+
+
महन्थ ठाकुरसँग अन्तर्वार्ता :

‘मधेशको समस्या समाधान गर्न सकेनौं, जनताले नयाँ अनुहार खोजे’

जनतालाई लाग्यो होला, हामीभन्दा कोही नयाँ अनुहार आएर समस्याको समाधान गरिदिन्छ होला भनेर । त्यसैले जनताले नयाँ अनुहार र नेतृत्व खोज्यो ।

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते २१:२८

महोत्तरी-३ बाट प्रतिनिधिसभामा पुनः निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिलाउन भने नसक्ने पक्का छ । प्रतिनिधिसभातर्फ ४ सिट जित्दै गर्दा यस पार्टीले समानुपातिकतर्फको थ्रेसहोल्ड कटाउन सकेन ।

अध्यक्ष महन्थ ठाकुरले अनलाइनखबरसँग कुरा गर्दै पार्टीले बैठकमार्फत चुनाव नतिजाको समीक्षा गर्ने बताए ।  बसन्त बस्नेतलाई दिएको यस अन्तर्वार्तामा उनले एमालेको पुनरोदय, सीके राउत र रञ्जिता श्रेष्ठका पार्टीहरुले ल्याएको नतिजा, उपेन्द्र यादवको हार, आगामी सत्ता समीकरण र लोसपाको भूमिकालगायत विषयमा आफ्ना मत राखेका छन् ।

मधेशमा तपाईंहरुको प्रभाव घट्दै गएको यो चुनावबाट देखियो होइन ?

हामीले मिलेर काम गर्न सकेनौं । सँगै काम गर्ने संस्कारको अलिकति अभाव पनि देखियो आन्दोलनकारी शक्तिमा । त्यसको असर चुनावमा पनि परेको छ ।

सीके राउतदेखि रेशम चौधरीको पार्टीको उदयलाई कसरी हेर्नुभएको छ ?

स्वाभाविक हो । यसलाई अन्यथा लिनुपर्ने कारण छैन । मधेशमा विगतमा जति पनि समस्या देखिए, त्यसलाई हामीले समाधान गर्न नसकेकै हो । त्यसैले जनतामा असन्तुष्टि पैदा भयो । मैले यो कुरा विगतमा पटक–पटक राखेकै हुँ ।

बालुवाटारमा कहिले को, कहिले को आउँदा पनि वार्ता संवाद गरेको हो । तर वास्तविक समस्या समाधान गर्नमा उदासीनता देखियो । त्यसैले जनतालाई लाग्यो होला, हामीभन्दा कोही नयाँ अनुहार आएर समस्याको समाधान गरिदिन्छ होला भनेर । त्यसैले जनताले नयाँ अनुहार र नेतृत्व खोज्यो ।

उसोभए त्यही नयाँ नेतृत्वबाट समाधान होला अब ?

हेर्नुस्, हाम्रो समस्या बुझ्नको लागि धेरै गाह्रो हुनुपर्ने केही थिएन । अहिले पनि नागरिकताको विषय छ । झुटा मुद्दाहरुको कुरा छ । हामीले रेशम चौधरीलाई रिहाइका लागि सधैं कोसिस गर्‍यौं ।

पार्टीले नै वकिल राखेर मुद्दा लड्यो । उनी पनि पार्टीमै त थिए । अहिले परिस्थिति नयाँ बन्यो । उनले पार्टी नयाँ बनाएका छन् । अब हेरुँ, कसरी अघि बढ्छ । तर हामी आफ्नो जिम्मेवारीबाट विचलित हुँदैनौं ।

रेशमले त यसपल्ट पार्टी नै बनाएका छन् नि ? तपाईंहरुको प्रभाव क्षेत्रमा तपाईंहरुले नै थ्रेसहोल्ड कटाउन सक्नुभएन, तर अर्को राष्ट्रिय पार्टी आयो नि ?

त्यसलाई मैले अनौठो मानेको छैन । रेशमको उदयमा अनौठो मान्नुपर्ने केही छैन । किनभने असन्तुष्टि छ । यो कसैले बिर्सनुहुँदैन । थारू शब्द नै ‘युनिफाइङ क्यारेक्टर’ का रुपमा आयो । नागरिक उन्मुक्ति पार्टी किन उदय भयो भन्नका लागि हामीले यो कुरा बुझ्नुपर्छ ।

उपेन्द्र यादवसँग तपाईंहरुले पार्टी एकता र विभाजन दुवै गर्नुभएको छ । उहाँको हारलाई कसरी हेर्नुभएको छ ?

उहाँ सीके राउतसँग हार्नुभएको छ । हामीले पनि त्यहाँ जयप्रकाश ठाकुरजीलाई उठाएको थियौं । त्यहाँ उहाँको लो पर्फर्मेन्स भएको छ । अघिल्लो चुनावमा उहाँले एक्लै १० हजार भोट ल्याएको हो । यसपल्ट किन कमजोर भयो ? त्यसैले उपेन्द्रजीको पनि हार भएको छ ।

यसलाई त्योभन्दा बाहेक मैले केही बुझेको छैन । मुख्य कुरा जनताले नयाँ अनुहार भए पनि खोजेकै देखियो । या कुरा त मैले चुनावअघि नै विभिन्न रिपोर्टबाट थाहा पाइसकेको थिएँ । हाम्रा साथीहरु जिल्ला जिल्लाबाट फर्कंदैछन् । त्यसपछि समीक्षा बैठक गर्छौं ।

एमालेमुक्त मधेश बनाउने भनेर अघिल्लो चुनावमा नारा नै दिनुभएको थियो । मधेशमा एमाले पहिलो पार्टी भयो नि ?

आन्दोलनपछिको चुनाव थियो त्यो । नाराहरु विभिन्न आए । अहिले एमाले र कांग्रेसको भोट आएको छ । सिट पनि त्यसैगरी आएको छ । मधेशको शक्ति फुटेको थियो । पहिले त कांग्रेसको वर्चस्व हो मधेशमा । हाम्रो प्रतिस्पर्धा पनि कांग्रेससँगै थियो । एमालेप्रतिको विरोध थियो । अहिले धेरै कुरा परिवर्तन भएको छ । एमालेको भोट आएको कुरा हामीले स्वीकार गर्नुपर्छ ।

केपी ओलीसँग चुनावी तालमेल गर्न राजेन्द्र महतो संयोजकत्वमा वार्ता टोली नै बनाउनुभएको थियो । आखिरीमा तपाईंहरुको तालमेल कांग्रेस र माओवादीसँग भयो होइन ?

राजनीतिमा अनन्त सम्भावनाहरु हुन्छन् । हामीले मधेशकै समस्या समाधान होस् भन्ने चाहेको हो । अब बन्ने सरकारसँग पनि हामी आफ्ना व्यक्तिगत चाहना लिएर जाने त होइनौं । मधेशकै कुरा राख्ने हौं ।

नयाँ सरकार कसले नेतृत्व गर्छ ?

सिट संख्या सबै हेर्दाखेरि कांग्रेसकै नेतृत्व स्वाभाविक हो । शेरबहादुर देउवाजीले यसको नेतृत्व गर्नुभएको छ । राजनीतिमा चाहना अरुको पनि हुनसक्छ । तर परिस्थिति हेर्दा यही देखिन्छ ।

शक्ति बाँडफाँटमा तपाईंहरुका पनि निश्चित दाबीहरु होलान् नि ?

अब हेर्नुस्, पहिलो कुरा त त्यसको लागि इच्छा हुनुपर्‍यो । मैले जब मधेशको लागि काम गर्छु भन्ने सोचें, त्यसपछि पद–प्रतिष्ठा यताउता सोचेको होइन । तर साथीहरुको इच्छा हुन सक्छ । मैले उहाँहरुका लागि सोच्ने, भन्ने कुरा हो । हेर्दैजाउँ ।

राष्ट्रपति पददेखि मधेशको मुख्यमन्त्री वा तपाईंहरुले जितेका लुम्बिनी प्रदेशसभा आदिमा केही होला नि ?

अब हेरौं न, कुराहरु कसरी आउँछन् । अहिले नै पिक्चर क्लियर त छैन । हामीले नै अघि बढेर भन्नुपर्ने यसमा केही छैन । बरु झुटा मुद्दा खारेज गरिदेओस् । जेलमा थुनेको मान्छे निकालिदेओस् । नागरिकताको इस्यु समाधान होस् । अरु के हुन्छ र हाम्रो कुरा ?

मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाको दाबी हुन्छ ?

हुन्छ । लोसपाले पावर सेयरिङका क्रममा त्यो कुरा राख्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?