+
+

अशोक राईले भने- एमालेसँग तालमेल सकिएको छैन, उपेन्द्र यादवको भनाइ व्यक्तिगत

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते २०:०३

२० मंसिर, धरान । जनता समाजवादी पार्टी (जसपा)मा एमालेसँगको सहकार्यको विषयमा मतभिन्नता देखिएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले चुनाव लगत्तै एमालेसँगको तालमेल सकिएको अभिव्यक्ति दिए पनि सो पार्टीका संघीय परिषद अध्यक्ष अशोक कुमार राईले भने त्यो यादवको व्यक्तिगत धारणा भएको बताएका छन् ।

धरानमा आज अनलाइनखबरसँग कुरा गर्दै उनले एमालेसँगको तालमेल नसकिएको बताए । एमालेसँगको तालमेल सकिएको भनेर अध्यक्ष यादवले दिएको अभिव्यक्तिबारे राखिएको जिज्ञासामा राईले भने, ‘यो उहाँको (अध्यक्ष उपेन्द्र यादवको) व्यक्तिगत धारणा हो । किनभने उहाँले नै सही गर्नु भएको कागजमा निर्वाचन पछि पनि यो तालमेल जारी रहन्छ भन्ने कुरा उल्लेख भएको छ ।’

उनले काठमाडौं गएर यसबारे अध्यक्ष यादवसँग छलफल गर्ने र पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताए । प्रस्तुत छ राईसँग गरिएको संक्षिप्त कुराकानी–

तपाईंको अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल सकियो, अब फरक ढंगले जान्छौं भन्नुभएको छ यो उहाँको व्यक्तिगत धारणा हो कि पार्टीको निर्णय हो ?

यो चाहिँ उहाँको व्यक्तिगत धारणा हो । किनभने उहाँले नै सही गर्नु भएको कागजमा निर्वाचन पछि पनि यो तालमेल जारी रहन्छ भन्ने कुरा उल्लेख भएको छ । तर यसपटकको निर्वाचनले पनि कुनै एउटा पार्टीलाई बहुमत दिएको अवस्था छैन, यस्तो स्थितिमा कसरी जाने भनेर सम्बन्धमा हामीले छलफल गर्न जरुरी छ ।

यहाँलाई के लाग्छ ? यो तालमेल सकेर जाने कि एमालेसँग सहकार्य गरेर ?

हामी छलफल गर्छौं । हामीले परिस्थिति हेरेर मुलुकमा अस्थिरता नबढोस्, स्थिर सरकार दिन सकियोस् र जनताको सेवा गर्ने अनुकूल वातावरण नै बनाउन सकियोस् भन्ने सम्बन्धमा हाम्रो जोड रहन्छ ।

तपाईंको टिमको धारणा एमालेसँग सहकार्य गरेर जानुपर्छ भन्ने रहेको र अध्यक्षको चाहिँ फरक भनाइ आएको भनेर टिप्पणी आएको छ नि ?

त्यसमा हाम्रो कुनै मतभिन्नता भन्ने कुरा छैन । हिजो जे सहमति गरियो, त्यो पनि सहमतिपूर्वक नै भएको हो, अब हामी जे गर्छौं त्यो पनि सहमतिपूर्वक नै गर्छौं ।

त्यसोभए अध्यक्षले भनेको व्यक्तिगत कुरा नै हो ?

त्यो अहिलेलाई उहाँको व्यक्तिगत नै कुरा हो । किनभने हाम्रोबीचमा बैठक बसेर छलफल भएको छैन । एमालेसँग भएको सहमति पत्रमा उल्लेख भएको कुरा के हो भने निर्वाचनको तालमेल र निर्वाचन पछिको तालमेल जारी राख्ने भन्ने कुरा हो । त्यस आधारमा मैले भन्न खोजेको हो ।

भनेपछि कहिलेसम्म आउला त तपाईंहरुको आधिकारिक धारणा ?

अब हामी छिटै नै बस्छौं । यहाँ निर्वाचन क्षेत्र नम्बर १ सुनसरीमा म आज बस्ने अन्तिम दिन हो, थ्यांकस गिभिङको लागि । निर्वाचन परिचालन समितिले बनाएको यो कार्यक्रम सकिएपछि म काठमाडौं जान्छु र हामी बसेर कुराकानी गर्छौं ।

तपाईंलाई अब बन्ने नयाँ सरकारको नेतृत्व कसले गर्नुपर्छ भन्ने लाग्छ ?

सरकार बनाउने प्रयासहरु चलिरहेको कुरा सुनेको छु । सबैभन्दा ठूलो दलको हिसाबले नेपाली कांग्रेसले सरकार गठनको पहल गर्नुपर्ने अवस्था छ । गठबन्धनले नेतृत्व गरेर सरकार बन्ने सम्भावना देख्छु । यदि त्यो सम्भावना यदि साकार हुन सकेन भने त्यसपछिको मुख्य दल नेकपा एमालेले पनि प्रयत्न गर्ने अवस्था रहला । जहाँसम्म हाम्रो जनता समाजवादी पार्टीको कुरा छ, अहिले जनताहरुलाई थ्यांकस गिभिङमा लागिरहेका छौं । समानुपातिकको मत बाँडफाँट चलिरहेको हुँदा समग्र सिट संख्याको तस्वीर आइसकेपछि मात्रै बैठकबाट आफ्नो दृष्टिकोणलाई अघि सार्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?