+
+

सधैं तालाबन्दीको चपेटामा संस्कृत विश्वविद्यालय

विश्वविद्यालयमा पुन: तालाबन्दी, उपकुलपतिको निवासमा तोडफोड

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ मंसिर १९ गते १८:२१

१९ मंसिर, दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयमा पुनः तालाबन्दी भएको छ । १०० दिनको तालाबन्दीको मारमा खेपेको विश्वविद्याल ४ महिनापछि पुन: तालाबन्दीको मार खेपेको हो ।

विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापीठमा अध्ययनरत अयुर्बेद चिकित्सकमा स्नातक तह (बीएएमएसका) विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगको मापदण्ड अनुरुप आयुर्वेदको लागि छुट्टै उपप्राध्यापकको दरबन्दी गर्नुपर्ने, इन्टर्नसिपमा जाने विद्यार्थीले बुझाउनुपर्ने रकम विश्वविद्यालयले व्यवस्था गर्नुपर्ने, शिक्षण अस्पताल तत्काल संचालन गर्नुपर्ने लगायतका २१ बुँदे माग राखेर विश्वविद्यालयमा आइतबार तालाबन्दी गरेका छन् ।

यसअघि विश्वविद्यालयमा उपप्राध्यापक नियुक्ति लगायतको विषय माग राख्दै नेविसंघले १०० दिन तालाबन्दी गरेको थियो। वैशाख १९ गतेदेखि लगाएको ताला अदालतको अन्तरिम आदेशपछि मात्र नेविसंघले १०० दिनपछि साउन २५ गते खोलेको थियो।

आइतबार विश्वविद्यालयमा तालाबन्दी गरेका विद्यार्थीले उपकुलपति यादव प्रकाश लामिछानेको आवासमा तोडफोड समेत गरे । उपकुलपति लामिछाने विद्यार्थीको मागप्रति गम्भिर नभएको भन्दै विएएमएसका विद्यार्थीले उपकुलपतिको आवासमा तोडफोड गरेका हुन्। विद्यार्थीले उपकुलपति बस्ने निवासमा ढुंगा प्रहार गर्दा घरका झ्यालका सिसा फुटेको छ ।

विद्यार्थी तोडफोडमै उत्रिएपछि उपकुलपतिको आवासबाहिर सुरक्षा व्यवस्था दिएको थियो । बीएएमएसमा पठनपाठन हुन थालेको १२ वर्षसम्म पनि आवश्यक जनशक्तिको अभाव र पठनपाठन नियमित हुन नसकेको विद्यार्थीको गुनासो छ ।

विद्यार्थीले विश्वविद्यालयलाई आफ्ना मागको बारेमा पटक-पटक लिखित एवं मौखिक जानकारी गराउँदा पनि विश्वविद्यालयका पदाधिकारी गम्भीर नभएको उनीहरुको भनाइ छ । विद्यार्थीका माग सम्बोधनमा विश्वविद्यालय गम्भिर नहुँदा आन्दोलन गर्नुपरेको विद्यार्थी अभयप्रताप चौबेले बताए ।

विद्यार्थीको आन्दोलनका कारण आइतबार उपकुलपति लामिछानेको आवास तनावग्रस्त बन्यो । प्रहरी चौकी हेमन्तपुरको प्रहरी टोलीले नपुगेपछि र्इलाका प्रहरी कार्यालय तुलसीपुरबाट समेत प्रहरी पुगेर उपकुलपतिको सुरक्षा दिएको थियो।

विश्वविद्यालयका उपकुलपति यादवप्रकाश लामिछानेले जनशक्ति व्यवस्थापनको काम एकसाताभित्र गर्न सकिने बताए। उनले विद्यार्थीका मागमा आफुहरु गम्भिर भएपनि विभिन्न जटिलताका कारण माग सम्बोधनमा ढिलाइ हुन पुगेको जानकारी दिए ।

यसरी पटक-पटक तालाबन्दीको मार खेप्नु पर्दा विश्वविद्यालयको कामकाज रोकिदै आएको छ। यसको मारमा सधै विश्वविद्यालय परेको रजिष्टार माधव अधिकारीले बताए ।

‘विश्वविद्यालयमा विभिन्न बहानामा पटक-पटक तालाबन्दीका लगाउदा विश्वविद्यालयले दुरदर्शी कामकाजी र निर्णयसमेत अघि बढाउँन सकेको छैन ।’ उनले भने ।

उपकुलपतिको ताला खुल्यो

बिश्वविद्यालयमा गरिएको आन्दोलनको बिषयलाइ लिएर गएराति विद्यार्थी र उपकुलपतिबीच छलफल भएको छ । उक्त छलफलपछि डीनको कार्यालय र परीक्षा नियन्त्रणको कार्यालयमा लागेको ताला खोल्ने सहमति भएको विश्वविद्यालयले जनाएको छ ।

एक साताभित्र आंशिक शिक्षकको लागि आवेदन खुल्ला गर्ने र आंशिक शिक्षकमा दर्खास्त नआएमा करार शिक्षकका आवेदन खुल्ला गर्ने सहमतिमा अहिले दुईवटा कार्यालयमात्र खुल्ला गर्ने सहमति भएको हो । केन्द्रिय कार्यालय र अन्य कार्यालयमा भने तालाबन्दी जारी छ ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?