+
+

असरफ हाकिमी : कठिनाईबाट उठेका स्टार

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १९:१२

२२ मंसिर, काठमाडौं । भाग्यले बहादुरहरुलाई मात्र साथ दिन्छ । यो भनाइ असरफ हाकिमीको जीवनमा लागू भइसकेको सत्य हो ।

विश्वकप २०२२ को अन्तिम १६ मा स्पेन र मोरक्कोले १२० मिनेटसम्म गोलरहित बराबरी खेले । पेनाल्टी प्रहारका लागि जब पेरिस सेन्ट जर्मेइनका राइट ब्याक हाकिमीले बल लिए त्यो किक मोरक्को फुटबलका लागि इतिहास दोहोर्‍याउने क्षण थियो ।

पूरा मोरक्कोबासी र विश्वभरका तटस्थ समर्थक त्यही क्षणको प्रतीक्षामा थिए । हाकिमीले कदम बढाए बायाँतर्फ झुके र स्पेनिस गोलरक्षकलाई छक्याउँदै गोल गरे ।

स्पेनको मड्रिडमा जन्मिएका हाकिमीका लागि राष्ट्रिय टिमसम्मको बाटो लामो, घुमाउरो र उवडखावडयुक्त थियो ।

उनलाई सानै उमेरदेखि सम्भावित स्टार खेलाडीका रुपमा हेरिएको थियो र त्यो क्षमताको पहिचान रियल मड्रिडले गरेको थियो । आठ वर्षको उमेरमै युरोपको सबैभन्दा सफल क्लबमा अनुबन्ध हुने भाग्य पाए पनि उनलाई आफ्नो जीवनका हरेक सफलतामा ठूलो संघर्ष गर्नुपर्यो ।

८ लाख अन्य नागरिकजस्तै हाकिमी पनि मोरक्कोका स्पेनिस डायस्पोराका सदस्य हुन् । उनी मड्रिडको औद्योगिक उपनगर गेटाफेमा एक न्यून आय भएको परिवारमा हुर्किएका हुन् । रियल मड्रिडको क्यास्टिला एकेडेमीमा आएपछि उनको जीवनस्तर सुधारिएको थियो । अहिले पनि उनी आफ्नो बाल्यकाल संघर्षपूर्ण हुनुका बाबजुद खुसी रहेको बताउँछन् ।

‘मेरी आमा सफाई कर्मचारी थिइन् । बुबा फुटपाथ व्यपारी थिए,’ उनले स्पेनिस टेलिभिजनसँग एकपल्ट भनेका थिए, ‘उनीहरुले मेरो लागि ठूलो त्याग गरे । मलाई सफल बनाउन उनीहरुले मेरा भाइ बहिनीको कम हेरचाह गरे । अहिले म उनकै लागि खेल्छु ।’

यो लगभग त्यही समय थियो जतिबेला किशोर हाकिमीले युईएफए युथ लिगमा शानदार प्रदर्शन गर्न थालेका थिए । उनी आफू स्थानीय क्षेत्रको सेलिब्रेटी बन्न थालेका थिए ।

यसै क्रममा रोयल मोरक्कन फुटबल फेडेरेसनको नजर उनीमाथि पर्यो । किनभने युरोपमा मोरक्कन डायस्पोरा निकै ठूलो छ । स्पेन, बेल्जियम, फ्रान्स र नेदरल्याण्ड्समा मोरक्कोका थुप्रै नागरिक बसोबास गर्छन् । फेडेरेसनले युरोपमा रहेका आफ्ना नागरिकहरुबाट खेलाडी पहिचानको काम गरिरहेको थियो ।

‘मैले रियल मड्रिडको यू-१७ का लागि खेलिरहेको समयमा पहिलोपल्ट हाकिमीलाई देखेको थिएँं,’ फेडेरेसनका तत्कालीन टेक्निकल डाइरेक्टर नासिर लार्गेटले सन् २०१८ मा एक म्यागाजिनसँगको अन्तर्वार्तामा भनेका थिए, ‘उनी लगातार हाम्रा प्रतिनिधिको सम्पर्कमा थिए । टिमको प्रशिक्षण शिविर र आगामी खेलबारे उनले सोध्ने गर्थे । व्यक्तिगत रुपमा मैले त्यतिबेलै उनीसँग प्रतिबद्धता जनाएको थिएँ कि तिमीले यसरी नै आफ्नो खेललाई जारी राख्यौं भने छिट्टै राष्ट्रिय टिममा आउनेछौ ।’

नभन्दै हाकिमीले सन् २०१६ मा १८ वर्षको उमेरमा सिनियर राष्ट्रिय टिमबाट डेब्यू गरे । उनी मोरक्कोको टिममा आउनुको पनि भावनात्मक कारण छ । स्पेनका लागि खेल्ने उनको सोचमाथि ठूलो खेलवाड भएको थियो । उनले स्पेनिस युवा टिमबाट केहि अवसर पनि पाए । तर, उनी आफैंले ला रोजामा आफू फिट हुन सक्दिनँ भन्ने ठाने ।

‘म मोरक्को संस्कृतिमा हुर्किएको हुँ । घरमा हामीले कुराकानी गर्यौं र मोरक्कन खाना खायौं । म एक अभ्यासशील मुस्लिम हुँ । इमानदारीका साथ भन्ने हो भने मैले यसरी सोच्नु जरुरी थिएन,’ उनले स्पेनिस पत्रिका ला इक्युपसँग भनेका थिए, ‘म आफ्ना पितासँग मोरक्कोका खेलहरु हेर्थेँ । उनले मलाई सधैं इतिहासका महान मोरक्कन खेलाडीको बारेमा मात्र बताउने गर्थे ।’

सन् २०१७ मा हाकिमी रियल मड्रिडको सिनियर टिमका लागि तयार भए । रियल त्यतिबेला लगातार तेस्रोपल्ट युईएफए च्याम्पिन्स लिगको उपाधि जित्ने दाउमा थियो । उनले फ्रान्सेली महान जिनेदिन जिदानेको संरक्षणमा रियलका लागि ९ खेल खेलेर २ गोल गरे । यही प्रदर्शनले उनलाई सन् २०१८ को विश्वकपका लागि राष्ट्रिय टिममा स्थान सुरक्षित गरायो ।

चार वर्षअघि रुसमा सम्पन्न विश्वकपमा मोरक्कन टिमबाट हाकिमीका लागि एक निराशाजनक अनुभव रह्यो । स्पेन, पोर्चुगल र इरानलाई टक्कर दिनुका बाबजुद यो टिम समूह चरणबाटै बाहिरियो । विश्वकपको अनुभवका साथ हाकिमी आफ्नो करिअरमा ठूलो छलाङ लगाउने लक्ष्यमा थिए । उनी रियल मड्रिडमा आफ्नो उपस्थिति अझै प्रभावकारी बनाउन तयार थिए ।

निराशाजनक रुपमा रियलले उनलाई बोरुशिया डर्टमण्डमा २ वर्षको लोनमा पठायो । उनले रियलको यो निर्णयलाई सकारात्मक रुपमा लिए । हाकिमीले बुण्डेसलिगामा तहल्का गरे । डर्टमण्डका लागि ७३ खेल खेलेर १२ गोल र १७ असिस्ट गरे । यद्यपी रियलले अझै पनि उनलाई टिममा फर्काउनेबारे सोचेन ।

लगातारको अस्वीकृत भएपछि उनलाई इटलीको इन्टर मिलानबाट प्रस्ताव आयो । सन् २०२० मा उनी इटली पुगे । उनी एन्टोनियो कान्टेका एक अभिन्न खेलाडी बने ।

सन् २०२१ मा प्रतिकुल परिस्थितिका बीच एक लामो यात्राबाट हाकिमीको प्रतिभा पहिचान भयो । उनलाई फ्रान्सेली च्याम्पियन पीएसजीले लगभग ८३ मिलियन अमेरिकी डलरमा अनुबन्ध गर्‍यो ।

२४ वर्षीय यी खेलाडी राष्ट्रिय टिमका वास्तविक नेता हुन् । मोरक्कोको टिमबाट लगातार तीन वर्षदेखि एकरुपको प्रदर्शन हाकिमीको विशेषता हो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?