+
+

सर्वोच्च बारका अध्यक्ष भन्छन् : संसदका महासचिवले जबरालाई दिएको पत्रमा षडयन्त्र छ, प्रतिवाद गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १३:४६
सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य । फाइल तस्वीर

२१ मंसिर, काठमाडौं । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले संसद सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई दिएको ‘क्लिन चिट’ षडयन्त्रमुलक भएको टिप्पणी गरेका छन् । उनले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिनेसमेत बताए ।

आज पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले भने, ‘संसद अधिवेशन बस्न बाँकी छँदै सचिवालयबाट बिचैमा यसरी पत्र आउनु भनेको षडयन्त्रमूलक कुरा हो । यो कुरा कानुन र संविधान अनुसार मिल्दैन । किनभने महाअभियोगको प्रक्रियामा गइसकेपछि संसदले कुनै निर्णय नगरेसम्म त्यो निलम्बन फुकुवा हुँदैन भन्ने प्रष्ट व्यवस्था हुँदाहुँदै सचिवालयले यसरी ष्डायन्त्रमुलक चिठी लेखेको हामीलाई स्वीकार्य छैन । यो कुराले मान्यता पाउन सक्दैन ।’

गत २०७८ फागुन १ गते प्रधानन्यायाधीश जबराको कार्य सम्पादन राम्रो नभएको भन्दै सत्ता गठबन्धनका सांसदहरुले उनीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । त्यसलगत्तै जबरा निलम्बनमा परेका थिए ।

आज संघीय संसदका महासचिव भरतराज गौतमले जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र दिएपछि जबरा सर्वोच्च अदालत जाने तयारीमा छन् ।

आफूलाई कामकारबाही गर्न रोक नलगाउन माग गर्दै जबराले मंगलबार मात्रै संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको प्रतिउत्तरमा संघीय संसदका महासचिव डा. गौतमले महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधि सभामा पेश, प्रारम्भिक छलफल र महाअभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको र नयाँ प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेकाले जबराले कार्य सम्पादन गर्न पाउने व्यहोराको पत्र लेखेका थिए ।

तर शाक्यले साधारण विधेयकको हकमा त्यो कुरा लागू भए पनि महाअभियोगको हकमा त्यो कुरा लागू नहुने तर्क गरे । उनले जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने बताए । उनले भने, ‘हामी प्रवेश गर्न दिंदैनौं । हामी मिटिङ बसेर यसको प्रतिवाद गर्नेछौं ।’

सर्वोच्च अदालत बार एशोसिएसन र नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले लामो समय जबराविरुद्ध आन्दोलनसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?