+

आयुर्वेद विशेषज्ञ भन्छन्- यी खानेकुरा राति नखाएकै बेस

२०७९ मंसिर  २० गते १४:३६ २०७९ मंसिर २० गते १४:३६
आयुर्वेद विशेषज्ञ भन्छन्- यी खानेकुरा राति नखाएकै बेस

काठमाडौं । स्वास्थ्यका लागि कस्ता खानेकुरा लाभदायक हुन्छ ? यसको मोटामोटी जानकारी हामीलाई हुनसक्छ । तर सही खानेकुराको छनोट मात्र पर्याप्त हुँदैन । किनभने उक्त खानेकुरा कति र कुन समयमा खाने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ ।

कुनै पनि खानेकुराबाट त्यही बेला मात्र पूर्ण लाभ लिन सकिन्छ, जब त्यसलाई सही समयमा खाने गरिन्छ । आयुर्वेदले खानपानको शैली मात्र होइन समय पनि निर्धारण गरिदिएको छ ।

जस्तो, केरा स्वास्थ्यवर्द्धक फल हो । तर बिहान खाली पेटमा खाँदा यो हानिकारक हुन्छ । आँप, अंगुर, लिची पनि खाली पेटमा खाँदा विषाक्त हुन्छ । यसैगरी कतिपय खानेकुरा छन्, जो राति खानु उपयुक्त हुँदैन । खानपानको  खासमा राति के कस्ता खानेकुरा वर्जित गरिएको छ ? आयुर्वेदले स्पष्ट पारेको छ । यसै सन्दर्भमा त्रिवि आयुर्वेद अस्पताल कीर्तिपुरका उपप्राध्यापक तथा आयुर्वेद विशेषज्ञ डा. निर्मल भुसालसँग खानपानको समय तालिकाबारे गरिएको कुराकानी :

राति खानै नहुने खानेकुरा के के हुन् ?

रातको समयमा पचाउन गाह्रो हुने खानेकुरा नखाएको राम्रो हुन्छ । दही, केरा, मासु जस्ता पचाउन धेरै समय लाग्ने तथा पचाउन गाह्रो हुने खानेकुरा रातको समयमा नखानु उचित हुन्छ । तर यो खानेकुरा खानै हुँदैन भनेर तोकेर भन्न सकिंदैन ।

साथै रातको समयमा पेटभरि खाना पनि खानु हुँदैन । खाना खाँदा पेटको दुई तिहाइ भरिने गरी मात्रै खानुपर्छ ।

किन यसरी खानुहुँदैन ?

राति अलि हेभी खाना खानु स्वास्थ्यका हिसाबले अनुकूल मानिंदैन । जब हामी राति हेभी खाना खान्छौं र अबेर खाना खान्छौं भने खानेकुरा राम्ररी पच्न पाउँदैन । किनभने रातको समयमा विश्राम गरिन्छ । यतिबेला शरीरलाई अतिरिक्त ऊर्जा आवश्यक हुँदैन । त्यसैले हामीले खाएको खानेकुरा पचाउनै गाह्रो हुन्छ ।

अपच हुने त छँदैछ, शरीरमा आवश्यकता भन्दा बढी क्यालोरी जम्मा हुन्छ । बोसो लाग्ने, मोटोपन बढ्ने जस्ता समस्या यहींबाट सुरु हुन्छ । तर रातमा काम गनेृ व्यक्तिले भने राम्रोसँग नै खाना खानुपर्छ । राति सजिलै नपच्ने चिल्लो, पिरो र मसालेदार खाना खानु राम्रो हुँदैन । खाना राम्ररी नपचेर निद्रा पनि बिथोल्न सक्छ ।

केरा र दही किन राति खान हुँदैन ?

रातको समयमा दही खाँदा शरीरमा तापमान र रक्तचापलाई असन्तुलित गर्छ । त्यसैले दही रातको समयमा सेवन नगर्नु नै राम्रो हो । राति दही खाँदा रुघाखोकी लाग्ने सम्भावना पनि निकै बढ्छ । रातमा दही सेवनले शरीरमा सर्दी गराउन सक्छ ।

केरा पच्न एकदमै धेरै समय लाग्छ । रातको समयमा खानेकुरा खाने बित्तिकै आराम गरिने भएकोले रातको समयमा केरा पनि नखाएको राम्रो हो ।

रातिको खाना कुन समयमा खाइसक्नुपर्छ ?

आयुर्वेद अनुसार हेर्ने हो भने सूर्यास्त भन्दा पहिले नै रातको खाना खानुपर्छ भनिन्छ । हाम्रो पाचन अग्निलाई सूर्यको शक्तिसँग जोडिन्छ । सूर्यास्त भइसकेपछि पाचन प्रणाली अलि कमजोर हुने भएकाले सूर्यास्त हुनुअघि नै खाना खानु राम्रो मानिन्छ । तर अहिले व्यस्त जीवनशैलीले गर्दा त्यो सम्भव नहुन सक्छ । त्यसैले सुत्नु भन्दा दुई घण्टाअघि रातको खाना खाइसक्नुपर्छ । दुई घण्टाअघि खाना खाएपछि त्यो खानाले पच्ने समय पाउँछ ।

राति खानुपर्ने वा खान नहुने खानेकुरा के के हुन् ?

बिहान भरपेट खाना खानुपर्छ । त्यही खानाले हामीलाई दिनभरको लागि ऊर्जा दिन्छ । त्यसपछि क्रमशः खानेकुराको मात्रा घटाउनुपर्छ । रातिको खाना सकेसम्म हल्का वा सजिलै पच्ने किसिमको हुनुपर्छ ।

राति जाउलो, खिचडी, रोटी तरकारी जस्ता हल्का खानेकुरा खानु राम्रो हो । रातको समयमा सलाद खानु पनि राम्रो हो । तर ग्यास्ट्रिकको समस्या भएका तथा बाथरोगीहरूले भने मूला, गाजर, काँक्रो जस्ता खानेकुराले ग्यास भरिने र बाथको समस्या बढ्ने हुन्छ । त्यसैले कस्तो खाना खाने भन्ने कुरा पनि व्यक्तिको शारीरिक अवस्था, स्वास्थ्य समस्या अनुसार फरक पर्छ ।

राति मदिरा, मसालेदार खाना खाँदा के हुन्छ ?

राति मसालेदार खाना र रक्सी खाँदा पेटको समस्या बढ्ने गर्छ । मदिराले रक्तचाप घटाउने र शारीरिक तापलाई पनि घटाउने गर्छ । त्यो बेला चिल्लो मासु खाएको खण्डमा मुटुमा समस्या थपिन सक्छ ।

मदिरा, कोल्ड ड्रिंकसँग मासु, चिप्स जस्ता चिल्लो र मसालेदार खानेकुरा खाँदा उच्च रक्तचाप, मोटोपन, मधुमेह र कोलेस्टेरोल जस्ता समस्या देखिने जोखिम हुन्छ ।

आयुर्वेद खानपान
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय