको तीनवटै खेलमा पराजित भयो ।

यसअघि नै लगातार दुई खेल हारेपछि समूह चरणबाट बाहिरिसकेको कतारको अन्तिम खेललाई सुखद बनाउने चाहना पूरा हुन सकेन । कतार विश्वकपमा समूहको सबै तीन खेल हार्ने पहिलो आयोजकसमेत बन्यो ।

गाक्पोको लगातार गोल

नेदरल्याण्ड्सका कोडी गाक्पोले फिफा विश्वकपमा समूह चरणको तीनवटै खेलमा गोल गर्दै उपलब्धी हासिल गरे । उनले यसअघि सेनेगल विरुद्ध जित र इक्वेडर विरुद्ध बराबरी भएको खेलमा पनि गोल गरेका थिए ।

कतारविरुद्ध २६औं मिनेटमा ड्याभी क्लासेनको पासमा गोल गर्दै उनले नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए ।

गाक्पो एकै समूहको तीन खेलमा आफ्नो टिमका लागि पहिलो गोल गर्ने इतिहासकै दोस्रो खेलाडी बने । उनले यसअघि दुई खेलमा पनि टिमका लागि पहिलो गोल गरेका थिए ।

यसअघि सन् १९८६ को विश्वकपमा इटलीका अलेसान्ड्रो अल्टोबेलीले पनि समूह्यको तीनवटै खेलमा पहिलो गोल गरेका थिए ।

यस्तै गाक्पो विश्वकपमा नेदरल्याण्ड्सका लागि सुरुवाती तीन खेलमा गोल गर्ने पहिलो खेलाडी समेत बने ।

नेदरल्याण्ड्सका लागि दोस्रो गोल फ्रेन्की डे जोङले ४९औं मिनेटमा गरे । ६८औं मिनेटमा स्टेभेन बर्गुइसले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)ले अफसाइड घोषित गरेपछि नेदरल्याण्ड्सले गोल अन्तर फराकिलो बनाउने अवसर गुमाएको थियो ।

यस्तै इन्जुरी समयमा बर्गुइसको प्रहार क्रस बारमा लागेको थियो ।

समूह ए को विजेता नेदरल्याण्ड्सले अब अन्तिम १६ मा समूह बी को उपविजेतासँग खेल्नेछ । समूह बी अन्तर्गत आज मध्यराति इंग्ल्याण्ड र वेल्स तथा इरान र अमेरिकाबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?