+
+

लिग टु : नामिबियासँग नेपाल पराजित, शीर्ष ३ पुग्ने सम्भावना सकियो

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ मंसिर २१ गते २१:४३
नेपाली क्रिकेट टिमको फाइल तस्वीर ।

२१ मंसिर, काठमाडौं । नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखला अन्तर्गत तेस्रो खेलमा नेपाल बुधबार घरेलु टोली नामिबियासँग ८६ रनले पराजित भएको छ ।

विन्डोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा नामिबियाले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपालले ४६.५ ओभरमा १० विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो ।

नेपालले ओडिआई मानयता पाएयता नामिबियालाई हराउन सकेको छैन । गत जुलाईमा स्कटल्याण्डमा भएको शृंखलामा नेपाल नामिबयासँग दुवै खेलमा पराजित भएको थियो भने यस शृंखलाको पहिलो खेलमा नेपाल र नामिबियाबीचको खेल वर्षाले प्रभावित हुँदा नतिजाविहीन बनेको थियो ।

यस जितपछि नामिबायले ३० खेलबाट ३७ अंक जोडेको छ । नामिबियाले लिग टु को शीर्ष तीनमा रहेर अर्को वर्ष हुने एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना बलियो बनाउँदा नेपाल भने यसको ठीक विपरीत अवस्थामा छ ।

ब्याटिङमा अझै परीक्षण

भारतीय प्रशिक्षक मनोज प्रभाकरको आगमानपछि नेपाली टिममा परिक्षण मात्रै भइरहेको छ । उनले अझै पनि नेपालको टिमलाई सही संरचना दिन सकेका छैनन् ।

प्रभाकरले नेपालको ब्याटिङ अर्डरलाई फेर बदल गरिरहेका छन् । जसले गर्दा खेलाडीहरु नै कन्फ्युजनमा परेको देखिन्छ । त्यसले गर्दा खेलाडीले सही रुपमा जिम्मेवारी निर्वाह गर्न नसकेको देखियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४४ रन बनाए । ६१ बल खेलेका उनले ३ चौका प्रहार गरे । यस्तै दीपेन्द्र सिंह ऐरीले ३४, ज्ञानेन्द्र मल्लले ३० र ओपनर अर्जुन साउदले २९ रन जोडे । आरिफ शेखले १८ रन बनाए ।

आजको खेलमा कुशल भुर्तेलले अर्जुन साउदसँग ओपनिङ गरेका थिए भने आसिफ शेखले तेस्रो नम्बरमा ब्याटिङ गरेका थिए । प्रशिक्षक मनोज प्रभाकरले यसअघि कुशललाई अलराउण्डरको भूमिका दिएका थिए ।

तर कुशल ३ रन बनाएर चौथो ओभरमै आउट भए । त्यसपछि आसिफ ७ रनमा आउट भए । अर्जुन र ज्ञानेन्द्र मल्लले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे । तर दुवैले राम्रो सुरुवात पाइसकेपछि पनि लामो समय भने क्रिजमा टिक्न सकेनन । यसअघि लोअर अर्डरमा नेपालको इनिङ्स सम्हाल्दै आएका गुल्सन झाले नामिबिया विरुद्ध दीपेन्द्र सिंह ऐरी र आरिफ शेख भन्दा अघि छैटौं नम्बरमा ब्याटिङ गरेका थिए । तर २ रनमा आउट भए ।

९१ रनमै ५ विकेट गुमाएको नेपालका लागि कप्तान रोहित र दीपेन्द्रले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर ५६ रनको साझेदारी गर्दै यो साझेदारी तोडियो । त्यसपछि नेपालले लगातार विकेट गुमउँदा अलआउट भयो ।

नामिबियाका लागि जे जे स्मिथ, तान्गेनी लुंगामेनी र पिक्की या फ्रान्सले २-२ विकेट लिए । रुबेन ट्रम्पलम्यान, बर्नार्ड स्कोल्ट र माइकल भान लिन्गेनले समान १ विकेट लिए ।

भान लिन्गेनको शतक

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले भान लिन्गेनको शतकीय पारीमा ७ विकेट गुमाएर २७५ रन बनाएको थियो । लिन्गेनले १११ बल खेल्दै १५ चौका र १ छक्का मद्दतमा ११९ रन बनाए । लिन्गनेल कप्तान गेर्हार्ड इरासमसँग तेस्रो विकेटका लागि ९९ रनको साझेदारी गरे । इरासमसले ७६ बल खेल्दै १ चौका र २ छक्का मद्तमा ५३ रन बनाए ।

नामिबियाले विकेट गएपनि महत्वपूर्ण साझेदारी गर्दै इनिङ्सलाई अगाडि बढाएको थियो । जुन नेपाली इनिङ्समा देखिएन ।

यस्तै लिन्गेनले जान निकोल लोफ्ठी एटोनसँग चौथो विकेटका लागि ९० रनको साझेदारी गरे । एटोनले ३२ बलमा ४० रन बनाउने क्रममा ४ चौका र१ छक्का प्रहार गरे । पिक्की या फ्रान्स ११ रनमा अविजित रहे ।

नेपालका लागि ललित राजवंशीले १० ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । यस्तै सोमपाल कामीले २ विकेट लिए । सागर ढकाले १ विकेट लिए ।

नामिबिया विरुद्ध २ विकेट लिएका सोमपाल कामीले ओडिआईमा ५० विकेट पूरा गरेका छन् । ३१औं खेलमा यो उपलब्धी हासिल गरेका सोमपाल नेपालबाट ओडिआईमा ५० विकेट लिने दोस्रो खेलाडी बने । निलम्बित कप्तान सन्दीप लामिछानेले ओडिआईमा नेपालका लागि सर्वाधिक ६९ विकेट लिएका छन् ।

अबको नेपालको बाटो

२३ खेलबाट १८ अंक मात्र रहेको नेपाल सात टिम सहभागी लिग टु मा छैटौं स्थानमा छ । यस हारले नेपालको शीर्ष तीनमा पर्ने सम्भावना लगभग समाप्त भइसकेको छ ।

स्कटल्याण्ड र ओमानको समान ४४ अंक छ र नेपालले अब बाँकी रहेको सबै १३ खेल जितेपछि यी दुई टिमसँग अंक बराबरी हुनेछ । नेपाललाई सबै खेल जित्ने चुनौती छ । लिग टु बाट ग्लोबल क्वालिफायरमा पुग्ने सम्भावना सकिएपछि नेपालको लक्ष्य अब एकदिवशीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने र प्लेअफ मार्फत ग्लोबल क्वालिफायरमा पुग्ने चुनौती थपिएको छ ।

नामिबियाको शृंखलापछि नेपालले लिग टु मा तीन शृंखला खेल्न बाँकी छ । जसमा दुई शृंखला घरेलु मैदान र एक शृंखला बाहिर गएर खेल्नुपर्नेछ ।

लिग टु मा शीर्ष पाँचमा पर्न सके नेपालले ओडीआई मान्यतालाई जोगाउनेछ । त्यसका लागि अब बाँकी १३ मध्ये नेपालले ९ खेल जित्नुपर्नेछ । ९ खेल जितेमा नेपाल अमेरिकाला पछि पार्दै पाँचौ स्थानमा पुग्नेछ । सबै ३६ खेल खेलिसकेको अमेरिकाको ३५ अंक छ । २८ खेलबाट २ अंक मात्र रहेको पपुवा न्यु गिनी अन्तिम हुने पक्का छ ।

लिग टु मा पुछारका चार टिम ग्लोबल क्वालिफायरका लागि च्यालेन्ज लिगका शीर्ष दुई टिमसहित ६ टिम सम्मिलित प्लेअफ खेल्नुपर्नेछ । जसबाट शीर्ष दुई टिम ग्लोबल क्वालिफायरमा पुग्नेछ ।

यदी नेपाल लिग टु को शीर्ष पाँचमा परेमा ओडिआई मान्यता जोगाउनेछ भने प्लेअफ क्वालिफायर खेल्नुपर्नेछ । प्लेअफ क्वालिफायरमा शीर्ष दुईमा रहन सके ग्लोबल क्वालिफायरमा पुग्नेछ । लिग टु को अन्तिम दुई स्थानमा रहेको अवस्थामा भने ओडीआई मान्यता र ग्लोबल क्वालिफायर दुवैका लिग प्लेअफ क्वालिफायरमा शीर्ष दुईमा रहनुपर्नेछ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?