+
+
अन्तर्वार्ता :

‘प्रवेश परीक्षा पास भएँ, वास्तविक परीक्षा सुरु भयो’

हाम्रो समाज पितृसत्तात्मक छ, सामान्यतया यहाँ महिलालाई पत्याइँदैन । त्यही कारण पनि कतिपयले पत्याएनन् होला । कसैले नपत्याएको भएर पनि जितियो ।

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते १०:२४

१९ मंसिर, काठमाडौं । जब माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा प्रत्यक्ष चुनाव नलड्ने निर्णयमा पुगे, धेरैलाई लाग्यो नेकपा एमालेका महासचिव शंकर पोखरेललाई सहज हुनेभयो । महरा पछि हटेपछि दाङ क्षेत्र नं. २ बाट सत्ता गठबन्धनबाट रेखा शर्मा उम्मेदवार बनिन् । तथापि शंकरकै सम्भावना बलियो मानिएको थियो । तर तिनै रेखाले शंकरलाई टक्कर मात्र दिइनन्, हराएर संसदको यात्रा तय गरेकी छन् ।

प्रस्तुत छ, माओवादी केन्द्रकी सांसद शर्मासँग अनलाइनखबरकर्मी विनोद घिमिरेरामकुमार डिसीले गरेको कुराकानीको सम्पादित अंश :

कृष्णबहादुर महराले प्रत्यक्ष चुनाव नलड्ने भएपछि दाङ – २ मा सत्ता गठबन्धनले वाकओभर दियो भनिएको थियो, तपाईं त चुनाव जितेर आउनु भयो ?

उहाँ (महरा) रोल्पा र दाङका दुईवटा निर्वाचन क्षेत्र (निर्वाचन क्षेत्र नम्बर १ र २) बाट सिफारिस हुनु भएको थियो । दाङ–२ बाट उहाँपछि दोस्रोमा म र तेस्रोमा निर्मल आचार्य सिफारिस भएका थियौं ।

म कसैसँग जुधेर वा नेताहरूसँग झगडा गरेर भन्दा पनि प्रत्यक्ष निर्वाचनमा जनताबाट परीक्षित हुन पाउनुपर्छ भन्नेमा थिएँ । महराले नलड्ने नै भनेपछि दुई नम्बरमा सिफारिस भएको म पहिलो नम्बरमा रहें । निर्मलजीले पनि तपाईं हुँदा म उम्मेदवार होइन भन्नुभएपछि हामी बीचमा समस्या रहेन ।

त्यसले बाहिर हल्ला चलेजस्तो शंकर पोख्रेलसँग नसक्ने भएर महराले ‘वाक ओभर’ दिएको होइन, त्यो पुष्टि भइसक्यो ।

तपाईंले चुनाव जित्नेमा त धेरैले आंशका गरेका थिए नि ?

हाम्रो समाज पितृसत्तात्मक छ, सामान्यतया यहाँ महिलालाई पत्याइँदैन । त्यही कारण पनि कतिपयले पत्याएनन् होला ।

दोस्रो, म पहिले प्रत्यक्ष निर्वाचन लडेको थिइनँ । पहिलोपटक प्रत्यक्ष चुनाव लडेकाले जित्दैन होला भन्ने पनि लाग्यो होला । कसैले नपत्याएको भएर पनि जितियो । म आफैंलाई चाहिँ निर्वाचित हुन्छु भन्ने नै थियो ।

त्यसको आधार के थियो ?

प्रत्यक्ष निर्वाचन मतदाताका लागि उम्मेदवारको विगत, वर्तमान र उसले खेलेका भूमिकाको मूल्यांकन गर्ने अवसर हो ।

को कस्तो ‘वेट’ को अथवा हैसियतको भनेर निर्वाचन लडिंदैन । त्यसको प्रभाव नै नहुने होइन, तर उसको भूमिका र योगदान मुख्य हुन्छ । भूमिका र योगदानका हिसाबले म पनि कमजोर थिइनँ ।

गणतन्त्र प्राप्तिको आन्दोलनमा मैले खेलेको भूमिका, गरेको योगदान र संविधान निर्माण तथा त्यसपछि जनमुखी र लैंगिकमैत्री कानुन बनाउन खेलेको भूमिका कसैको भन्दा कम थिएन । म कमजोर उम्मेदवार थिइनँ ।

अर्को, हामी गठबन्धनमा थियौं । दाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने घोराही उपमहानगरपालिकाका ४ वटा वडा र तुलसीपुरका चार वटा वडामा हाम्रो बलियो पकड थियो । बंगलाचुली गाउँपालिका सिंगै हामीसँग थियो, जुन माओवादीको आधार क्षेत्र पनि हो । दाङमा नेपाली कांग्रेसको पनि राम्रो मत छ । त्यसलाई मात्र जोगाउन सक्दा पनि जितिन्छ भन्ने लागेको थियो ।

तर हाम्रो प्रतिस्पर्धी उम्मेदवारको अवस्थाबारे पनि हामी जानकार थियौं । त्यसैले हामी जित्छौं भनेर ढुक्क हुनुहुँदैन, अत्यधिक मिहिनेत गर्नुपर्छ र गठबन्धनलाई एक ठाउँमा उभ्याउनुपर्छ भनेर लाग्यौं ।

चुनावी अभियानमा हाम्रो पार्टी २०६४ सालमा जस्तै गरेर परिचालित भयो । गठबन्धनका दलरू सापेक्षिक रुपमा स्थानीय तह चुनावको बेलामा भन्दाबढी एकताबद्ध भए । स्थानीय तह चुनावमा व्यहोरेको पराजयले पनि गठबन्धनलाई थप एकतावद्ध गरायो ।

कसैले पत्याउने नपत्याउने बेग्लै कुरा हो, तर हाम्रो मिहिनेत, भूमिका, पार्टी र गठबन्धनको आधार आदि कारण जित्ने कुरा निश्चित थियो ।

स्थानीय चुनावमा नतिजा, त्यसमाथि एमालेको महासचिव जस्तो ‘हेभिवेट’ उम्मेदवार भएकाले आशंका गर्नु पनि अस्वाभाविक थिएन होला नि त ?

को कस्तो ‘वेट’ को अथवा हैसियतको भनेर निर्वाचन लडिंदैन । त्यसको प्रभाव नै नहुने होइन, तर उसको भूमिका र योगदान मुख्य हुन्छ । भूमिका र योगदानका हिसाबले म पनि कमजोर थिइनँ । पदीय हैसियत र राजकीय लाभका हिसाबले स्वाभाविक ढंगले फरक अवस्था हो, तर परिणाममा असर पुग्ने गरी त्यो पक्ष हाबी नहुन सक्थ्यो ।

मूल कुरा हाम्रा एजेण्डा हुन् । हामीले गठबन्धन गर्नुको उद्देश्य संविधानको रक्षाका लागि थियो । त्यो हिसाबले गठबन्धन ठिक छ र हामी ठिक गर्दैछौं भन्ने विश्वास थियो । म त्यसैअनुुसार प्रस्तुत भएँ ।

त्यसका बाबजुद निकै कडा प्रतिस्पर्धा भयो र करिव दुई सय मतले हार जितको छिनोफानो भयो, होइन ?

हाम्रो पूर्वानमान करिब आठदेखि दश हजारको अन्तरले जितिन्छ भन्ने थियो । तर चुनाव त्यस्तो हुँदैन । मतदाता स्वतन्त्र हुन्छन् । अन्य पार्टीले कार्यकर्तालाई ह्वीप लगाए भने पनि सबैले त्यो मान्दैनन् भन्ने अपेक्षा थियो ।

तथापि मतान्तर डेढ–दुई सय मात्र हुन्छ भन्ने त लागेकै थिएन । मत अन्तरमा सन्तुष्ट हुनसक्ने ठाउँ नभए पनि परिणामसँग सन्तुष्ट हुनुपर्‍यो ।

अन्य क्षेत्रमा चुनाव लडेका नेताहरुले भनेको जस्तै गठबन्धनको भोट ट्रान्सफर नभएको हो ?

एकल चुनाव लड्दा त अनुमान गरिएको आफ्नै पार्टीको सबै भोट कहिल्यै आउँदैन । यो त गठबन्धन हो । पार्टी कार्यकर्तालाई जस्तो अनुशासन वा पार्टीको नीति निर्देशन मान्ने कुरा सबै मतदाताको हकमा सम्भव हुँदैन । त्यसकारण सबै भोट ‘ट्रान्सफर’ नभएको हुनसक्छ ।

नेपाली कांग्रेसको मात्रै समानुपातिक भोट १९–२० हजार छ । हाम्रो करिब १० हजार छ । दुईवटा पार्टीको मात्रै जोड्दा ३० हजार भोट हुन्थ्यो । एकीकृत समाजवादीलगायत अरूको मतलाई हेर्र्दा झन् फरक चित्र देखापर्छ । तर त्यस्तो हुँदो रहेनछ । जसले समानुपातिकमा आफ्नो पार्टीलाई भोट हाल्यो, उसले प्रत्यक्षमा नहालेको हुन सक्ने भयो ।

तपाईंले त जित्नुभयो, समग्रमा माओवादीको रिजल्ट (प्रत्यक्ष–समानुपातिक) राम्रो छैन, आकर्षण घट्दो छ नि ?

०६४ सालको निर्वाचनमा माओवादीप्रतिको विश्वास मतद्वारा व्यक्त भएको हो । हामीले त्यसलाई ठीक ढंगले सम्हाल्न सकेनौं ।

सिंगो माओवादी आन्दोलन पनि विभाजन भयो । माओवादी कमजोर बनाउने उद्देश्यबाट विभिन्न शक्तिहरू पनि लागे । त्यसमा हामीले नै त्यो आधार दियौं । प्राप्त उपलब्धिलाई पार्टी निर्माणसँग जोड्न सकेनौं । अब यसलाई कसरी अगाडि बढ्ने भनेर गम्भीर समीक्षा गर्नुपर्छ ।

त्यो गरिएन भने माओवादी मात्रै होइन, अरू दल पनि कमजोर हुँदै जान्छन् । दल कमजोर हुनु वा नेता कमजोर हुनु भनेको प्रकारान्तरले व्यवस्था कमजोर हुने हो । त्यसका लागि हामीले आफ्ना कर्ममा आमूल परिवर्तन ल्याउन जरुरी छ । हाम्रो सोच, विचार, संस्कार, संस्कृतिलाई व्यवहारमा लागू गरेर जनतालाई अनुभूत गराउन सक्यौं भने हामी पुनर्ताजगी हुनसक्छौं ।

अहिलेको चुनावबाट आएका नयाँ दलहरुप्रति संकेत गर्न खोज्नु भएको हो ?

स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले जिते । अहिले त प्रायः दलहरूले जितेका छन् । पार्टीको नाम स्वतन्त्र भए पनि त्यो राजनीतिक दल नै हो । नामका कारण स्वतन्त्र हो कि भन्ने भ्रम भयो । तथापि जनताको मतबाट जितेर आइसकेपछि राम्रो गर्न सक्नुहोस्, शुभकामना छ ।

पुराना भनिएका दलहरूलाई करेक्सन गर्ने अवसर हो । सच्चिन नसक्ने हो भने चुनौती थपिन्छ भनेर जनताले मतबाट देखाइदिएका छन् । त्यसका लागि हामीले आफ्नो समीक्षा गर्ने कुरा नै मुख्य हो । जनतालाई चित्त नबुझेको कहाँ हो र हामीले गर्न नसकेका कुरा के हुन् भनेर गम्भीरतापूर्वक लाग्नुपर्छ ।

तपाईंकै कुरा गर्दा चाहिँ, प्रत्यक्षतर्फ चुनाव जित्ने एक्लो महिला हुनुभयो । अरु दलबाट पनि कमै महिला निर्वाचित हुनु भएको छ । यसलाई कसरी लिनु भएको छ ?

समग्रमा संसदको कुरा गर्नुहुन्छ भने अघिल्लो कार्यकालमा प्रत्यक्ष निर्वाचित भएर आएका हामी ६–७ जना मात्रै महिला थियौं । अहिले हामी नौ जना छौं । त्यो हिसाबले संख्या बढेको छ ।

माओवादीको हकमा हामी आठजना उम्मेदवार थियौं, तर एउटामात्र महिलाले जितेकोमा म दुःखी छु ।

मैले सिंगो महिला हितको पक्षमा काम गर्न निरन्तर प्रयत्न गर्नेछु । सकारात्मक काम गरेर अगाडि बढ्ने र अरूलाई पनि उत्साहित गर्दै यो प्रक्रियामा सहभागी गराउने कुरामा मेरो भूमिका रहन्छ ।

०६४ मा संसदीय राजनीतिका खेलाडीहरुलाई हराएका माओवादी नेताहरु आज कहाँ छन्, धेरैलाई थाहा छैन । तपाईंले यो पटक एमाले महासचिवलाई हराउनुभयो, भोलि के होला भन्ने दबाव कत्तिको छ ?

हार्दा पनि मेरो राजनीतिक जीवन सकियो भन्नेमा थिइनँ, जित्दा पनि मैले के–के नै गरें भनेर सोचेको छैन । चर्चित हुने वा नहुने भन्ने फरक कुरा हो । तर जनसेवा गर्न छुट्यो कि छुटेन भन्ने मुख्य कुरा हो ।

हिजोका साथीहरू कतिपय निरन्तर जनताको सेवामा हुनुहुन्छ, कतिपय विविध कारणले राजनीतिबाट हराउनु पर्ने बाध्यता भयो होला । तर मेरो प्रतिबद्धता हिजो जनयुद्धभन्दा अगाडिदेखि अहिलेसम्म आफूले पाएको हरेक जिम्मेवारीमा अब्बल हुनुपर्छ भन्ने हो । त्यसमा कहिले सफल हुन सकिएला, कहिले असफल हुन सकिएला ।

मैले प्राप्त गर्ने जिम्मेवारी र हैसियतले पनि मेरो भूमिकाको निर्धारण गर्छ । तर जनसेवा नै मुख्य काम हो । यसबाट म टुट्ने छैन । जनयुद्धमा महिला संगठनको अध्यक्ष हुँदा मेरो जुन चर्चा थियो, त्यो सधैं रहेन । सामान्य प्रशासन मन्त्रालय सम्हालेर काम गर्दा जुन चर्चा पाएँ त्यो सधैं रहेन ।

प्रतिनिधिसभा भनेको कानुन निर्माण गर्ने थलो हो । प्रत्यक्ष निर्वाचनमा गइसकेपछि आफ्नो क्षेत्रको विकास निर्माण पनि गर्नुपर्छ । त्यो हिसाबले निरन्तर मिहिनेत गर्ने र लागिराख्ने कुरा हो । लागिराख्ने कुरामा कहिल्यै चर्चाको शिखरमा भइएला, कहिले नभइएला । त्यसलाई अन्यथा मान्नुपर्छ भन्ने मलाई लाग्दैन । सधैंभर एउटै मान्छे चर्चामा भइराख्छ भन्ने हुँदैन । त्यो उपयुक्त पनि होइन । अरूलाई पनि अवसर चाहिन्छ ।

म अहिले महिला वर्गको पनि प्रतिनिधि पनि हुँ । त्यसकारण म असफल हुनुहुन्न । म असफल हुनु भनेको मेरो वर्ग असफल हुनु हो भन्ने लाग्छ । त्यसकारण मैले जति सकिन्छ मिहिनेत गर्नुपर्छ र सफल हुनुपर्छ । त्यसले आउने पुस्ताका लागि उत्प्रेरणा सिर्जना गर्न सकोस् भन्ने लाग्छ ।

हामीले प्रवेश परीक्षा पास गर्यौं, अब हाम्रो वास्तविक परीक्षा सुरु हुन्छ ।

सांसद मात्रै हुँदा कानून निर्माण गर्ने कुरामा भूमिका खेलें । यसपछि योभन्दा माथिको जिम्मेवारी जुन प्राप्त हुन्छ, त्यसमा अब्बल हुने कोसिस गर्छु ।

लुम्बिनी प्रदेशको राजधानी दाङमा स्थानान्तरण गर्ने विषयमा यसपटक एउटै पार्टीका उम्मेदवारबीच पनि फरक मत देखियो । यसमा तपाईंको धारणा के हो ?

संविधानअनुसार प्रदेश सभाबाट दुई तिहाइले राजधानी र नामकरण टुंग्याइसकेपछि अब कार्यान्वयनको पाटो मात्रै बाँकी छ । अहिलेको सरकारले कार्यान्वयन गर्न खोज्दै छ ।

कार्यान्वयन गर्नुहुन्न भन्ने कुरा पूर्वाग्रह बाहेक केही होइन । त्यसो गर्नु भनेको संविधान र कानूनभन्दा बाहिर जान खोज्नु हो । यसपटकको प्रदेशसभा सदस्यको सपथ चौरमै भए पनि दाङमै गर्नुपर्छ ।

अन्तमा, तपाईंलाई जिताउने मतदातालाई के भन्न चाहनुहुन्छ ?

सिंगो दाङको कुरा गर्दा हामी गठबन्धनका नौ जना उम्मेदवार नै विजय भएका छौं । हामीले प्रवेश परीक्षा पास गर्यौं, अब हाम्रो वास्तविक परीक्षा सुरु हुन्छ । यो परीक्षा सुरु हुने बेलामा जसरी निर्वाचनको बेलामा हामीलाई साथ सहयोग, माया ममता दिनुभयो, जसरी हामीलाई उत्तीर्ण गराइदिनुभयो, आगामी दिनमा हामीले निर्वाह गर्ने भूमिकामा पनि गलत गर्न खोजेछौं भने खबरदारी गरेर र राम्रो गर्न खोजेछौं भने उत्साहित गरेर सहयोग गर्नुहोला । हामीलाई साँच्चिकै जनताको सेवक बनाइरहनको निम्ति यहाँहरुको पनि भूमिका हुन्छ । खासगरी दाङ २ का मतदातालाई म के भन्न चाहान्छु भने यो जित गठबन्धनको पनि हो, तपाईंहरु पनि सबैको हो । हिजो त हामी गठबन्धनबाट चुनाव लड्यौं, अब साझा भएर अगाडि बढ्नेछौं ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?