+
+
अन्तर्वार्ता :

माधव नेपालको प्रतिप्रश्न : म अहिले राष्ट्रपतिमा जानु उपयुक्त हुन्छ र ?

‘एमाले र निर्वाचन आयोग मिलेर हामीलाई राष्ट्रिय पार्टी बन्न दिएनन्’

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते १९:१६

२३ मंसिर, काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभामा उम्मेदवारी दिएको २० मध्ये १० क्षेत्रमा चुनाव जित्यो । समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेन भने सातवटै प्रदेशसभामा पनि एकीकृत समाजवादी उपस्थिति जनाउन मात्र सफल भयो ।

तर सत्ता गठबन्धनलाई कायम राख्ने पक्षमा उभिएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीमा दाबी गर्ने संकेत गरेका छन् । राष्ट्रपति बन्ने सम्भावना भने अस्वीकार गरेका उनी भन्छन्, ‘कुनै पनि पार्टीको बहुमत छैन भने स्वाभाविक रुपमा कहीं न कहीं कम्प्रोमाइज गर्नुपर्ने रहेछ ।’

प्रस्तुत छ, पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालसँग अनलाइनखबरकर्मी बसन्त बस्नेत, राजकुमार श्रेष्ठ र रामकुमार डिसीले गरेको कुराकानीको सम्पादित अंश :

एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जिते पनि समानुपातिकमा थ्रेस होल्ड कटाउन सकेन । चुनावी परिणामलाई कसरी लिनुभयो ?

हामीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जितेका छौं । तर समानुपातिकमा हाम्रो थ्रेस होल्ड पुग्न सकेन । नभए चार सिट स्वतः पाउने थियौं । १४ सिट हाम्रो हुनेथियो । प्रदेशहरुको सन्दर्भमा गण्डकी बाहेक सबैमा हाम्रो पार्टीका कार्यकर्ता निर्वाचित भएका छन् । गण्डकीमा पनि स्वतन्त्र उम्मेदवार हाम्रो पार्टीमा प्रवेश गर्नुभएकाले सबै प्रदेशमा हाम्रो उपस्थिति छ ।

निर्वाचन अभियान सञ्चालनका क्रममा केही त्रुटि भएका कारण समानुपातिक मत बढ्न सकेन । स्थानीय तहको निर्वाचनमा मेयर मात्र उठाएको ठाउँमा मेयरको मात्र मत, उपमेयर मात्र उठाएको ठाउँमा उपमेयरको मत, वडाअध्यक्षहरु मात्र उठाएको ठाउँमा वडाअध्यक्षको मत र सदस्यहरु मात्र भएको सदस्यको मात्र मत जोड्दा हामीले झण्डै साढे ९ लाख मत पाएका थियौं । त्यो हिसाबले हामी मक्ख पनि पर्‍यौं । त्यसको दोब्बर त आउँछ होला, होइन भने डेढी त आउँछ होला । १५ लाख त आउँछ होला, बढायो भने २० लाख पुग्नसक्छ भन्नेमा म पनि परें । यसमा पनि केही कमजोरी भयो ।

हाम्रा साथीहरु पनि राम्ररी परिचालन हुन सकेनन्, यसमा गठबन्धनले पनि काम गर्दो रहेछ । आफ्नोसँगै अर्को पार्टीको चुनाव चिह्नको पनि प्रचार गर्नु पर्दोरहेछ । चुनावी सभाहरुमा मैले तीनवटा कलम भन्दा अर्कोले तीनवटा रुख भनिदिन्छ, मतदाता कन्फ्युज । हाम्रो अलग्गै घरदैलो हुनुपर्दोरहेछ ।

अर्को, समानुपातिकको बन्दसूचीको एक नम्बरमा भएका मानिसहरु ढुक्क भए । दोस्रो, तेस्रो नम्बरमा परेकाहरु हामी पर्दै पर्दैनौं, किन लाग्ने भनेर सक्रिय भएनन् । समानुपातिकको प्रचार गर्ने टिम राम्ररी परिचालन हुन सकेन ।

तपाईंले बडो सगर्व सुनाउनुभयो, एउटा प्रदेशमा हाम्रो उपस्थिति थिएन, स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)लाई पार्टीमा प्रवेश गराएर त्यहाँ पनि पुग्यौं भनेर । तपाईं राजनीतिमा संस्कार, संस्कृति र अनुशासनको कुरा गर्ने गर्नुहुन्छ । त्यो अलिकति त्यससँग बाझिने कुरा भयो जस्तो लागेको छ कि छैन ?

कस्तो बाझिने ? के चीज ? बताउनुहोस् त । उहाँले गरेका काम सुन्दा मलाई खुसी लागेको छ । मान्छेलाई पुरानो आँखाले मात्रै हेर्नुहुँदैन । को कति बदलिएको छ ? को कति रुपान्तरित भएको छ भन्ने आधारमा हेर्नुपर्छ ।  होइन भने धेरैका बारेमा प्रश्न खडा हुनसक्छ ।

त्यसैले मनाङेबारे उठेका प्रश्नहरुलाई समेत निरुत्तर बनाउने गरी यो निर्णय गर्नुभयो ?

अवश्य । मन्त्री भएर उहाँले खेलेको भूमिका र गरेको कामबारे मान्छेहरुले उच्च प्रशंसा गरेका छन् ।

तपाईं निष्ठा र अनुशासनलाई एकदमै जोड दिने र आफू पनि परिपालन गर्ने नेताका रुपमा चिनिनुहुन्छ । अहिले बढ्ता व्यावहारिक ढंगले हेर्न थाल्नुभएको हो ? संसदीय राजनीतिमा अंक भन्ने कुरा महत्वपूर्ण हुन्छ, त्यसका लागि आवश्यक जे जे गर्न सकिन्छ, गर्नुपर्छ भन्ने ठाउँमा पुग्नुभएको हो ?

कुनै पनि कुरामा अति (एउटा छोरबाट अर्को छोरमा पुग्ने) चाहिं गर्नुहुँदैन । शक्ति सन्तुलनको सिद्धान्तलाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ । तर शक्ति सन्तुलनलाई ध्यानमा राख्ने नाममा राजनीतिको ‘क्वालिटी’लाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ । राजनीतिको क्वालिटी प्रदूषित नहोस् भन्नेमा विचार पुर्‍याउनुपर्छ र मान्छेलाई ‘प्युरिफिकेसन’ गर्दै जानुपर्छ ।

फेरि पनि एकीकृत समाजवादी राष्ट्रिय पार्टी बनेन । तपाईंहरुले पत्तासाफ हुन्छ बनाउँछौं भनेको एमाले चाहिं कांग्रेस हाराहारीकै शक्ति बन्यो नि ?

मलाई ठूलो षड्यन्त्र भयो कि भन्ने लागिरहेको छ ।

कसरी ?

केपी ओलीको बोली र निर्वाचन आयोगको व्यवहार । मैले त एक ठाउँमा कुरा पनि उठाएँ कि समानुपातिकको मत पुनः गणना गर्ने हो भने हाम्रो पार्टीको थ्रेसहोल्ड कट्छ जस्तो लाग्छ । केही साथीले छोड्दिनुहोस् भइगो भन्नुभयो । तर मलाई अहिले पनि दुइटै बीचको साँठगाँठले यो भइरहेको छ कि भन्ने लागिरहेको छ ।

किनकि मलाई निर्वाचन आयोगले एउटा स्पष्टीकरण सोधेको थियो विना ढेउवाको कुरामा । अहिले रौतहटमा एउटा गीत पनि फैलिरहेको छ, ‘जितलै चुनाव विना ढेउवाके’ । फ्रि भनेको विना ढेउवा । ठ्याक्कै मेरो भनाइ राखिएको छ त्यो गीतमा । हामीले पैसाले किनेर भोट लिएका होइनौं । मेरो त्यो नेचर पनि छैन ।

मैले ‘हेर तिमीहरु ठगिन सक्छौं, ठगहरुको चक्करमा नफस’ भनेको जनतालाई सचेत गराउन खोजेको थिएँ । त्यसले केपी ओलीको टाउको किन दुख्यो ? कतै उनले त्यो ठूलो नेटवर्कको अगुवाइ त गरिरहेका छैनन् ।

त्यस्ता स्पष्टीकरण त एमालेका नेताहरुलाई पनि सोधिएको थियो । यसलाई नियमित प्रक्रिया मान्दा पनि भो नि त 

मेरै क्षेत्रको कुरा गर्ने हो भने एक ठाउँमा तीन बजेदेखि मतदान रोकिदियो । मतदातालाई भगाइदियो ।

रौतहटको तपाईंको क्षेत्रमा ?

मेरो क्षेत्रमा मतदातालाई परै बार लगाइदियो । म आफैं हेर्न गएँ । मैले प्रश्न गरें । अनि भन्छ, होइन होइन हामीले केही पनि गरेका होइनौं । भित्र गएको त बुथमा एउटा मान्छे बसेको थियो मुखमा मास्क लगाएको । मास्क लगाएको मान्छे केपी ओलीको पार्टीसँग जोडिएको रहेछ । उसैले समस्या खडा गरेको रहेछ ।

अर्को ठाउँमा दुई घण्टासम्म बुथमा एकलौटी भोटिङ भयो । तै पनि मैले किन चिन्ता गरिनँ भने ३५ हजारको मतान्तर थियो । लफडा किन गर्ने भनेर मैले वास्ता गरिनँ । यदि ५०० वा हजार मतको मात्रै फरक भएको भए त समस्या हुने रहेछ नि !

तपाईंको पार्टीलाई राष्ट्रिय पार्टी हुन नदिन एमाले लाग्यो ?

लाग्यो ।

त्यसमा निर्वाचन आयोगको साथ रह्यो भन्ने तपाईंको बुझाइ ?

हो कि भन्ने आशंका छ ।

तपाईंहरु सरकारमा हुनुहुन्छ, छानबिन गरेर पत्ता लगाए भयो । चुनाव हारेपछि धाँधली भयो, अन्तर्घात भयो भने जस्तै अलि हल्का टिप्पणी भएन यो ?

मैले जितेकै छु त मैले के चिन्ता गर्नु ? सन्दर्भमा मात्रै उठाएको हुँ ।

पावर सेयरिङ चाहिं कसरी गर्दै हुनुहुन्छ ? तीन शीर्ष नेताले आलोपालो प्रधानमन्त्री हुने, राष्ट्रपति कसले लिने नलिने भन्ने विश्लेषण हुन थालेको छ नि ?

विषयवस्तु त्यही नै भएको हुनाले मानिसहरुले अड्कल गर्नु स्वाभाविक हो । तर वास्तविकता के हो भने नेपाली कांग्रेसभित्र दलको नेता को हुने भन्ने टुंगो लागेको छैन । त्यो नभएसम्म विषयवस्तु अगाडि बढ्न गाह्रो भइसकेको छ ।

त्यसैले कांग्रेस दलको नेता टुंगो लागोस्, त्यसपछि विषय प्रवेश गरौंला भन्ने सहमति गरेका छौं ।

यसो गर्दा एकीकृत समाजवादीको प्राथमिकता के हुन्छ ?

राष्ट्रिय राजनीतिमा हामीले खेलिरहेको भूमिका, त्यसलाई सबैले स्वीकार गरेको स्थिति र राजनीतिको कोर्सलाई प्रभावित पार्न सक्ने क्षमता सबैलाई हेरेर हामी यही गठबन्धनलाई कायम राख्नुपर्छ भन्नेमा पुगेका छौं ।

गठबन्धन कायम राख्दा आकांक्षा क–कसको छ ? कांग्रेसको भागमा पर्छ कि अरुको भागमा पर्छ ? कांग्रेसको भागमा पर्दा को हुनसक्छ ? अरुको भागमा पर्दा को हुनसक्छ भन्ने छलफल हुन्छ । किनभने कुनै पनि पार्टीको बहुमत नभएकाले अरुले पनि बोल्ने भन्ने स्थिति हुनुसक्छ । हामीले समर्थन मात्र गर्ने कि हामीले पनि मौका पाउनुपर्छ भन्ने उठ्न सक्छ, उठ्न थालेको पनि छ ।

पहिलो ठूलो दल भएकाले कांग्रेसको स्वाभाविक दाबी देखिन्छ । तर कांग्रेस संसदीय दलको नेता को भन्ने प्रष्ट भइसकेको छैन । शेरबहादुर देउवाको विकल्पमा अरु कोही आए गठबन्धनले स्वीकार गर्छ ?

यो सबै छलफलको विषय हो । किनभने नेपाली कांग्रेसभित्र गठबन्धनको आवश्यकता छ, आवश्यक छैन, गठबन्धनसँग जानुहुँदैन जस्ता अनेक खालका विचारहरु रहे । गठबन्धन नै आवश्यक छैन भन्ने ठानेको सन्दर्भमा उहाँहरु नै मिलेर जाने हो कि होइन ? कांग्रेसले नै कोर्स चेन्ज गर्ने हो कि ? त्यो थाहा भएन ।

शेरबहादुरजीको कुरा हो भने उहाँ गठबन्धनको पक्षमा हुनुहुन्छ, गठबन्धनसँगै जानुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ।

शेरबहादुरभन्दा बाहेक अरु संसदीय दलको नेता भए यो गठबन्धन नरहन पनि सक्छ भन्ने संशय हो ?

त्यो तहमा त मैले सोचेको छैन, तर प्रश्न उठाउने ठाउँ छ ।

कसरी ?

चुनावमा जसरी भोट खस्यो, त्यहाँ शेरबहादुरजीको पक्षका मान्छेहरुले इमानदारिताका साथ भोट खसालेका छन् । शेरबहादुरका विपक्षी मान्छेहरुले गठबन्धनको विपक्षमा भोट खसालेका छन् । कतिपय ठाउँमा हाम्रा उम्मेदवारहरुलाई हराउन भूमिका खेल्नुभएको छ ।

हो वा होइन भन्ने भोलि बहस-छानबिनको विषय बन्ला । कसैले हो भन्ला, कसैले होइन भन्ला । छानबिन गरेर पनि यसको टुंगो लगाउनुपर्ने स्थिति बन्नसक्छ ।

डा. शेखर कोइराला, गगन थापाहरुले स्थानीय चुनावताका नै कांग्रेस कार्यकर्ताले कसरी अरु चिन्हमा भोट हाल भन्ने भनेर भन्नुभएको थियो । तपाईंले त्यतातिर संकेत गर्नुभएको हो ?

त्यो शब्द मैले सुन्न पाएको छैन । मेरो सामुन्नेमा पनि भन्नुभएको छैन, त्यसैले केही भनिनहालौं । तर जे प्रमाणित भएको छ, त्यो गठबन्धनमा सामेल भए पनि नेपाली कांग्रेसको एउटा पक्षले मत खसालेन, हराउने भूमिका खेल्यो ।

राष्ट्रपतिमा चाहिं चुनाव अगाडि झलनाथ खनाल हुन सक्नुहुन्छ भन्ने थियो । उहाँ चुनावमा पराजित भएको अवस्थामा पार्टीबाट अरुलाई नै पठाउनुपर्ने हो कि आफैं जानुपर्ने भयो ?

कुराहरु नउठेका होइनन्, उठिरहेका छन् । तर म अहिले राष्ट्रपतिमा जानु उपयुक्त हुन्छ ? यो प्रश्न म तपाईंलाई सोध्छु ।

हामीले त तपाईंलाई नै सोधेको हो यो प्रश्न 

(हाँस्दै) अहिले मैले राष्ट्रपतिको पदमा जानु उचित होला र ? पहिले मैले भन्थें– उमेर पुगेन । जतिबेला रामवरण यादवको समय थियो, त्यो बेला पनि मलाई राष्ट्रपतिमा प्रस्तावित गर्न खोजियो । विद्या भण्डारीको समयमा पनि मलाई पठाउन दबाब सिर्जना गरियो । अहिले पनि परिस्थितिलाई हेर्नुपर्ने हुन्छ ।

ज्यानका हिसाबले भन्ने हो भने गतिशील नहुँदा सोच्नुपर्ने स्थिति पनि बन्छ । राजनीतिक सक्रियताको भूमिका खेल्न नसक्दा पनि सोच्नुपर्ने स्थिति बन्छ । अझै पनि केही वर्षसम्म यो ज्यानले धान्न सक्ने  र जनताले चुनेर पनि पठाएको हुनाले मलाई लाग्छ कि सक्रिय राजनीतिमा नै लाग्नुपर्छ ।

चुनाव भन्दा अघि ‘नो नट अगेन’ भनेर अभियान चले पनि मतदाताले चुनेको हो भन्ने निष्कर्ष हो तपाईंको ?

अवश्य पनि ।

तर आम जनताले नेताहरु एउटा बिन्दुपछि आफ्नै शरीरका विरुद्धमा पनि नगए हुने भन्ने ढंगको जनमत पनि प्रकट गरेको देखिन्छ नि कहिलेकाहीं ?

कस्तो कस्तो ?

बुढो हुँदै गएपछि त आराम गरे पनि हुने नि ? नेताहरुको चाहिं ‘रिटायर्डमेन्ट’ हुन्न भन्ने खालको टिप्पणी गर्छन् कतिपयले 

ठीक हो, ज्यानले दिंदैन भने गर्नुहुँदैन । ज्यानले दिन्छ भने महाथिर (महाथिर मोहम्मद)ले ९० वर्षमा पनि भूमिका खेलिरहेकै छन् । ट्रम्पले फेरि पनि म राष्ट्रपतिमा उठ्छु भन्दै छन् ।

यसको अर्थ यही गठबन्धन कायम रहँदा कुनै समय प्रधानमन्त्रीमा तपाईंको पनि दाबी रहन्छ भन्ने हो ?

दाबी गर्ने मेरो नेचरसँग मेल खाँदैन । २०६२ सालको कात्तिक महिनामा बसेको गठबन्धनको बैठकमा मेरो नाममा सर्वसम्मति भएको थियो । त्यो बेला संयुक्त आन्दोलन गरिरहेका पाँच दलबाट मेरो नाममा सहमति थियो । जब प्रधानमन्त्री तोक्ने बेला आयो । म अघि सरेर गिरिजाबाबुलाई प्रधानमन्त्री बनाउने भनें । आफूले पाएको पद छोड्न माधव नेपाल तयार भएको भनी गिरिजाबाबु धेरै भावुक हुनुभयो ।

पछि उहाँमा गुन मैले तिर्नुपर्छ भन्ने भावना आयो । जब, प्रचण्डजी पहिलोपटक प्रधानमन्त्री बनेर राजीनामा दिनुभयो । गिरिजाबाबुले कांग्रेस पार्टीको नेतालाई होइन, अर्को पार्टीको नेता मलाई आफ्नो घरमा बोलाएर भन्नुभयो, ‘माधव बाबु, तपाईं हुनुपर्छ प्रधानमन्त्री ।’ जुन संस्कृति र संस्कार उहाँले देखाउनुभयो, त्यसका लागि अहिले पनि धन्यवाद दिन्छु । त्यस्तो संस्कार कमैमा हुन्छ ।

शेरबहादुर देउवा पनि पछिल्लो पटक तपाईंहरुकै बलमा प्रधानमन्त्री बन्नुभएको हो । देउवाले पनि गिरिजाप्रसादले जस्तै गुन तिर्नुहुन्छ कि भन्ने अपेक्षा हो ?

(लामो हाँसो) आउँदा दिन कस्ता हुन्छन्, हेर्दै जाऔं ।

त्यसमाथि तपाईंहरुले आलोपालो गर्ने अभ्यास थाल्नुभएको छ, तपाईंको पनि पालो आउला नि त ?

जब कुनै पनि पार्टीको बहुमत छैन भने स्वाभाविक रुपमा कहीं न कहीं कम्प्रोमाइज गर्नुपर्नेरहेछ । यत्तिकै कसैले अर्कोलाई प्रधानमन्त्री बनाउँदैन । कि तपाईंको योग्यता क्षमता, राष्ट्रले नै मानेको प्रतिभालाई अगाडि सार्नुपर्ने हुन्छ । त्यो स्थिति हामीकहाँ छैन । हामीकहाँ भएको कुन दलले कति सिट ल्यायो र कुन कुन दलको गठबन्धन बन्न गइरहेको छ भन्ने हो । र, को को प्रभावकारी छन् भन्ने हो ।

चुनावसँगै वाम दलहरु एक हुनुपर्छ भन्ने मतहरु पनि आइरहेका छन् । एमालेसँग मिल्ने सम्भावना कति छ ? को–कोसँग मिल्दै हुनुहुन्छ, को–कोसँग बाहेक गर्दैै हुनुहुन्छ ?

नेकपा एमालेसँग मिल्नुपर्छ भन्ने मैले मान्छे पाएको छैन । मलाई कसैले भन्न आएको छैन । जुन पार्टीले हाम्रो निम्ति ढोका बन्द गरिदिएको छ, त्यो पार्टीसँग मिल्नुपर्छ भन्नु नै बेकार हो । त्यसैले आज, अहिलेको अवधिसम्म नेकपा एमालेसँग एकताको कुनै सम्भावना देखिंदैन । रुपान्तरित हुनुपर्‍यो नेकपा एमाले । रुपान्तरित हुनुपर्‍यो नेकपा एमालेका नेताहरु । विगतका गल्ती कमजोरीलाई सुधार्नुपर्‍यो, सुधार गरिसकेपछि राजनीतिमा कोही स्थायी मित्र र शत्रु हुँदैन ।

उहाँहरुले आत्मालोचना गर्नुभयो भने तपाईंहरुको तर्फबाट ढोका खुल्ला छ ?

किन नहुनु ? राजनीतिमा कोही स्थायी मित्र, कोही स्थायी शत्रु त हुँदैन ।

केपी शर्मा ओलीले चुनावमा जितेकोमा बधाई दिन देउवा, प्रचण्ड लगायतका नेताहरुलाई बधाई दिन फोन गर्नुभएको थाहा पाइयो । तपाईंलाई फोन आयो उहाँको ?

त्यो ठूलो कुरा होइन ।

फोन आयो कि आएन ?

त्यो ठूलो कुरा होइन । आएन भन्ने गुनासो पनि छैन ।

ए, उसो भए फोन आएनछ ?

केही भन्नुपर्ने कुरै छैन ।

मौन बस्नुभयो नि, किन ?

म अहिले किन बोल्ने ? म आउने आशामा पो बसेको छु कि भन्ने प्रश्न पनि तपाईंले गर्नुहोला ।

केपी ओलीले चुनाव जितेका अरु नेताहरुलाई बधाई दिनुभयो, त्यस्तै बधाई तपाईंलाई पनि दिनुभयो भनेर मात्र सोधेको 

मैले आशा पनि गरेको छैन, अपेक्षा पनि गरेको छैन ।

ल बुझियो फोन आएको छैन ।

(लामो हाँसो)

साधारण शिष्टाचार आदानप्रदान पनि तपाईंहरुको बीचमा छैन ?

टु बि फ्रङ्रयाक भन्नुपर्दा, छैन ।

प्रचण्डसँग त घनिष्ठता पनि छ, एकीकृत समाजवादी र माओवादीको चाहिं पार्टी एकता हुन्छ ?

नेपालका वाम शक्तिहरु एकतावद्ध बनाउनुपर्छ भन्ने पक्षमा छु । जति थोरै पार्टी भयो, त्यति धेरै राम्रो हुने भएकाले वाम पार्टीहरुलाई समेटेर एउटै ठाउँमा गोलबन्द गर्न सक्यौं भने राम्रो हुन्छ । जो–जो पार्टीहरुबीच विचार मिल्छ, धारणा मिल्छन्, कार्यशैली मिल्छ उनीहरु मिलेर अघि बढ्नुपर्छ भन्ने पक्षमा म छु । त्यसका निम्ति कुन–कुन पार्टीलाई गोलबन्द गर्न सक्छौं वा मोर्चामा आवद्ध गर्न सक्छौं, त्यसका निम्ति सबै सम्भावना खोजी गर्नुपर्छ ।

अहिले त तपाईंहरु र माओवादी मिलेकै देखिन्छ, होइन ?

माओवादी र हाम्रो बीचमा मतभेदहरु पनि छन् । जस्तो, माओवादीले माओवादी नाम राखेको छ, सिद्धान्त नै माओवादी भनेको छ । पार्टीको निर्वाचन चिह्न हँसिया हतौडा छ । यो तीनवटैमा हामी सहमत छैनौं । तर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा माओवादीले यी जम्मै कुरा छोडेको थियो । त्यो ठाउँमा पुग्न तयार छ कि छैन ? यो हेर्छौं । हतार गर्नुपर्ने केही छैन ।

राष्ट्रिय पार्टी नभएपछि एकीकृत समाजवादीलाई जोगाइराख्न पनि त चुनौती होला नि ?

केही गाह्रो पर्दैन । किनकि राष्ट्रिय पार्टीको नामले पनि फरक पार्ने होइन । कतिवटा कोठा दिने भन्ने कुरा होला संसदमा । बस्ने ठाउँ कता दिने भन्ने होला ।

तपाईंहरु अलमलमा बसिरहँदा प्रचण्ड एमालेमा गइदिनुभयो भने ?

यो उहाँको कुरा हो । हामी आफ्नो निर्णय आफैं गर्छौं । कोही हिंड्यो भनेर पछिपछि लाग्ने काम गर्दैनौं ।

तर तपाईंहरुकै पार्टीमा पनि वामपन्थी फेरि एक ठाउँमा आउनुपर्छ, वाम सरकार बनाउनुपर्छ भन्ने मत राखेको देखिन्छ । त्यसमा तपाईं सहमत हुनुहुन्न ?

जुन गाउँ जानु नै छैन, त्यसको बाटो नै नसोधौं । जब ढोका नै बन्द छ भने ढक्ढकाउन किन जाने ?

कतिपय एमालेकै नेताहरु त एकीकृत समाजवादीले जुन मत पायो, त्यो निःशर्त एमालेमा फर्किनुस् भन्ने जनमत हो भनेका छन् । तपाईंलाई चाहिं त्यस्तो लाग्दैन ?

मतादेशले पार्टी निर्माणको काममा खट भन्यो । कम्युनिस्ट पार्टी र नेपालको राजनीतिमा रहेका विकृति र विसंगति पत्ता लगाएर सफा गर्ने काम गर भनी मतादेश प्राप्त भएको छ ।

राजनीतिका फोहोर हटाएनौं भने तिमीहरुको पनि कुनै औचित्य रहँदैन मत मार्फत जनताले भनेका छन् । त्यही भएर मैले कम्युनिस्ट पार्टीको पुनर्गठनको कुरा गरिरहेको छु । रुपान्तरण र पुनर्निर्माणको कुरा गरिरहेको छु । रुपान्तरण गर्दा चुनौतीहरुको एकसेएक देख्न सक्नुपर्‍यो । त्यसका लागि आवश्यक तयारी पनि गर्न सक्नुपर्‍यो । त्यो गर्ने शक्ति एकीकृत समाजवादीमा छ । गर्छ, सक्छ । अरुले गर्छन् गर्दैनन् जनताले मूल्यांकन गर्छन् ।

हरेक व्यक्तिको एउटा नियति हुन्छ । एमालेलाई हुर्काएर विशाल कम्युनिस्ट पार्टी बनाउनुभयो, नेतृत्व गर्नुभयो । मन्त्री, प्रधानमन्त्री भन्नुभयो, राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्नुभयो । आज परिस्थितिले सानो पार्टीको अध्यक्षमा राखिदिएको छ । तपाईंले आफ्नो जीवनको यो उतारचढावलाई कसरी हेर्नुहुन्छ ?

यो पहाडको उकालो जस्तो हुँदो रहेछ । माथि उकालो हेर्ने हो भने मान्छे हरेस खाँदा रहेछन् । लङ मार्चका बेला हिंड्ने सिपाहीहरुलाई माओ भन्नुहुन्थ्यो– पहाडको उकालो चर्दा माथितिर हेर्ने काम नगर । कति लामो यात्रा पार गरेर आयौं भनेर तलको ओरालो हेर । यसले तिमीमा बाँकी दूरी पार गर्न सकिन्छ भन्ने आत्मविश्वास पैदा गर्छ । त्यसैले एकभारी समस्या होला, सबैलाई पन्छाउँदै आएर आजको बिन्दुमा पुगिसकेपछि भोलिका दिनका चुनौती पनि सामना गर्न सकिन्छ भन्ने आत्मविश्वास राखेर अगाडि बढ्नुपर्छ ।

अबको संसदको दृश्य कस्तो कल्पना गर्नुभएको छ ?

प्रतिपक्ष पनि रचनात्मक नै होलान् । उहाँहरुले पनि जनताको भावना संसदमा प्रस्फुटित गर्ने होला । जनभावना हामीले पनि राखौंला । सरकारमा रहेका व्यक्तिहरुले जनताका भावना सुन्नुपर्छ । गहन चिन्तन र मनन गर्नुपर्छ । सांसदहरुले उठाएको जायज र सही कुरा छ भने त्यसलाई आत्मसात गर्नुपर्छ । कमी–कमजोरीलाई सुधारेर अघि बढ्ने काम गर्नुपर्छ ।

बहुमत जुटाउन कठिन भएको बेला गठबन्धनको सामना गरेर आएको एमाले, अर्कातिर शक्ति अर्जन गरेको राप्रपा, अनि यही चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रतिपक्षमा राखेर सरकार चलाउन सजिलो देख्नुहुन्छ ?

यो स्थिति त आइहाल्यो, सामना त गर्नुपर्‍यो । कस्तो कस्तो परिस्थितिको सामना म आफैंले गरेको छु । कस्तो प्रतिपक्ष थियो म प्रधानमन्त्री हुँदा ? सरकारलाई मान्दिन भन्ने प्रतिपक्ष थियो । यो नोकर हो, मालिकसँग वार्ता गर्छु भन्ने प्रतिपक्ष थियो ।

तपाईँको सरकारलाई त कठपुतली सरकार पनि भनेको थियो नि ?

कठपुतली भन्थे । त्यो बेलाको प्रतिपक्षको मानसिकतालाई हेर्नुस् त । त्यो बेला काठमाडौं घेराउलाई सम्झिनुस् त । आठ लाख मान्छेको काठमाडौंको घेराबन्दीलाई सम्झिनुस् न । त्यसको सामना त मैले नै गरेको हुँ ।

त्यो बेला तपाईंलाई त्यसबेला साथ दिने केपी ओली, विद्यादेवी भण्डारी कहाँ कहाँ पुगे । तपाईंलाई घेराबन्दी गर्ने चाहिं सहयात्री छन् । राजनीति विचित्रको छ है ?

यस्तै हो राजनीति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?