+
+

विश्वमा बर्सेनि खर्ब डलरको हतियार बिक्री

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते ११:३६

काठमाडौं । विश्वमा एक वर्षमा करीब ६ खर्ब डलर मूल्यका हतियार तथा सैन्य सामग्रीहरु बिक्री हुने गरेको एक प्रतिवेदनले देखाएको छ ।

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२१ मा विश्वका १ सय वटा ठूला हतियार निर्माता कम्पनीहरुले ५ खर्ब ९२ अर्ब डलरका हतियार तथा सैन्य सामग्रीहरु बिक्री गरेका छन् । यो भनेको सन् २०२० को तुलनामा १.९ प्रतिशतले धेरै हो ।

संस्थाका अनुसार पछिल्लो ७ वर्षमा विश्व बजारमा हतियारको बिक्रीमा लगातार वृद्धि भइरहेको छ । सन् २०२१ को वृद्धिदर आफैंमा उच्च नै रहेको भए पनि यो पछिल्लो चार वर्षको वृद्धिदरको औसतको तुलनामा कम हो ।

सन् २०२१ मा आपूर्ति प्रणालीमा देखिएको समस्याका बाबजुत पनि विश्वमा हतियारको बिक्रीदर उल्लेख्य रहेको रिपोर्टमा उल्लेख छ । विश्वव्यापी आपूर्ति प्रणालीमा कोरोना महामारीसँग सम्बन्धित अवरोधहरु सन् २०२१ सम्म नै कायमै रहेको र यसले आपूर्तिमा ढिलाइका साथै विभिन्न पाटपूर्जाहरुको अभाव सिर्जना गरेको थियो ।

विश्वमा हतियार उत्पादनको लागि सबैभन्दा ठूलो निर्यातकर्ता मुलुक रुस हो । पछिल्लो समयमा रुस र युक्रेनबीचको युद्धले हतियार कम्पनीहरुलाई आपूूर्ति श्रृंखलामा चुनौति थपिएको छ ।

रिपोर्ट अनुसार विश्वमा सबैभन्दा धेरै हतियार बिक्री गर्ने कम्पनी भने अमेरिकामा छन् । सन् २०२१ मा अमेरिकाका ठूला ४० वटा कम्पनीहरुले २ खर्ब ९९ अर्ब डलरको हतियार बिक्री गरेका छन् ।

त्यस्तै विश्वका शीर्ष १ सयवटा हतियार कम्पनीमध्ये एसिया र ओसेनिया क्षेत्रका २१ वटा कम्पनी परेका छन् र उनीहरुले सन् २०२१ मा १ खर्ब ३६ अर्ब डलरको हतियार बिक्री गरेका छन् ।

त्यस्तै मध्यपूर्वी मुलुकमा रहेका हतियार कम्पनीहरुले सन् २०२१ मा १५ अर्ब डलरको हतियार विश्व बजारमा बिक्री गरेका छन् ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?