
काठमाडौं । प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’को दोस्रो चरणको छायांकन आगामी आइतबारदेखि सुरु हुने भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले काठमाडौं र उपत्यका बाहिरका केही जिल्लामा बाँकी छायांकन हुने जनाए ।
चिसोयाममा छायांकन गर्नुपर्ने भएकाले निर्माताले दोस्रो चरणको छायांकनको योजना बनाएका थिए । ‘चिसोमै सुटिङ गर्नुपर्ने थियो र आइतबारदेखि हामी फ्लोरमा जान्छौं,’ उनले भने ।
मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि पहिलो चरणको छायांकन सकिएको थियो । निर्माता तथा अभिनेता गिरीले छक्कापञ्जा ४ लाई राजनीतिक कथावस्तुमा आधारित ‘पोल्टिकल ड्रामा’ भएको बताए ।
उनले भने, ‘सतहमा हास्यव्यंग्यको कथावस्तु भए पनि केन्द्रमा राजनीतिक कथावस्तु नै छ । समसामयिक राजनीतिक कथावस्तुमा फिल्म आधारित हुनेछ ।’
फिल्मको पटकथा पनि दीपकले लेखेका हुन् । छक्कापञ्जाको चौथो श्रृंखलालाई ‘जेरी’ फेम्ड हेमराज बिसीले निर्देशन गरिरहेका छन् । निर्मातासँगको असमझदारीले निर्देशक बिसीविनै फिल्म छायांकन हुन लागेको भन्ने हल्लाको गिरीले खण्डन गरे ।
कुन-कुन फिल्मको छायांकन हुँदैछ ?
झरना थापाले निर्देशन गर्ने आगामी फिल्म ‘भगवत् गीता’ पुस २० गतेदेखि छायांकनमा जाँदैछ । जनकपुरको सेटिङमा खिचिने फिल्मको नायिका सुहाना थापा हुनेछिन् । नायकको भूमिका गर्न अभिनेताको खोजी भइरहेको छ ।
निर्माताले नायकका लागि अडिसन आह्वान गरेका थिए । सोमबार अडिसनको अन्तिम दिनसम्म ६०० जनाभन्दा बढीले आवेदन दिएका छन् । केही दिनमा नायकको फाइनल हुने निर्माता सुनिलकुमार थापाले बताए ।
रामबाबु गुरुङको नयाँ फिल्मको छायांकन माघ १ गतेदेखि सुरु गर्ने तयारी छ भने कलाकार तय छैनन् । अनमोल केसी स्टारर ‘जेरी २’ फेब्रुअरीदेखि फ्लोरमा लैजाने तयारीमा छ ।
नीता ढुंगानाको फिल्म ‘ह्रस्वदीर्घ’, मिलन चाम्सको ‘एन्जिला’, सुदर्शन थापाको ‘राजा’सहित कम्तीमा १५ फिल्म माघ-फागुनदेखि छायांकनमा जाने तयारीमा छन् ।
प्रतिक्रिया 4