+
+

मेयरको घरमा विराटनगर महानगरले चलायो डोजर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १९:३७

२१ मंसिर, विराटनगर । विराटनगर महानगरपालिकाले मेयर नागेश कोइरालाको घरमा डोजर चलाएको छ । विराटनगर–९ जलजला रोडस्थित कोइरालाको घरमा अनुमति विना निर्माण भएको संरचना हटाउन महानगरले डोजर चलाएको हो ।

मेयर कोइरालाले भाडामा लगाएको सटरमा निर्माण भएको संरचना डोजर प्रयोग गरेर हटाएको महानगरपालिकाले बताएको छ । भाडामा लिने व्यापारीले बनाएको संरचना अवैधानिक भएको महानगरपालिकाको भनाइ छ ।

विराटनगर महानगरपालिकाले सडकमा निर्माण गरिएको संरचना हटाउन ३५ दिने सूचना निकालेको थियो । तर अटेर गरेपछि मेयर कोइरालाकै घरबाट अवैध संरचना हटाउने अभियानको सुरुवात गरेको हो ।

नगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको नगर प्रहरीले पसल अगाडि निर्माण गरेको सेटब्याक र सटमा झुण्ड्याइएका होडिङ बोर्डसमेत हटाएको थियो ।

विराटनगरलाई व्यवस्थित महानगरको अभियानअन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका अवधै संरचना हटाउन सुरु गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए ।

‘आफैंबाट सुरु गर्नुपर्छ भन्ने लागेर मेरै घरमा रहेका पसल सञ्चालकले बनाएका अवैध संरचना हटाएर अभियान सुरु गरेका छौं’, उनले भने, “विराटनगर अब यथास्थितिमा बस्न सक्दैन,यसलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने हाम्रो लक्ष्य छ ।’ उनले विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा साथ दिन पनि आग्रह गरे ।

महानगरले बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

सार्वजनिक सूचना जारी र पटक–पटक माइकिङ गर्दा पनि व्यापारीहरुले अटेर गरेपछि महानगरले संरचना हटाउने अभियान सुरु गरेको हो ।

मेयर कोइरालाको घरमा सञ्चालित पसलका साथै महानगर कार्यालय अगाडि रहेका पसल, वडा नम्बर ९ को कार्यालय, बुधहाट चोकस्थित वी प्लटमा रहेका पसलमा निर्माण गरेको अवैध संरचना हटाइएको महानगरले जनाएको छ ।

अवैध संरचना हटाउने अभियानलाई हरेक दिन सञ्चालन गरिने नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?