+
+

ट्वीटरमा अब तीन रङको भेरिफिकेसन, व्यक्तिगत खातालाई निलो चिन्ह

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १८ गते १२:४०

एलन मस्कको नियन्त्रणमा आएपछि सामाजिक सञ्जाल ट्वीटरमा लगातार परिवर्तन भइरहेको छ । मस्कले ४४ अर्ब डलरमा माइक्रो ब्लगिङ साइट ट्वीटर खरीद गरेका थिए ।

ट्वीटरको भेरिफिकेसन ब्याज अर्थात् ट्वीटर ब्लु टिकबाट मस्कले पैसा कमाउन चाहन्छन् र उनी यसलाई सब्सक्रिप्सनमा आधारित सेवा बनाउने तयारीमा छन् । यद्यपि मस्कको उक्त प्रयासमा अहिलेसम्म कुनै पनि सकारात्मक नतिजा आएको छैन ।

मस्कले ब्लु टिक लिनका लागि शुल्क तिर्नुपर्ने नियम लागु गरेसँगै मानिसहरुले यसको गलत प्रयोग गर्न थाले । मासिक ८ डलर शुल्क तिर्नुपर्ने उक्त नियमको दुरुपयोग भएसँगै अन्य विभिन्न कम्पनीले करोडौं रुपैयाँ घाटा व्यहोर्नुपर्यो । त्यसपछि मस्कले तत्कालै ब्लु टिक सब्सक्रिप्सन बन्द गरे । अहिले त्यही सेवालाई मस्कले नयाँ रुपमा लञ्च गर्ने योजना बनाइरहेका छन् ।

के छ योजना ?

एलन मस्कले अब ट्वीटरमा भेरिफिकेसनका लागि केवल ब्लु टिक मात्रै राख्ने छैनन् । निकट भविष्यमा ट्वीटर खाता भेरिफिकेसनका लागि विभिन्न तीन रङका भेरिफिकेसन चिन्ह हुनेछन् । मस्कले यस विषयमा आफैंले ट्वीटरमा जानकारी गराएका छन् । मस्कले लेखेका छन्, ‘ढिलाइका लागि माफी चाहन्छु, हामी आगामी शुक्रबार भेरिफाइड सर्भिस सुरुवात गर्दैछौं ।’

उनका अनुसार ट्वीटरमा अब तीन रङका भेरिभाइज ब्याज हुनेछन् । त्यसमा सुनौलो (गोल्ड), खैरो (ग्रे) र निलो (ब्लु) रङ हुनेछ । गोल्ड ब्याज कम्पनीहरुलाई दिइनेछ भने ग्रे ब्याज सरकार तथा सरकारी एजेन्सीलाई दिइनेछ । त्यस्तै ब्लु टिक सेलिब्रिटी वा कुनै व्यक्तिलाई दिइनेछ । ती सबै भेरिफाइड अकाउन्टलाई म्यानुअल्ली अथेन्टिकेट पनि गर्न सकिनेछ ।

शुल्क लिएर भेरिफिकेसन प्रदान गर्ने योजना

पहिले ट्वीटरमा भेरिफिकेसन ब्याज अर्थात् ब्लु टिकलाई आधिकारिकताको मानक मानिन्थ्यो । कुनै प्रयोगकर्ताको कागजात प्रमाणित गरेपछि उसको हैसियत तथा कामको आधारमा प्रदान गरिन्थ्यो । तर मस्कले अब यसलाई सशुल्क सब्सक्रिप्सन सेवामा परिणत गर्ने योजना बनाएका छन् ।

अघिल्लोपटक जब मस्कले यो सशुल्क सब्सक्रिप्सन सेवाको घोषणा गरेका थिए, त्यतिबेला केही प्रयोगकर्ताले ब्लु टिक खरिद गरे र आफ्नो अकाउन्टको नाम परिवर्तन गरी कुनै कम्पनीको नाम लेखिदिए । त्यसपछि उनीहरुले केही यस्ता भ्रामक ट्वीट गरे, जसले कम्पनीहरुको सेयर मूल्यमा समेत असर पार्‍यो ।

यसको सबैभन्दा ठूलो उदाहरण ‘एली लिल्ली’ बन्यो । एकजना प्रयोगकर्ताले आफ्नो अकाउन्टको नाम बदलेर इली लिलीको नाम राखे र अबदेखि इन्सुलिन निशुल्क रुपमा पाइन्छ भनेर ट्वीट गरे । त्यो ट्वीटले सनसनी मच्चायो, मानिसहरुले त्यो ट्वीट गर्ने अकाउन्ट कम्पनीको आधिकारिक अकाउन्ट भएको ठाने । सोही कारण कम्पनीको शेयर मूल्यमा गिरावट आयो । यद्यपि पछि ट्वीटरले प्यारोडी अकाउन्टलाई निलम्बन गरेको थियो ।

फेरि गल्ती दोहोर्‍याउन चाहँदैनन् मस्क

उक्त घटनापछि मस्क हतारमा कुनै पनि यस्तो निर्णय गर्न चाहँदैनन् । अब ट्वीटरमा विभिन्न कम्पनी तथा संस्थाको अकाउन्टमा ग्रे रङको एक आधिकारिक चिन्ह देखिनेछ ।

समाचार अनुसार नयाँ भेरिफिकेसन ब्याजको अपडेट सुरुमा आईओएस प्रयोगकर्ताका लागि जारी गरिनेछ । त्यसपछि यसलाई एन्ड्रोइड प्रयोगकर्ताका लागि ल्याइनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?