+
+
विचार :

संसदीय दलको नेता चयनले दिने राजनीतिक सन्देश

परम्परागत राजनीतिक दलले कम्तीमा मतदाताको मनोविज्ञान बुझेर राजनीतिलाई ‘सच्याउने र सङ्ल्याउने’ हो भने संसदीय दलमा आफू निर्वाचित हुनका लागि दर्जनौं सांसदलाई ‘उधारो’ मन्त्री बाँड्नुको सट्टा युवाको ‘स्वस्थ’ प्रतिस्पर्धा गराएर देश संचालनको जिम्मेवारीमा पुर्‍याउने हिम्मत गर्न जरूरी छ ।

सुदर्शन आचार्य सुदर्शन आचार्य
२०७९ मंसिर २२ गते १७:४७

हालै सम्पन्न निर्वाचनमा निर्वाचनपूर्व गरिएको गठबन्धन, प्रत्यक्ष तथा समानुपातिक सूचीमा रहेका कतिपय अनुहार र देशैभर ‘युवा’लाई रुचाउने मतदाताको मनोविज्ञानका कारण नेपाली कांग्रेसले आशातित सफलता निकाल्न सकेन । तर, यो ‘विफलता’का बावजुद पनि नेपाली कांग्रेस संसदमा ठूलो दल बनेको छ । यही ठूलो दलको हैसियतले उक्त दलका सभापति शेरबहादुर देउवालाई नै पुनः संसदीय दलको नेता बनाउन युवा नेतामाथि अस्वाभाविक ‘घेराबन्दी’ प्रारम्भ भएको अनुमान लगाउन कठिन छैन ।

उता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताका घेरामा रहने अधिकांश नेता जनताबाट अनुमोदित भएर आउन सकेनन् । ‘देउवा, ओली, दाहाल पुस्ता’ले हिजो व्यवस्था परिवर्तनमा ‘सक्षम’ भएकैले भोलि जनताको ‘अवस्था’ परिवर्तनमा पनि ‘आफैं’ सक्षम देखे । समयको वेग बुझ्न सकेनन् । फलस्वरूप हिजो आफैंले ‘घोर दक्षिणपन्थी’ भनेको शक्ति ‘राप्रपा’ समेतको अस्वाभाविक उदय भयो ।

नेपाली राजनीतिको दुर्भाग्य मान्नुपर्दछ– ‘देउवा, ओली, दाहाल’ पुस्ताले परिवर्तनको वेगलाई आत्मसात् गर्न सक्ने क्षमता गुमाइसके, या त उनीहरू आफ्नै वरिपरिका ‘अक्षम’हरूको निर्मम घेराबन्दीमा छन् । यसले मतदातामा घोर निराशा छाएको देखिन्छ । साथै, राजनीतिक क्षितिजमा भोलिका मितिमा ‘स्वतन्त्र’हरूको ठूलो संख्यामा उदयको सम्भावनालाई पनि संकेत गर्छ । परम्परागत राजनीतिक दलले कम्तीमा मतदाताको मनोविज्ञान बुझेर राजनीतिलाई ‘सच्याउने र सङ्ल्याउने’ हो भने संसदीय दलमा आफू निर्वाचित हुनका लागि दर्जनौं सांसदलाई ‘उधारो’ मन्त्री बाँड्नुको सट्टा युवाको ‘स्वस्थ’ प्रतिस्पर्धा गराएर देश संचालनको जिम्मेवारीमा पुर्‍याउने हिम्मत गर्न जरूरी छ ।

वाम विचारधारा बोक्ने नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी जस्ता दलमा दलको नेतामा आफूलाई प्रस्तुत गर्ने उच्च मनोबल कोही पनि युवा नेतामा देखा नपर्नुलाई दुःखद रूपमै लिनुपर्ने हुन्छ । उता कांग्रेसमा भने महामन्त्री गगनकुमार थापाले ‘ड्राइभिङ सिट’मा बसेर ‘भिजन’ सहित मुलुकलाई हाँक्ने चुनौती निर्वाचन अघिदेखि नै दिएका छन् ।

युवा नेता थापाको चुनौतीले कांग्रेसका तमाम सांसदलाई संसदीय दलमा ‘टेस्टेड देउवा’का पक्षमा उभिने कि ‘टेस्ट’ हुन बाँकी थापाका पक्षमा भन्ने धर्मसंकट पैदा गरेको छ । साथै, देउवाकै पक्षमा आफूलाई उभ्याउँदा आसन्न पार्टीको महाधिवेशन तथा संसदीय निर्वाचनको चुनौती कसरी सामना गर्ने भन्ने अर्काे ‘चुनौती’ पनि पहाड भएर उभिने निश्चित छ । तसर्थ पनि यतिबेला ‘पार्टी र मुलुक’को भविष्य हेर्नै पर्ने दबावमा ठूलो दलको हैसियतले कांग्रेसका सांसद पर्न पुगेका छन् ।

कांग्रेसमा ‘एक पटक, यसै पटक’ भनेर १४औं महाधिवेशनमा सभापतिमा होमिएका डा. शेखर कोइराला पनि छन् । हिजो आफ्नै समूहका नेताको अन्य समूहमा भएको ‘बसाइँसराइ’का कारण हार व्यहोर्नु पर्‍यो । त्यो तितो अनुभूति भुलेर अंकगणितका हिसाबले केही बलियो देखिएका देउवासँग आफ्नै समूहका महामन्त्री र आफू स्वयं पनि संसदीय दलको नेतामा प्रत्यासी भएर आफ्नो समूहलाई कमजोर बनाउलान् भन्ने अनुमान लगाउन कठिन छ ।

त्यसो त संस्थापनइतर समूहबाट एकल उम्मेदवार तय गर्न सक्दा मात्र यसपटक देउवालाई संसदीय दलमा रोक्न सक्ने अंकगणित बन्न सक्छ । किनकि सवाल आजको अंकगणित र संसदीय दलको नेता ‘को’ चयन हुने भन्दा पनि भोलिको नेपाल हाँक्ने नेतृत्व कांगे्रस स्वयं आफैंले लिने कि नलिने भन्ने पनि हो ।

संस्थापनइतर कोइराला समूहमा आजका मितिमा भारी अन्योल देखिन्छ । यसअघि पार्टी सभापतिमा हार व्यहोरे जसरी नै संसदीय दलमा पनि हार व्यहोर्नु स्वयं डा. कोइरालाको निम्ति पनि लाभदायी नहोला । प्रौढ पुस्ताका देउवासँग देशैभरका युवाको मनोविज्ञान जोडिएका ‘गगन’लाई संसदीय दलको नेतामा कोइराला समूहले प्रस्तुत गर्दा पार्टीको आगामी १५औं महाधिवेशन र सम्भावित मध्यावधि निर्वाचन वा आगामी निर्वाचनका लागि समेत सिंगै कांग्रेसका लागि सुखद सन्देश प्रवाहित हुन पुग्दछ ।

यो विषयमा देउवाइतर समूह एकै ठाउँमा उभिन जरूरी छ । कांग्रेसका लागि मात्र नभई आम लोकतन्त्रवादीका लागि समेत ‘कोइराला परिवार’ भन्ने ‘शब्द’नै लोकतन्त्रको एउटा ‘विश्वविद्यालय’ मान्ने जमात पनि छ । उक्त परिवारले अब ‘गगन, विश्वप्रकाश, धनराज गुरुङ, चन्द्र भण्डारी, बद्री पाण्डे र प्रदीप पौडेल’ जस्ता पुस्तालाई कांग्रेस पार्टीमा मात्र नभई देशमै ‘फुल्न र फक्रन’ अगाडि सार्नुपर्दछ । तब मात्र लोकतन्त्रको पर्याय तथा संघर्षको विरासत बोकेको कोइराला परिवारको नाम इतिहासमा स्वर्णाक्षरले लेखिनेछ ।

यही काम स्वयं देउवाले समेत गरेर माथि उल्लिखित युवा नेताको अलावा एनपी साउद, वीरबहादुर वलायर आदिलाई संरक्षणसहित अगाडि बढाउन सक्दा नै देउवाको बचेको ‘हाइट’ अझ उच्च हुने हो । सँगै, युवा मनोविज्ञान जोडिएको पुस्ताले पनि नेपालको परिवर्तनमा ‘कोइराला–देउवा’ आदिले पुर्‍याएको योगदानको विशेष कदर गर्दै भोलिको मितिको राजनीतिका लागि पनि आफूलाई ‘अब्बल’ पुस्तामा रूपान्तरण गर्न जरूरी छ ।

‘गगन–विश्व’ले हिजो नै पार्टीको महाधिवेशन पूर्व ‘रूपान्तरण र पुस्तान्तरण’को मुद्दा उठाएकै कारण पार्टीका महाधिवेशन प्रतिनिधिबाट लोकप्रिय मत हासिल गरेका हुन् ।

त्यसो त, पार्टीको १४औं महाधिवेशनपूर्व चुनाव लड्दै गर्दा संस्थापनइतरका नेता डा. शेखर स्वयंले भनेका थिए, ‘पार्टीमा रूपान्तरण र युवाको नेतृत्व आवश्यक छ ।’ कोइराला स्वयंले उक्त भनाइ कार्यान्वयन गरेर आफूलाई ‘त्यागी तथा अब्बल’ नेता देखाएर स्वयं छैटौं पटक प्रधानमन्त्रीको दौडमा रहेका देउवालाई समेत राजनीतिक रूपले त्यागको ‘जवाफ’ दिनु सान्दर्भिक हुनेछ ।

अर्कातिर हिजोका मितिमा देउवा कित्तामा पुगेर आलोचित पार्टी सभापतिका प्रत्यासी त्रय रामचन्द्र पौडेल, प्रकाशमान सिंह र विमलेन्द्र निधि तथा पूर्व महामन्त्री शशांक कोइरालाले पनि ‘कोर्स करेक्सन’ गर्ने अवसर हो यो । तब मात्र धुमिल वर्तमानलाई उज्यालो इतिहासमा रूपान्तरण गर्न सक्छन् । राष्ट्रिय राजनीतिमा युवाको अर्थपूर्ण उपस्थितिमा कांग्रेस नेताहरू कोइराला, पौडेल, सिंह, निधिको साथले नेपाली राजनीतिमा नै एउटा सकारात्मक सन्देश प्रवाहित गर्न सक्छ ।

विगतको सत्तापलट मात्र राजनीतिमा ‘सबैथोक’ होइन । गिरेको साथ उठाउने माध्यम पनि हो, राजनीति । पार्टीको आफ्नै कारणले गिरेको साख उठाउने माध्यमका रूपमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई गिरिजाप्रसाद कोइरालाले अगाडि सारेर पार्टीले बहुमत हासिल गरेको इतिहास साक्षी छ । यही निर्वाचनमा पनि गठबन्धनले ‘युवा’ मध्येबाट भावी प्रधानमन्त्रीका रूपमा सान्दर्भिक पात्रलाई अगाडि सार्न सकेको भए गठबन्धनको सिट अवश्य बढ्ने थियो । त्यो सन्दर्भमा गठबन्धनको ‘मन’ मिलेन । अहिले पनि को कससँग गठबन्धन हुने र पोजिसनको बाँडफाँटका आधार के भन्ने तय भइसकेको छैन । तर, निर्वाचनअगावै ‘मुलुक सञ्चालनको ड्राइभिङ सिटमा म’ भनेर कांग्रेस महामन्त्री थापाले युवा मतदाताको मनोविज्ञानलाई तान्ने प्रयत्न गरेकै हुन् ।

यतिबेला कांग्रेस पार्टीले मात्र नभई मूलधारका राजनीतिक दलहरूले मतदाताको मनोविज्ञान अनुसार युवाहरूका बीच प्रतिस्पर्धा गराएर युवा पुस्तालाई नै राजनीतिको बागडोर सुम्पनुपर्छ । यो नै परम्परागत दलको हितमा छ । तर, यतिबेला परम्परागत दलका प्रौढहरूलाई नै संसदीय दलको नेता बनाउने खेल भइरहेको छ ।

जनताबाट अस्वीकृत अनुहारहरूको पार्टीमा हालीमुहाली हुने र युवा मतदाताको मनोविज्ञान बेगर पुरानैलाई ‘जबरजस्त’ नेता बनाउने प्रयास जारी छ । भिजनरी पुस्तालाई ‘घेराबन्दी’मा पार्नुका साथै आफ्नो लाज ढाक्न र नयाँ पुस्ताको वेग रोक्न खोजिएको छ ।

यहींनेर हो गगनले ‘घण्टी’लाई सहयोग गर्‍यो भन्ने जस्ता ‘गोयबल्स’ शैलीको प्रचार गरिएको । यस्तो अभ्यासले कांग्रेसलाई त रसातलमा पुर्‍याउँछ नै, हिजोको निर्वाचनमा सुनिएको ‘घण्टी’को आवाज भोलिका मितिमा देशैभर ‘गुञ्जायमान’ हुन समय लाग्ने छैन । त्यतिबेला कांग्रेसका सामु मात्र नभई मूलधारका राजनीतिक दलका सामु ‘राम–राम’ भन्ने बाहेक काँधै थापिदिने शक्ति कोही रहने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?