+
+
Shares
स्थलगत :

बेपत्ताका आफन्तको आक्रोश– सुरुङमा गृहमन्त्रीले खोस्रेर पार लाग्दैन, दक्ष प्राविधिक खटाउने हो

पीडितको प्रश्न छ- गृहमन्त्री आफैं टनेलमा गएर काम गरेको भनियो । उहाँलाई धन्यवाद । उहाँ १० दिन त्यही बसेर काम गरे पनि केही हुनेवाला छैन । उद्धार गर्न त दक्ष मान्छे चाहिन्छ नदीमा बालुवा निकाले जसरी एउटा स्काभेटरले काम गरेको छ । त्यसरी कहिले हुन्छ उद्धार ?

नारायण अधिकारी आर्यन धिमाल नारायण अधिकारी, आर्यन धिमाल
२०८३ भदौ १३ गते २२:१८
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवास्थित भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका व्यक्तिका आफन्त त्रिशूली ब्यारेकमा खोजी तथा उद्धारप्रति असन्तुष्ट बनेका छन्।
  • आफन्तहरूले टनेलमा स्काभेटर, दक्ष जनशक्ति र विशेषज्ञ नहुँदा उद्धार ढिलो भएको गुनासो गर्दै ‘कि सास देउ कि लास देउ’ भनेका छन्।
  • प्राधिकरणका अनुसार बाढीमा हाइड्रोपावरमा कार्यरत ९३३ जना बेपत्ता छन् र खोजीमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालित छन्।

१३ भदौ, नुवाकोट । गत बुधबार बिहान रसुवास्थित भोटेकोशीमा एक्कासी आएको बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूका आफन्त उद्धारबाट सन्तुष्ट देखिँदैनन् ।

अहिले बेपत्ता व्यक्तिहरूका आफन्तहरू नुवाकोटस्थित श्री नं. १ सैन्य तालिम केन्द्र त्रिशूलीमा आफन्तको पखाईमा छन् ।

हरेक पटक हेलिकप्टर ल्याण्ड हुँदा आफन्त जिवितै फर्किएकी भन्ने आशासहित उनी हेलिकप्टरतिर आँखा डुलाउँछन् ।

अनि आफन्त नफर्केको थाहा भएपछि निराश हुँदै फेरि अर्को हेलिकप्टर ल्याण्डको पखाईमा हुन्छन् । चार दिनदेखि यस्तै दैनिकी बिताउँदै आफन्तहरू अहिले पनि त्रिशूली आर्मी ब्यारेकमा केन्द्रित छन् ।

आफन्त जिवितै फर्केनेहरू खुसी देखिन्छन् । तर अहिलेसम्म सम्पर्कविहीन भएका व्यक्तिहरूका आफन्त भने खोजी तथा उद्धारबाट असन्तुष्ट छन् ।

लमजुङ घर भएका सोभित पोखरेल ३ दिनदेखि त्रिशूली ब्यारेकमा छन् । उनका छिमेकी दिदी बेपत्ता छिन् । उनका दिदी मेकानिकल सब इन्जिनियरको रुपमा अपर त्रिशूली थ्री ‘ए’मा कार्यरत थिइन् । काम भइहरहेको थियो । उनका अनुसार त्यहाँ ४५ जना जति काममा थिए ।

एक्कासी बाढी आएपछि अहिले कसैसँग पनि सम्पर्क छैन । ‘अघिल्लो दिन बेलुका भिडियो कल भएको थियो भाइसँग । कलमा ७ बजेदेखि ड्युटी छ । १२ घण्टा काम हुन्छ भन्नुभएको थियो । अनि फेरि बेलुका कुरा गरौंला भन्नु भएको थियो । चार दिन भयो सम्पर्क हुन सकेन’ उनी भन्छन् ।

९ भदौको बेलुका भिडियो कल भएदेखि सम्पर्कविहीन भएका दिदीको पखाईमा उनी त्रिशूली ब्यारेकमा छन् ।

९ बजेर १८ मिनेट ५६ सेकेण्डमा टनेलमै लोकेशन देखिएको थियो । त्यसपछिको अवस्था केही जानकारी छैन । सुरुङको डिजाइन अनुसार सुरक्षित रहन सक्छन् भनेर विद्यत प्राधिकरणले भनेको छ । तर हामीलाई केही जानकारी छैन’ उनी भन्छन् ।

सोभित जस्तै आफन्त खोज्न त्रिशूली ब्यारेकमा दिन बिताउने अन्य व्यक्ति पनि छन् । उनीहरू पनि राज्यको उद्धारबाट सन्तुष्ट छैनन् । गृहमन्त्री आफैं गएर सक्रिय भएर उद्धारमा खटिनु भएको छ भन्ने अनलाइनबरको प्रश्नमा पनि उनीहरू सन्तुष्ट छैनन् ।

‘समस्या के छ भने टनेल त बनायो तर उद्धार गर्न स्कील मेनपावर छैन । गृहमन्त्री आफैं टनेलमा गएर काम गरेको भनियो । उहाँलाई धन्यवाद । तर उहाँ १० दिन त्यही बसेर काम गरे पनि केही हुनेवाला छैन । उद्धार गर्न त स्कील मेनपावर चाहियो नि । एक्सपर्ट ल्याउनु पर्‍यो । नदीमा बालुवा निकालेजसरी एउटा स्काभेटर काम गरेको छ । त्यसरी कहिले हुन्छ उद्धार’ सोभित प्रश्न गर्छन् ।

दैनिक १५/२० वटा स्काभेटर खटाएर दक्ष मेनपावर खटाएर काम गर्नुपर्ने उनीहरूको सुझाव छ । तर त्यसरी काम नगरको भन्दै उनीहरू गुनासो गर्छन् । ‘अझ अफिस टाइम जस्तो दिनको ८ घण्टा काम गरेको भन्दै उनीहरू गुनासो गर्छन् । १५ वर्षअघि नाइट भिजिन चलाएर अपरशेन गर्ने आर्मी अहिले भने ६ नबज्दै भिजिबिलिट कम भन्दै काम रोक्छ’ बेपत्ता पीडितका आफन्तको आक्रोश छ ।

केही व्यक्ति त आफैं हिँड्दै ज्यानै जोखिममा राखेर टनेल भएको ठाउँसम्म पुगेका रहेछन् । उनीहरू राज्यको तर्फबाट नभई आफैं त्यहाँ पुगेको बताउँछन् । ‘पारितर्फबाट हिँड्दै चार जना टनेल भएको ठाउँमा पुगेका छन् । तर बाहिर आएजस्तो काम हुन सकेको छैन’ उनीहरू भन्छन् ।

आफन्त खोज्दै त्रिशूली ब्यारेक पुगेका कालिकोटका तपेन्द्र बिष्टको पीडा पनि उस्तै छ । उनका माइला भाइ त्रिशूली थ्री बीको टनेलमा बेपत्ता छन् । अहिलेसम्म उद्धार नभएको आक्रोश उनको पनि छ । कि सास देउ कि लास देउ भन्दै उनी आर्मी ब्यारेक पुगेका छन् । १० भदौको बिहान ८ बजेमात्रै उनको भाइसँग कुराकानी भएको थियो ।

त्यतिबेला ड्युटी सकेर कोठा जान लागेको बताएका धीरेन्द्र विष्ट त्यसपछि भने सम्पर्कविहीन छन् । उनीसँगैका नेपाल बिष्ट नाम गरेका व्यक्ति सम्पर्कविहीन छन् ।

बेपत्ता आफन्तको पखाईमा बसेका अधिकांशको एउटै स्वर छ जतिसक्दो चाँडो उद्धार हुनुपर्‍यो ।

टनेलमा उद्धारमा समय लागेको विषय विद्युत प्राधिकरणका कर्मचारीहरू पनि स्वीकार्छन् । अन्य ठाउँभन्दा जटिल रहेको र स्रोत साधान समेत पुर्‍याउन समस्या रहेकाले उद्धारमा केही कठिनाई रहेको उनीहरूको बुझाई छ ।

प्राधिकरणका एक कर्मचारीका अनुसार टनेल मै जोगिएर रहेका दुई वटा स्काभेटरबाट अहिले काम भइरहेको छ । बाढीले पुरै बिग्रिएका स्काभेटरको सामान काठमाडौंबाट लिएर, बनाउने मेकानिक समेत लिएर बल्ल बनाएर काम सुरु गरिएको प्राधिकरणले बताएको छ ।

मेशिन बनेपछि मास्टर कि बनाएर काठमाडौंदेखि लगिएको र अपरेटर समेत खोजेर लगेपछि अहिले दुई वटा स्काभेटरले टनेलको काम त्रिशूली थ्री ए मा काम गरिरहेको उनीहरूको तर्क छ ।

१० भदौको बिहान ८:४५ बजे तिब्बततर्फ आएको बाढी रसुवास्थित भोटेकोशीमा नुवाकोट धादिङमा समेत क्षति बनाएको थियो । यो बाढीमा परेर हाइड्रो पावरमा कार्यरत मात्रै ९३३ जना बेपत्ता भएको बताइन्छ । त्यसपछिको खोज तथा उद्धारमा १५ हजार बढी सुरक्षाकर्मी परिचालित छन्।

 

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?